बागलुङ ।बागलुङको धौलागिरि अस्पताल सघन उपचार कक्षकाे सेवा बन्द भएको छ । आइसियु सेवा सञ्चालनको लागि आवश्यक डाक्टरको अभाव हुँदा सेवा बन्द भएको हो ।
आइसियु सेवा आवश्यक पर्ने कोरोनाका बिरामी मर्कामा परेका छन् । जटिल प्रकारका बिरामीलाई सिधै पोखरा पठाउनु पर्ने बाध्यता सृजना भएको धौलागिरि अस्पतालका प्रमुख डाक्टर शैलेन्द्र विक पोखरेलले जानकारी दिनुभयो । धौलागिरि अस्पताल बागलुङको जटिल कोरोनाका सङक्रमितलाई उपचार गर्ने एक मात्र अस्पताल हो । अस्पतालमा अहिले कुल छ जना मेडिकल अधिकृत कार्यरत छन् । हाल मौजुदा मेडिकल डाक्टर मध्ये पाँच जना इमरजेन्सी, मेडिकल विभाग र डायलासिस कक्ष र दुई जना प्रसूति गृहमा जिम्मेवारी प्रदान गरिएको छ ।
आइसियु कक्षमा कार्यरत ६ जना डाक्टरमध्ये तीन जना अध्ययन बिदा र तीन जना सरुवा भएपछि सेवा बन्द गर्नुपर्ने अवस्थामा पुगेको प्रमुख डाक्टर पोखरेलको भनाई छ । हाल कार्यरत सबै मेडिकल अधिकृत सबै करार सेवामा नियुक्ति भएका हुन । अबको एक महिनाभित्र सबै मेडिकल अधिकृतको करार अवधि समाप्त हुनेछ । अस्पतालको इमरजेन्सी, डायलासिस र प्रसूतिगृहमा कार्यरत डाक्टरलाई आइसियु कक्षका खटाउँदा थप समस्या हुने उहाँको भनाइ छ । करारमा रहेका डाक्टरको स्वास्थ्य सेवा विभागले नियुक्त गरेको हो । उनीहरुको करार अवधि थप नभए झनै समस्या हुने अस्पताल विकास समितिका अध्यक्ष केवी राना मगरको भनाइ छ ।
प्रदेश सरकारले पठाएको तीन र करारमा रहेको तीन जना डाक्टर अहिले कार्यरत छन् । अस्पतालको सबै सेवा नियमित सञ्चालन गर्न पन्ध्र जना डाक्टरको आवश्यकता हुने प्रमुख डाक्टर पोखरेलकाे भनाइ छ । प्रदेश मन्त्रालय स्वास्थ्य सेवा विभाग र मन्त्रालयसम्म पत्राचार तथा भेटवार्ता गरे पनि माग पूरा नभएको उहाँले बताउनु भयाे । आइसियु कक्षको लागि तीन सिफ्टमा डाक्टर खटाउनु पर्ने हुँदा न्यूनतम ६ जना मेडिकल अधिकृत आवश्यक हुन्छ । अस्पताल व्यवस्थापन समिति र प्रशासन प्रमुख मन्त्रालय विभाग धाए पनि तत्काल माग पूरा नभएको अध्यक्ष रानाले बताउनु भयो ।
अहिले कोभिड सङ्क्रमित एक जनालाई इमरजेन्सीमा राखेर उपचार गरिएको छ । नर्मल आइसियु समेत सञ्चालनमा समस्या भएको छ । केही महिला अघि स्थापना भएको आईसियु पनि जनशक्ति अभाव हुँदा नियमित छैन । पोर्टेबल भेन्टिलेटर प्रयोग गरेर एनआइसियु कक्ष तयार गरिएको थियो । एनआइसियुको लागि आवश्यक सामग्री खरिद गर्न तीन करोड रुपियाँ माग गरे पनि ६० लाख रुपियाँ मात्र प्राप्त भएको डाक्टर पोखरेलको भनाइ छ ।
अस्पतालमा अहिले दश जना विशेषज्ञ डाक्टर कार्यरत छन् । मेडिकल सुपरिटेन्डेन्टबाहेक अन्य सबै डाक्टर करारमा नियुक्त भएका हुन् । प्रदेश तथा सङ्घीय मन्त्रालयले जनशक्ति र स्वास्थ्य सामग्री व्यवस्थापनमा सकारात्मक जवाफ दिए पनि व्यवस्थापन नहुँदा अस्पतालको सेवा प्रभावी भएको अध्यक्ष रानाले बताउनुभयो । कोरोनाको तेस्रो लहरको त्रास बढेको हुँदा तत्काल जनशक्ति व्यवस्थापन नभए उपचारमा समस्या हुने उहाँको भनाइ छ ।