ओखलढुंगा । नेकपा एमाले विभाजन र एकताको तानातानमा जिल्लाका कार्यकर्ता भने मौन छन् । स्थानीय तहका जनप्रतिनिधि पनि नेकपाकालीन गुटको गतिविधिमा विभाजित भए पनि पार्टी विभाजनसम्म पुग्दा मौन रहेका छन् ।
एमालेको स्थानीय कमिटी बैठकले एकता भएको घोषणा गर्दै पार्टीका कमिटी २ जेठ २०७५ अघि फर्केको बताए पनि जिल्लामा त्यसको प्रभाव परेको छैन । केपी ओली समूहले गाउँ तथा पालिका अधिवेशन घोषणा गरेर केन्द्रको निर्णय नमान्ने सन्देश दिएको छ । केन्द्रको भन्दा एक महिनाअघि नै ओली समूहले अधिवेशन घोषणा गरेको हो । उसले ३ असोजमा वडा तथा ९ असोजमा पालिका अधिवेशन तोकेर समानान्तर गतिविधि त्यागेर पार्टीमा फर्किन आग्रह गरेको छ ।
उता माधव समूहमा रहेको समानान्तर कमिटीले विस्तारित बैठक आयोजना गरेर एकता र आगामी रणनीति तय गर्न ५ सदस्यीय कमिटी निर्माण गरेको छ । जिल्लाका निर्वाचित सचिव र अध्यक्ष ओली समूहमा लागेका छन् भने उपाध्यक्ष र उपसचिवसहित बहुमत सदस्य तत्कालीन माधव समूहमा थिए । जनप्रतिनिधि पनि विभाजित थिए ।
एमालेको तेस्रो धारले ओली समूहसँग १० बुँदे सम्झौता गरेपछि जिल्लाका कमिटी पनि सोही अनुसार चल्नुपर्ने मान्यता ओली समूहको रहेकाे छ ।
सांसदको भूमिका अर्थपूर्ण
जिल्लामा ओली समूह एकलौटी अघि बढ्न खोजेपछि माधव समूहमा लागेका नेता कार्यकर्ता भने यस क्षेत्रका संघीय सांसद तथा केन्द्रीय सदस्य यज्ञराज सुनुवारको बाटो हेरेर बसेका छन् । उनी माधव समूहमा थिए । पछिल्लो पटक एकता अभियानमा सक्रिय रहेकाले कार्यकर्ता उत्साहित भए पनि ओली समूहको गतिविधिले उनीहरु मौन छन् । सो समूहका विद्यार्थी नेता निशान श्रेष्ठले भने, ‘जिल्लाको एउटा भाडाको कोठामा रहेको पार्टी पाँच वर्षमा टोलवस्तीमा पुर्याएर चुनाव जित्ने नेता ९यज्ञराज० हुन्, उनको भूमिकाबिना पार्टी अधुरो हुन्छ ।’
एमालेको राजनीतिमा सांसद सुनुवार मूल पात्र हुन् । उनी जता लाग्छन् त्यतै नेता कार्यकर्ता बढी हुन्छन् । उनी माधव समूहमा लागेर एकता अभियानमा खटिए । उनले विभाजन नरोज्ने निश्चित भएपछि एकथरि कार्यकर्ता उत्साहित छन् भने अर्काथरि ओली समूहको अराजनीतिकु गतिविधिबाट वाक्क बनेका छन् ।
सांसद सुनुवारले केन्द्रमा एकताका लागि निकै कसरत गरेपछि जिल्ला नफर्किँदा उनको समूहका नेता कार्यकर्ता र स्थानीय तहका जनप्रतिनिधि अहिले पनि अन्योलमा छन् । उनको समूहले पार्टी एकता र आगामी कार्यनीति बनाउन कार्यदल बनाएर परामर्श लिन थालेको छ । आधाआधी नेता कार्यकर्ता ओलीसँग जान नहुनेमा छन् ।
तेस्रो धारको अभियानबारे उनले भने, ‘जिल्ला सर्कुलर कसरी आउँछ हेरेर अघि बढ्नु पर्छ । हिजो ओलीका प्रतिगामी कमदको विरोध गरेको हो, एमालेको होइन ।’ एकताबद्ध र विधियुक्त एमाले बनाउने अभियानमा आफू लागेको उनको भनाइ छ ।
जिल्लामा काे कता लागे ?
सुनुवारले एकता अभियान चलाएपछि जिल्लामा विभाजनको असरभन्दा बढी यहाँ ओली समूहको गतिविधिले एकतामा असर पारेको छ । सो समूहका नेताहरुको गैर राजनीतिक चरित्र कार्यकर्ताहरुले रुचाएका छैनन् ।
यसअघिको माधव नेपाल समूहको कमिटी नयाँ पार्टीमा पनि गएको छैन र एकताको विधि केहो र कसरी अघि बढ्ने भनेर कार्यदलमार्फत निर्णय गर्ने तहमा छन् । यो समूहमा जिल्ला उपाध्यक्ष, उपसचिवसहित आधा जिल्ला कमिटी छ । मोलुङ गाउँपालिका अध्यक्ष, चिशंखुगढीका उपाध्यक्ष, लगायत वडाध्यक्ष सामेल छन् । ओली समूहमा प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री अम्बीर बाबु गुरुङ, सिद्धिचरण नगरपालिका र लिखु गाउँपालिकाका प्रमुख र उपप्रमुख लागेका छन् ।
जिल्ला अध्यक्ष र सचिव पनि ओली समूहमा खुलेका छन् । मन्त्री गुरुङ पार्टीको जिल्ला कमिटीका सचिवलाय सदस्य मात्रै भए पनि पार्टी कमिटी भन्दा माथि रहेर अन्य कार्यकर्तालाई गर्ने व्यवहारले थप अन्योलता ल्याएको हो । जिल्लाको एकीकरण केन्द्रको भन्दा जटिल भएकाले कार्यदल नै निर्माण गरेर अघि बढ्न खोजिएको माधव समूहका जिल्ला अध्यक्ष नेत्र भट्टराईले बताउनु भयाे । उहाँले एकता पहिलो प्राथमिकता भएको पनि बताउनु भयाे ।
केन्द्रको सर्कूलर र समायोजनले जिल्लामा प्रभाव पार्ने भट्टराइको भनाई छ । अहिले नै विभाजनमा लाग्ने भन्ने कार्यकर्ताको मनस्थिति नरहेकाे तर, जिल्लाको समायोजन र सर्कूलरका आधारमा प्रभाव पार्ने उहाँकाके भनाइ छ ।
जिल्लाको परिस्थितिले माधव समूह अहिले न विभाजन न एकमत, रनभूल्लमा देखिन्छ ।