तनहुँ । भानु नगरपालिका–१० स्थित कालिमाटी–कुन्छा मोटरमार्ग पहिरोले क्षतिविक्षत भएको छ । पहिरोले सडक अवरुद्ध भएको साढे २ महिना हुँदासम्म मर्मत नभएपछि स्थानीयले मर्मतका लागि नगरपालिकालाई ७ दिने अल्टिमेटम दिएका छन् । दुई वडाका स्थानीयवासी बिहीबार नगरपालिकामा ७ दिने अल्टिमेटम दिएका हुन् ।
गत असार १ गते र त्यसपछि असार १८ गते परेको अवरिल वर्षाका कारण सडक पूर्ण रुपमा अवरुद्ध भएर मोटरसाइकल, एम्बुलेन्स, जीप, बस, लगायतका कुनै पनि सवारी साधन चल्न सक्ने अवस्था नरहेको भन्दै भानु नगरपालिका वडा नम्बर १० र ११ का स्थानीय नगरपालिकामा डेलिगेशन गएका हुन् ।
कालिमाटी दुधेकुना हुँदै कुन्छा जोड्ने सडकको करिब साँढे २ महिना बितिसक्दा पनि स्थानीय तहले चासो नदिएकाले बिरामीलाई समेत स्ट्रेचरमा ल्याउनुपर्ने बाध्यता आएपछि नगरपालिकामा पुग्नुपरेको स्थानीय समाजसेवी विष्णु प्रसाद पोखे्रलको गुनासो छ ।
गुनासो लिएर आएका स्थानीयलाई सान्त्वना दिंदै तत्काल मर्मतका लागि ढुङ्गा, गिट्टी सहित ग्राभेलको आवश्यक पर्ने भएकाले सोको व्यवस्थापनका लागि छलफल गरिने नगर प्रमुख उदयराज गौलीले बताउनुभयो । उहाँले सोको व्यवस्थापनका लागि जिल्ला समन्वय समितिमा छलफल गरी समाधान गरिने जानकारी दिँदै मौसमले साथ दिएमा २र३ दिन भित्रै काम शुरु गरिने बताउनुभयो ।
नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भिमनीधि तिवारीले आँफू सहित प्राविधिकको टोली शुक्रबार नै उक्त सडकको निरीक्षणका लागि जाने र तत्काल नगरपालिकाले गर्नसक्ने बनाउने प्रयास गरिने बताउनुभयो । उहाँले पक्की सडक बनाउन नसकेपनि हालका लागि सहज हुने गरी एम्बुलेन्स चल्न सक्ने बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो । भानु नगरपालिका १० र ११ का करिब ६० जना स्थानीय बस रिजर्भ नै गरी छिमेकी जिल्ला लमजुङको सन्दरबजार हुँदै नगरपालिकाको कार्यालय भन्सार आएका थिए ।