सुनसरी । सुनसरीकाे वराहक्षेत्र-२ बयरवन सिंहदेवीमा स्थानीयले चन्दा उठाएर सडक निर्माणा गरेका छन् ।जनप्रतिनिधीलाइ पटकपटक गुनासाे गरे पनि वास्ता नगरेपछि गाउँलेले चन्दा उठाएर सडक निर्माण गरेका हुन् ।
स्थानीयले वडाध्यक्षलाई बाटो हिलाम्मे भएको गुनासो जति पटक गरेपनि बाटो मर्मत गर्ने बजेट नभएको भन्दै वडाध्यक्ष पन्छिएकाे स्थानीयकाे भनाइ छ । स्थानीय सञ्चारकर्मी हिमाल राईले आफ्नो घर अघिको बाटो हिंड्नै नसक्ने भएपछि ‘हिलो बाटो भएपछि अब धान रोप्न त बाँकी भयो नि, कि धान रोपिदिऊँ वडाध्यक्षज्यू ?’ भनेर व्याङ्ग्य पनि गर्नु भएकाे थियाे तर वडाध्यक्षले कुरो हाँसोमा उडाइदिएर ‘मेयरलाई भनौंला’ भन्ने ओठे जवाफ दिएर फर्कीनु भएकाे राईले सामाजिक सञ्जालमा उल्लेख गर्नु भएकाे छ ।
बजेट अभाव भएको बहाना बनाउँदै जनप्रतिनिधिले लत्तो छाडेको र बारम्बार सडक मर्मत गर्न अनुरोध गर्दा पनि ‘ठाडो कान नलगाएको स्थानीय सुशील अर्यालले आरोप लगाउनु भयाे । विकासको गीत गाउन नछाड्ने जनप्रतिनिधिले फिल्डमा आएर काम गर्नुपर्ने स्थानीय कुमार कार्कीकाे भनाइ छ । उहाँले भन्नु भयाे अब भोट पाउने आशा मरेछ कि के हो, अटेरी भइरहेका छन् जनप्रतिनिधि, जनताको चासै छैन, के देखाउने हो, यिनीहरुले ?’
सञ्चारकर्मी राईसँगै स्थानीय सुशील अर्याल, कुमार कार्की, भीम बिक, भगवती खड्का, इन्द्रदेव पण्डितलगायतले आफैं जिम्मेवारी लिँदै सडक मर्मत सम्भार गर्नु भएकाे छ । उहाँहरुको सामूहिक पहलमा सडकमा गिट्टी बिछ्याउने काम भएको छ । स्थानीय सुनिल मगरले पछि तिर्ने गरी ३० हजारको गिट्टी सडकमा खसाइदिनु भएकाे अगुवा भीम विकले बताउनु भयाे । जम्मा ३६ हजार तिर्ने हिसाब भएको र सबै मिलेर गाउँलेसँग उठाएर तिर्ने भनिएकाे उहाँकाे भनाइ छ । गिट्टी ६ हजार रुपैयाँ प्रतिटिप्पर ल्याएको स्थानीय भगवती खड्काले बताउनु भयाे । नेताले कानमा तेल हालेपछि घर अगाडिको बाटो हो आफैं बनाउनु पर्यो भनेर लागि परेकाे खड्काकाे भनाइ छ । स्थानीइ सरकारकाे बाटाे हेरेर बस्दा अर्को बर्खामा पनि बाटो बन्ला नबन्ला अन्याेल भएका कारण सबै मिलेर काम गरिएकाे उहाँकाे भनाइ छ ।
सुनसरीको वराहक्षेत्र नगरपालिका धार्मिक पर्यटकीय स्थल हो । पर्यटकीय क्षेत्रसम्म पुग्ने सहायक सडक, ग्राभेल सडकहरू वर्षाका कारण जीर्ण भएका छन् । बजेट अभावका भएको बहानामा नगरपालिकाले सडकको स्तरोन्नति गरेको छैन ।