ओखलढुंगा । माथिल्लो सगरमाथाका तीन जिल्लाबाट काठमाण्डौंका लागि छुटेका यातयातका साधनहरु बाटोमा अलपत्र भएका छन् । ओखलढुंगामा सिद्धिचरण राजमार्गमा तथा सिन्धुलीमा रहेको मध्यपहाडी राजमार्ग र विपि राजमार्गका विभिन्न स्थानमा पहिरो जाँदा सोलुखुम्बु, ओखलढुंगा, खोटाङ तथा उदयपुरको माथिल्लो भेगबाट काठामाण्डौंका लागि छुटेका यातयातका साधनहरु बिचबाटोमा अलपत्र परेका हुन् ।
ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिकाको भडारे खोलामा आएको गेग्रनका कारण सिद्धिचरण राजमार्गमा केहीवेर यातयात अवरुद्ध भएको भए पनि अहिले सुचारु भएको छ । ओखलढुंगाको भुगोलमा यातयात सुचारु गरिएको भए पनि सिन्धुलीको भुगोलका विभिन्न स्थानमा गएको पहिरोका कारण सोलुखुम्बु, खोटाङ र ओखलढुंगाका विभिन्न स्थानबाट काठमाण्डौंका लागि छुटेका सवारी साधनहरु बिचबाटोमा रोकीएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी प्रमुख गोविन्दराज काफ्लले जानकारी दिनु भयो ।
मध्य पहाडी लोकमार्गको सिन्धुलीको गोलन्जोर गाँउपालिका अन्तर्गत हैबार, कालिआँप, खुकुरेटार, कुँडुले र सुम्नामबेसीमा माथिबाट पहिरो आई सडकमा थुप्रिएर सबारी साधान आवागमन रोकिएको छ । मध्यपहाडी लोकमार्गमा खसेको पहिरो बर्षा भईरहेका कारण पन्छाउन नसकिएको ईलाका प्रहरी कार्यालय खुर्कोटका प्रहरी निरिक्षक बुद्धिमणी नेपालले जानकारी दिनुभयो । मध्यपहाडी राजमार्गमा पाँच ठाँउभन्दा बढी पहिरो गएको र बर्षा नरोकिई स्काभेटरले काम गर्ने अवस्था पनि नरहेको नेपालको भनाइ छ । हाल सम्म सोलुखुम्बु, ओखलढुंगा, र खोटाङबाट छुटेका सवारी साधनमात्र ओखलढुंगाबाट बाहिरीएको र जिल्ला भित्र एउटापनि सवारी साधन नभित्रीएको अस्थायी ट्रफिक प्रहरी पोष्ट हर्कपुर ओखलढुंगाले जनाएकाे छ ।
मध्य पहाडी लोकमार्गको ६१ किलोमिटर लामो खुर्कोट–घुर्मी खण्ड र विपि राजमार्गमा पहिरोका कारण सडक अबरुद्ध हुँदा खोटाङ, ओखलढुंगा, सोलुखुम्बु तथा उदयपुर र तराईका जिल्लाबाट राजधानी काठमाडौं हिडेका सबारी साधन र राजधानीबाट ती जिल्लामा लागि छुटेका सबारी साधन बीच बाटोमा नै रोकिएर सवारी साधन र यात्रु अलपत्र परेका ओखलढुंगाबाट काठमाण्डौं हिडेका यात्रुहरुले बताएका छन् ।