म्याग्दी । बेनी नगरपालिका–९ र ५ को सिमानामा पर्ने तत्कालीन पर्वत राज्यको राजधानी ढोलठानामा सोह्रौँ शताब्दीका ऐतिहासिक सामग्री फेला परेका छन् । ढोलठानामा पार्क (उद्यान) निर्माणका लागि जग्गा व्यवस्थापन गर्ने क्रममा जमिनभित्र मल्लकालिन सामग्रीहरु भेटिएका हुन् ।
ढोलठाना समेटिएको निलबराह सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सागर बानियाले पार्क निर्माणका क्रममा भेटिएका प्राचीन सामग्री सुरक्षित रुपमा राखिएको बताउनुभयो ।
तत्कालीन दरबार निर्माणमा प्रयोग भएका काठ, चट्नी र नुन पिस्ने सिलौटो, झिङगटी, घरका पिल्लर, इटाहरु भेटिएका उहाँले जानकारी दिनुभयो । “जमिनको सतहभित्र तत्कालीन मल्ल राजाका पालाका पुरातात्विक महत्वका सामग्री छन्”, उहाँले भन्नुभयो, “भेटिएका सामग्रीलाई सुरक्षित रुपमा राखेका छौ । त्यसको सुरक्षा र संरक्षणका लागि वडा, नगरपालिकालाई अनुरोध गरेका छौ ।”
राजबम मल्लको समयमा विसं १६३१ देखि राजाहरु हिउँदका चार महिना बेनी र अरू आठ महिना ढोलठानामा बसेर तत्कालीन पर्वत राज्य सञ्चालन गरेको इतिहास छ । पर्वत राज्य नेपालमा विलय भएको विसं १८४३ सम्म ढोलठानामा सो राज्यको राजधानीका रुपमा रहेको थियो । नेपाल एकिकरणपछि दरबार भत्किएकाले त्यहाँभित्र रहेका सामग्रीहरु भग्नावशेषमा परिणत भएका हुन् ।
डिभिजन वन कार्यालय म्याग्दीको सहयोगमा ढोलठानामा सार्वजनिक शौचालय, पदमार्ग र बगैँचा निर्माण गरेर पार्क बनाइएको छ । पार्क बनाउन वन डिभिजन कार्यालयले गत आवमा पाँच लाख बजेट विनियोजन गरेको जनाइएकाे छ ।