रामभरोषी यादव
सिरहा । अविरल वर्षासँगै आएको बाढीले सिरहाका विभिन्न ठाउँमा घरहरु डुवानमा परेका छन् । अत्यधिक वर्षाले पोखरीको बाँध भत्केर गाउँमा पस्दा गोलबजार नगरपालिका १२ बेतौनाका एक दर्जन बढी घरहरु डुबानमा परेको छन् ।
घर डुबानमा परेपछि स्थानीयहरु नजिकैको छिमेकीहरुको घरमा शरण लिएर बसिरहेको स्थानीय मिन्थुन मण्डलले बताए । उनका अनुसार घरभित्रै पानी पसेकाले माटाका घरहरु भत्केको जानकारी दिए ।
डुवानका कारण अन्न पात राखिएको कोठी (माटोको भखारी) भत्केर सबै अन्न पातहरु काम नलाग्ने भएको स्थानीय इन्द्रदेवी मण्डलले जानकारी दिए । उनले भने, ‘घरमा भएको सबै अन्नपात भिजेपछि बिहान छिमेकीले खाना खुवाए, अब पकाउने ठाउँ पनि छैन, भएको अन्नपात पनि भिजेकोले छाक टार्न मुस्किल छ ।’
स्थानीय तहले पोखरीको बाँध बाध्न रकम छुट्याएको भएपनि बाँध राम्रोसँग नबाँधेका कारण बाँध फूटेर गाउँमा पानी पसेको स्थानीयको आरोप रहेको छ ।
त्यस्तै, गोलबजार नगरपालिका ९ मा २ वटा घर र सिरहाकै धनगढीमाई नगरपालिका ६ मा एउटा घर भत्किएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीप कँणेलले जानकारी दिएका छन्।
वर्षाको पानी बजार पसेपछि मिर्चैयाका दर्जनौ पसलहरु जलमग्न भएको छ । पूर्वपश्चिम राजमार्गदेखि उत्तरको पानीको उचित निकास नहुँदा बजार पस्ने भएकाले पसलहरु जलमग्न भएको स्थानीय रामनारायण ठाकुरले जानकारी दिए । उनका अनुसार वर्षाको पानीले व्यवसायीहरुको करोडौंको क्षति भएको बताए ।
त्यस्तै, कर्जन्हा नगरपालिकाको बन्दीपुरस्थित बाबातालमा बढेकाे पानीले बाँध कटान गर्न थालेको छ । बाबातालको पानी उक्लिएर नजिकैको गाउँ पस्दा घरहरु समेत डुबानमा परेको स्थानीयहरुले बताएका छन् ।
बाबातालको बाँध कटान रोक्न तथा मर्मत सम्भारका लागि नेपाली सेनाको टोली परिचालन गरिएको र बोरामा माटो हालेर अहिले बाँध मर्मतकाे काम भइरहेको प्रजिअ कँणेलकाे भनाइ छ ।