–जनक कार्की
हेटौंडामा जन्मिएकी बिना थिङको कर्म घर काठमाण्डु हो । उनको यसअघि कविता संग्रह रातो घर र कथा संग्रह छुकी प्रकाशित छन् । यसर्थ याम्बुनेर उनको तेस्रो कृति हो । समाजिक यथार्थवाद उनको कथामा पाइने विशेषता हो ।
याम्बुनेरमा विचरण गर्दा, कथाकार आफू बाँचेको समय, संस्कृति, परम्परा,धर्म, रहनसहन आदिको ऐना हो । उनी आफू पनि तमाङजातिको प्रतिनिधित्व गर्ने भएकोले कथा भित्र मातृभाषाको मोह लपक्कै छ । कथामा पात्र र परिस्थिति अनुसार तामाङ भाषाका शब्दहरु टन्नै प्रयोग गरिएका छ्न् । तर यसले अन्य जातिका पाठकलाई कुनै असर पार्दैन किनभने नबुझिने शब्दको अर्थ सोही पृष्ठमूनि अंकित छ्न् । नेपाली ग्रामीण परिवेशलाई टपक्कै टिपेर रोचक शैलीमा उनका कथाहरु बोल्छ्न् । विषेश निम्नवर्गीय समाजलाई उनले प्रकाश पारेकी छिन् । कथाकारले आफू बाँचेको भन्दा पहिले र वर्तमान अवस्थालाई चित्रण गरेकी छिन् । उनका कथामा निम्नवर्गीय निमुखाका अवाज, समाजिक धरातल, धर्म संस्कृति, परम्परा, रीतिरिवाज आदि विषय केन्द्रमा छ । उनका कथाले दुईजाति मात्र होइन दुई धर्मबीचको प्रेम पनि देखाएका छ्न् ।
– ब्याड भाले
ब्याड भाले बाह्रखरी कथा प्रतियोगिता ( पहिलो संस्करण ) मा प्रथम भएको कथा । किताब पाउने बित्तिकै त्यहीँ कथाबाट सुरुवात गरे विना थिङलाई पढ्न । कथामा तामाङजातिको संस्कृति, परम्परा, र भाषाको स्वाद भेटेँ । एउटा तामाङ महिलाको कथा , दैनिकी , कामकाजर घरदेदेखि माइतसम्म पुग्दाको कथनबाट नेपाली ग्रामीण परिवेशलाई देखाइएको छ । ब्याड भाले विम्बको रुपमा पितृसत्तात्मक व्यवस्थालाई पनि प्रतिविम्बित गर्दछ । आफ्नो नामर्दपनलाई लुकाउन श्रीनती कुरुप भएको आरोप लगाएर बेपत्ता भएको कुराले हाम्रो समाजमा भएको नग्न पुरुषको चरित्रलाई उदांगो पारेको छ । अन्तमा जसरी स्याङ्म्हेन्दोलाई क्रान्तिकारी कदम उठाएर अर्को विहे गरेर बालबच्चा, नातिनातिना बनाएको कुरा छ , त्यसले महिलालाई माथी उठ्न विचारको झिल्को बालेको छ । समापनमा कथा सुनिरहेको पात्रले जब आत्मालाप गर्छिन , धन्न इरमान जस्तो नामर्द छन अग्नि । कम्तिमा जोसँग बिहे गर्दैछु, त्यो मर्द हो भन्ने पहिल्यै थाहा पाएर अब म ढुक्क छु । यो मनोलापले हाम्रो समाजमा आफूले नचिनेको नजानेको पुरुषसँग एरेन्ज म्यारिज गर्दा आउने समस्या छ । त्यसको समाधानको लागि प्रेम विवाह गरियो भने कम्तिमा उसको थोरै भएपनि आनिबानीबाट परिचित भइन्छ भन्ने कुरा देखाएर प्रेम विवाहलाई बुईँ बोकिएको छ । यो सन्देश राम्रो पनि हो । कथा विचार र कलाको हिसाबले अब्बल छ । मात्र कथालाई बढी वर्णन गरिएको हो कि भन्ने लाग्छ । जबकी ती वर्णनलाई अझै खुम्चाएर विम्बात्मक तवरले गर्न सकिन्थ्यो ।
–ड्राइभरका आँखा
युट्युबमा मैले शर्ट मुभी हेरिरहन्छु । एउटा शर्ट मुभी थियो । जसमा एउटा लेडि नयाँ अपार्टमेन्टमा बस्न आउछिन् । त्यहाँ एकजना बाउ उमेरका व्यक्तिले उनलाई एकोहोरो हेरिरहन्छ । उसको हेराई त्यो लेडिलाई मनपर्दैन । यौन हिंसाको हेराई लाग्छ । त्यो वृद्ध पुरुषले फलो पनि गर्छ । हरेक क्रियाकलापलाई नियाल्छ । एकदिन थाहा हुन्छ , त्यो वृद्धले त्यस लेडिजलाई कुनै कामुक नजरले नभइ आफ्नो छोरा जस्तो मानेर हेरेको हुन्छ । यो कथाको अन्त्यमा त्यहीँ शर्ट मुभिको याद आयो ।
कथामा एउटा किशोरीले यौन हिंसाको सिकार हुनुपरेको विषयलाई उठाइएको छ । यो प्राय किशोरीले भोग्ने कथाव्यथा हो । कथालाई नैकै कलात्मक ढंगले प्रस्तुत गरिएको छ । कथामा प्रयोग भएका कथ्यशैलीको भाषाले मन लोभ्याउँछ । एउटी चेलीले आफ्नो किशोरावस्थामा लागेका बतिला स्तनलाई कसरी गिद्धे नजरबाट बचाउँदै जानुपर्छ भन्ने कुरा मज्जाले चित्रण भएको छ । प्राय ड्राइभरलाई पुर्वाग्रही भएर कामुकताको उमपा दिइने नेपाली परिवेश छ । कथाको समापनले मार्मिक मोड लिन्छ । जसलाई कथाकारको सबल पक्ष मान्न सकिन्छ । कहिलेकाही हामीले जे सोच्छौ, त्यसको विपरीत नतिजा आउन सक्छ भन्ने कथाको मूल सन्देश छ । साथमा यो कुरुपसमाजमा हुर्कदै गरेका सबै किशोरीले कुनै पनि पुरुषको हाउभाउलाई गलत नजरले हेर्नू पर्ने बाध्यता पनि झल्किन्छ ।
–भगवान निवास
यो कथा सपनाले हुरीले होइन भुकम्पले उडाएको कथा हो । नेपालीको प्रमुख सपना भनेको नयाँ घर बनाउने हुन्छ । त्यसको लागि आजीवन कमाएको पैसा, परदेशमा जवानी बेँचेर कमाएको पैसा, वा अन्य जसरी कमाएको पैसा भए पनि पहिलो प्राथमिकता घरमै लगानी लगाउने हो । कथाले एउटा ग्रामिण परिवेशलाई टपक्कै टिपेको छ । समाजिक, राजनीतिक, आर्थिक आदि सबै पाटोलाई छोएको छ । जब भगवान निवास कथाको अन्त्यमा ढल्छ , त्यो सँगै पाठकको मनमा पनि पीडाको भुकम्प जान्छ । एउटा पीडादायी अन्त्यले मन चुक जस्तै अमिलो बनाएर जान्छ ।
– आयाम
आयाम एउटा नयाँ आयाम दिने कथा हो । सिंगल आमाछोरीको कथामा बुनिएको यो कथा, समापनको नजिक पुग्न खोज्दा अर्को रहस्यको पर्दा खुल्छ । त्यसपछि कथाभरी आमाछोरी लागेका पात्रको अर्को परिचय खुल्छ । कथाले बुहारी र सासुलाई नयाँ आयाम दिन खोजेको छ । कथाको शिल्प उत्कृष्ट छ ।
– घडी फूल
घडी फूलले जीवनको हरेक घडीलाई अनुबन्ध गरेको छ । मान्छेको जीवन आखिर घडीहरुको सँगालो हो । घडीघडी मिलेर जीवनको यात्रा चलिरहन्छ। प्रत्येक घडी फरक हुन्छ । अघिको, अहिलेको, अनि पछिको । अनेक घडीमा अनेक नयाँ मोड आउँछ्न । त्यही मोडको कथा हो घडी फूल ।
– गन्धे झार
जे चिज एउटा समयमा राम्रो लाग्छ, अर्को समयमा असाध्यै नराम्रो अनि लाग्न सक्छ । यसको प्रमुख कारण भनेको समयको खेल हो । गन्धे झार प्रेम कथा हो । प्रेमभित्र देशले बिताएको एउटा कालखण्डमाको प्रभाव हो । कथालाई रोचक ढंगबाट बुनिएको छ ।
–सिफनको फेरो
जोरपाटी, काठमाडौ, २०७३ बाट कथा भन्न सुरु हुन्छ । सेर्मोले यो संसार छोडेर जान्छिन् । सुरुआतमै कथा रहस्यमय बन्छ । अर्को रहस्री कथाको अर्को पात्र अब्बास हो । अब्बास र सेर्मो यो बिमेलको पात्र नै अनौठो लाग्छ । कथा खोतल्दै जाँदा, ग्रान्ड रोड, बन्बई सन् १९८० मा पु¥याउँछ र कथान्तले २०७४ जोरपाटी, काठमाडुमै ल्याइपु¥याउँछ । यो कथा एउटा लामो कालखण्डमामा बुनिएको छ । कथाले निशर्त प्रेमको पाठ पढाउँछ, त्याग र वलिदानको गीत गाउँछ । कथामा नेपाली समाजको सबैभन्दा घिनलाग्दो मानवेचविखनको मुद्धालाई पनि उठाएको छ । दुई अलगअलग धर्म संस्कृति, भाषामा भएको पवित्र प्रेम र निस्वार्थ भावनाले प्रेमिकाको सबै यथार्थ स्वीकार्ने उच्छ कोटिको आदर्श प्रेमीलाई पनि परिचित बनाएको छ ।
–जुनेदो
जुनेदो दुई अलगअलग धर्मबीचको अव्यक्त प्रेम कथा हो । नेपाली समाजमा दुई धर्म त धेरै दूरको बात हो, दुई भिन्न जातिमा पनि विहे हुन गार्हो छ । हिन्दी र मुश्लिमको अपुरो प्रेम कथामा अतीत देखि वर्तमानको दृश्य कथा भित्र आउँछ । कथाले स्कूले जीवनमा गरिएको भ्रमणलाई पनो रोचक ढंगले प्रस्तुत गरेको छ । सबैभन्दा महत्त्वपूर्ण कुरा जब जुनेदो र सीताको प्रेमको अफवाह सारा गाउँभर फैलिन थाल्छ । सीताले बाध्य भएर भाइटीका लगाइदिने निर्णय गरेर घरमा बोलाउछिन् । हो त्यहीँबाट दुई प्रेम गर्ने सधैको लागि टाढा हुन्छ्न् । प्रेमको पवित्र नामलाई दाजु बहिनी जस्तो कथित सम्बन्धमा अभिनय गर्न नसक्ने भएपछि सीता र जुनेदो एकार्काबाट बेपत्ता हुन्छन् । समाजिक र धार्मिक कारणले एकार्कालाई गुमाउनु परेको प्रेम कथा हो । कथा भित्र एउटा प्रसँग छ , शैक्षिक भ्रमण । शैक्षिक भ्रमणको सबैभन्दा लोकप्रिय रूट गोर्खा, लुम्बिनी,पाल्पा र पोखरालाई मानिन्छ । कथाकारले यश कथामा लुम्बिनी, गोर्खा, पाल्पा, तानसेन लेखेकी छिन् । म आफै तानसेनवासी हुनाले तानसेनको नाम आउँदा खुसी लाग्यो तर एउटा कुरा अलि असुहाउँदो लाग्यो । उनले पाल्पा , तानसेनको रूट प्रयोग गर्दा पाल्पाको तानसेन भनेको भए व्यवहारीक लाग्थ्यो किनभने पाल्पाको तानसेनको सदरमुकाम हो । पाल्पा र तानसेनलाई अलगअलग ठाउँ जसरी लेख्न पर्ने थिएन कि ?
–याम्बुनेर
याम्बुनेर अर्थात राजबस्ने ठाउँ, अहिले राजाको अस्तित्व नभएपनि श्रीपेचविनाका धेरै राजा बस्छ्न यो सहरमा । याम्बुनेर नजिकैको एउटा गाउँको कथा हो, जो याम्बुनेरसँग आश्रीत छ । कथाको मुख्य कथावस्तु भनेको, बजारभरि सिलप्याक चाहिं बेच्न हुने । हाम्रो चाहिं किन नहुने ?झ यहि कथाको संवादमा छ । हाम्रा नेपालमा अझै पनि धेरै यस्ता गाउँ छ्न्, जसले रक्सी बनाएर आफ्नो जिविकोपार्जन गरिरहेका छन् । तर सरकारको कानुनमा लोकर रक्सीलाई वञ्चित गरिएको छ । सरकारले लोकल ठ¥रालाई वैधानिक बनाएर ग्रामिण भेगका गरिबको हातमुख जोर्ने माध्यमलाई उत्साहित गर्नुपर्छ भन्ने कुरा यो कथा पढिसकेपछि पाठकको मनमा आउन सक्छ । याम्बुनेर आफू मात्र बाचेर हुन्न गाउँलाई पनि बचाउन पर्छ । कथाले ग्रामिण अवस्थाको चित्रण छर्लङ गरेको छ ।
–गंगारामको साइकल
यो कथामा पहाडेले मधेसीवर्गलाई हेर्ने धारणा देखाइएको छ । एउटा किशोरी जसले संसारनै बुझेकी छैन । उसको दिमागमा कसरी मधेसीप्रति यो धारणा बन्यो त ? पक्कै पनि हाम्रो समाजकै उपज हो । कथा रोचक छ । समापनमा गंगारामको माया लागेर आउँछ, जसरी सधै घृणाको नजरले हेर्ने कालीको मन पनि भरिएर आउँछ । कथा कलात्मक छ । मनोविज्ञानलाई पनि राम्रोसँग केलाइएको छ । कथाकारको यो कथा उहाँको अन्य कथाको शैली भन्दा फरक कथा हो ।
–आइतिमाया
उखानै छ, लोग्नेस्वास्नीको झगडा परालको आगो । यहि उखानलाई हल्का मोडिफाई गर्ने हो भने, ञलोग्नेस्वास्नीको रिस बालुवाको घर ।झ यस्तै सेरोफेरोमा कथा घुमेको छ । कथाभित्र श्रीमान घर नफिरेकोले रिसाएकी आइतिमाया मुरमुरिन्छे, घर आएपछि यो गर्छु त्यो गर्छु भन्छे । जब लोग्ने घर फिर्छ । लोग्नेले मायालु तरिकाले फकाएपछि,तनमन जोडिएपछि, सबैकुरा शान्त हुन्छ । यो कथाले लोग्नेस्वास्नीको मायालु प्रेमलाई अनुभव गराउँछ । एउटा आगो हुँदा अर्को पानी भयो भने सफल हुन्छ जिन्दगानी ।
–आनी पेमा
यो कथा एउटा सिङ्गो उपन्यास बन्न सक्ने कथा हो । गुम्बाभित्र हुने बौद्ध परम्परा र अनुशासनलाई केन्द्रित गरिएको छ । संसारबाट वैराज्ञता आएर आनी बन्नु र बाबुआमाले परम्परा धान्न आफ्ना सन्तानलाई आनी बन्न भर्ती गर्नु फरक कुरा हुन्छ । संसारको सुखभोग नगरेकालाई संसारको कतुहुलताले गाँज्नु समान्य कुरा हो । गुम्बाभित्र प्रेमलाई कामवासनाको व्याख्या गरिन्छ । आनी पनि अनायसै प्रेमानुभूती गर्न थाल्छिन् । त्यहीँ प्रेमले उनको जीवनममा ल्याएको खलबलीको कथा हो । गुम्बा,आनी र प्रेमको भुमरीमा बगेको कथा निकै शक्तिशाली पनि छ ।
–सिकोफाइभ
सिकोफाइभ कथा राष्ट्रिय पत्रिकामा प्रकाशित कथा हो । यो कथा क्राइम थ्रिलरमा आधारित छ । कथाको ससपेन्सलाई निकै मज्जाले देखाइएको छ । विभिन्न पात्रहरु आउँछ्न, अनेक कथा बुनेर जान्छ । यो कथाको अन्त्य निकै रोचक छ । कथा बुन्ने यो शैलीले पाठकलाई पक्डेर राख्छ ।
कथाकारले कथानकलाई कतै बढी तन्काएको र कतै बढी खुम्चाएको देखिन्छ । उनका प्राय कथाका पात्र र परिवेश उस्तैउस्तै पनि लाग्छ्न् । समाजिक यथार्थवादमा आधारित भएर लेखिएकोले कथा, कथाभन्दा बढी यथार्थ पनि लाग्छ, धेरै ठाउँमा । कथामा विषप्रधान हुँदा कला हराएको भान हुन्छ र कहिले कला प्रधान हुँदा विषय लापत्ता भएको पनि लाग्छ ।
कथाको शिल्प ,शैली, र काव्यिक भाषाले पाठकको मन तानिरहन्छ । मानवीय संवेदना र राजनीतिक, आर्थिक,समाजिक विषयवस्तुलाई न्याय दिन सकेकी छिन् । प्राय कथाहरु नारीलाई प्रधान बनाएर लेखिएका छन् । कतै पीत पुरुष र कतै आदर्श पुरुष पनि चित्रण छ । समग्रमा याम्बुनेर पढेपछि हाम्रै माटोको कथा हो भन्ने महसुस हुन्छ । विषेश तामङ कला, संस्कृति, भाषा, मिथक, धर्म, रहनसहन बुझ्नको लागि यो सङ्ग्रह सङ्ग्रहणीय छ ।
कृतिः याम्बुनेर (कथा संग्रह)
कथाकारः बिना थिङ
पृष्ठः १७३
प्रकाशकः फिनिक्स बूक्स
मूल्यः रू ३००
तानसेन, पाल्पा