-केदार पोखरेल
कुरा सुन्नासाथ दुवैमा छटपटी भैहाल्यो । कृष्णचन्द्रले खुइय्य गर्दै भने, ‘अब के गर्ने होला ?’
‘त्यो अन्तिम अवस्थामा पुगेकैले जन्मभूमि सम्झेको हुनसक्छ, निराश नभएसम्म मान्छेले आफ्नो ठाउँ सम्झिँदैन । उसको जन्मस्थान पुगेर तथ्य थाहा नपाएसम्म सूर्यकिरणकहाँ जानुको कुनै अर्थ छैन । झपार मात्रै खाइन्छ !’ दीर्घजीवीले लामो सुस्केरा हाल्दै भने !
शैलेश आफ्नो जन्मस्थान आएछन् । आफूले सानोमा जुन स्कुल पढेका थिए, त्यसलाई सहयोग पुगोस् भन्ने उद्देश्यले श्रद्धेय आमा–बाको नाउँमा अक्षयकोष स्थापना गर्ने मनसाय रहेछ । विद्यालयमा भव्य कार्यक्रम थियो ! सयौं मान्छे जम्मा भएका थिए ! आफ्नो गाउँ–ठाउँ पुगेपछि उनको रोग पनि निको हुँदै गयो ।
दीर्घजीवी र कृष्णचन्द्रले वारि बगुवाबेंसीबाट पारिपट्टि अपार मान्छेहरूको भीड देखे । त्यति टाढाबाट मान्छे चिन्न सकिएन । कृष्णचन्द्रले दीर्घजीवीसँग हात मिलाउँदै भने, ‘काम तमाम भो ! सूर्यकिरण जिन्दावाद ! निश्चल र शान्तिप्रियलाई खबर गरिहालौं !’
दीर्घजीवीले प्रस्ताव राखे, ‘त्यसो भए ऊ त्यो होटलमा गएर खुसियाली मनाऔं !’ माछा, रक्सी र खानाको अर्डर भयो । दीर्घजीवीले यति रक्सी खाए कि उनी बेहोस भएर त्यहीं ढले । कृष्णचन्द्र पुरेत काम गर्ने हुनाले रक्सी खाएनन् । उनको आफ्नै जिल्ला प¥यो, त्यसैले पनि मर्यादामा बस्नु उपयुक्त ठाने कि ? थकाइ र हर्षले गर्दा कृष्णचन्द्रलाई निद्रा लागेन । होटलवाला चिनेकै मान्छे हो, कुरा गर्न सकिन्थ्यो तर उसको व्यस्तताले गर्दा सम्भव भैरहेको थिएन । हाई–हाई गर्दागर्दै बार बज्यो । धन्न होटलवालाले त्यही टेबलमा आएर खाँदै सोध्यो । ‘बाजे कताबाट पाल्नुभो ? काशी जानुभा भन्या सुन्याथें ।’
कृष्णचन्द्रले अल्मलिँदै भने, ‘के भने नि, गाउँ–घर आउन मन लाग्दोरछ । म कहिलेकाहीं आउँछु । अनि गाउँघरको हालचाल के छ त ? बढ्ने–घट्ने त भाछैन नि ?’
होटलवाला वीरेले निन्याउरो मुख लगाउँदै भन्यो, ‘बिचरा शैलेश !’ यति भन्नासाथ कृष्णचन्द्रको मुखबाट एकाएक निस्क्यो ! ‘हरे शिव, उनी गए ! !’ वीरेले लेग्रो तान्यो, ‘के भन्नु र हजुर ? गैसकेका थे, निमित्त आइपुगेको रहेनछ ! हजुर हाम्रो भाग्य, अहिले त राम्रो छ !’ कृष्णचन्द्रको ओठ, मुख र घाँटी एकैचोटी सुक्यो ! तामाकोसीको पानी मगाएर दुई अम्खोरा पानी खाए, तैपनि तिर्खा मेटिएन । वीरेलाई लाग्यो, शैलेश जस्तो असल मान्छे कसो मरेनछन् भन्ने पीरले यिनलाई खरो भयो !
वीरेले फेरि दोहो¥यायो, ‘हजुर, अब पीर नमान्नुस् । आखिर उनी बाँचिहाले, आज रात प¥यो । भोलि भेट्नुहोला । अनि नि हजुर, उनलाई भन्याछ रे ‘निदाउँदा पनि गोडा हल्लाएर निदाउने गर्नू नत्र आफन्तले ‘म¥यो !’ भनेर फाल्न सक्छन् । किन होला हजुर ? सकेसम्म आफ्नो गाउँको सेवा गरौं, अन्तिम सास पनि आफ्नो पुख्र्यौली थलोमै बिसाऊँं भनेर आएका रे । यो त झन् प्रशंसा योग्य कुरा होइन र हजुर ? कि कसो हजुर ? हजुरहरू ढिलो आइपुग्नुभयो, दिउँसो आउन पाएको भए कति रमाइलो हुन्थ्यो !
जिल्लाबाट हाकिमहरू पनि आएका थिए । शैलेशको सबैले प्रशंसा गरे । उनी भन्दैथे, ‘म मेरो जन्मभूमिलाई केही गर्न भनेरै आएको छु’ त्यो सुनेर कति मान्छेको त गहभरि आँसु भयो । मेरो आँखाबाट पनि दुई थोपा आँसु चुहिसकेछ ! थाहा नपाएझैं गरेर हातले पुछें !’ कृष्णचन्द्रले लामो सास तान्दै भने : ‘त्यै त..’ उनले फेरि तामाकोसीको एक अम्खोरा पानी एकैछिनमा सिध्याए ! एक बोतल रक्सी पिएर दीर्घजीवीकै झैं निदाउन मन नलागेको त होइन तर जजमान खुस्किने भयले आँट गर्न सकेनन् ! यतिखेर कृष्णचन्द्रलाई जजमानी पेशा पनि ‘भालुको कम्पट’ भयो !
भीमेश्वर : म एउटा कुरा भनौं ? दुवैको मन एउटै, तन फरक छ । दुवैको चिन्ता एउटै विषय फरक छ । दुवैको निद्रा हरायो, कारण फरक छ ! ‘गुड माइन्ड, गुड फाइन्ड’
सुदेश : हैट्ट ! क्या मीठो साहित्य प्रयोग गर्नुभयो है !
जनार्दन : अँ सुन न । शैलेश चाइने जीवन जिउन होइन, जीवनलाई जित्न प्रयत्न गर्दैछन् । जिउने प्रयत्न त कुक्कुरले पनि गर्छ, मान्छेले आफ्नो सर्वश्रेष्ठता प्रमाणित गर्ने हो भने उसले जीवनलाई जित्न सक्नुपर्छ । त्यसैले उनले चेप्टेभँगालोमा कुटी बनाएर बस्ने निर्णय गरे । श्रीमतीले पनि नाइँनास्ति गरिनन् । गाउँलेहरूको सहयोगबाट एउटा सुन्दर कुटी तयार भयो । धेरै समयदेखि आफ्नो जन्मभूमि छोडेर देश–विदेश भौंतारिएकोमा शैलेश पछुतो मानिरहेका छन् ! अहिले उनी भन्दै छन्, ‘मलाई कालिञ्चोक, शैलुङ र गौरीशंकरबाट बगेको हावा नै मन पर्छ ! तामाकोसीको चिसो पानी नै मनपर्छ ! अनि आफ्नै जन्मभूमि जफे सबैभन्दा प्यारो लाग्छ ! म अन्तिम सास यहीं बिसाउन चाहन्छु ! मेरो दाहसंस्कार यही चेप्टेभँगालोमा होस् ! !’
उनीहरू आज–भोलि त्यही चेप्टेभँगालाको कुटीमा बस्छन् । रातभरि लाल्टिन बालेर खाँबोमा झुन्ड्याएको देखिन्छ । श्रीमती गनगन गरिरहन्छिन् । तामाकोसीको एकोहोरो सुसाइले शैलेशलाई बुझ्न कठिन परिरहेछ । श्रीमतीले भनिन्, ‘सूर्यकिरण र षट्कोणको कारणले हाम्रो यो दशा भएको हो !’ शैलेश सम्झाउँदैथे ः ‘ऊ त एउटा निमित्त मात्र हो । मान्छेले आफ्नै कारणले दुःख वा सुख भोग्छ । बेलायतकी प्रसिद्ध उपन्यासकार रेबेका वेस्टले लेखेकी छन्, ’मान्छेले पाएका सम्पूर्ण दुःखहरू आफ्नै हर्कतका परिणाम हुन् ।’ भन त कुशलको बिहे हाम्रो साइँला छोरासँग नभएको भए यो दशा हुन्थ्यो ? बिहे कसले गरायो ? तिमीले र मैले होइन ? गीतामा कृष्ण भगवान्ले अर्जुनसँग भन्नु नै भएको छ नि ।
‘उद्धरेदात्मनात्मानं नात्मानमवसादयेत् ।
आत्मैव ह्यात्मनो बन्धुरात्मैव रिपुरात्मन : ।’
(आफैंले यो दुःखरूपी सागरबाट आफूलाई उद्धार गर्नुपर्छ, अधोगतिमा लग्नु हुँदैन किनकि आफ्नो शत्रु र मित्र दुवै आफैं हो ।)
अब हामीले बाँकी जिन्दगी समाजसेवा र धार्मिक मार्गमा लगाउन सक्नुपर्छ । ‘शास्त्रमा अन्त्य नबिगार’ भनिएको छ नि, त्यो भनेको मर्नुभन्दा अगाडि राम्रो काम गर भनेको हो ।’’ श्रीमतीले ‘तपाईं एउटा श्लोक बारम्बार भन्नुहुन्थ्यो नि’ भनेर सम्झाइन् । शैलेशले भने ‘ए त्यो’,
‘सुखं हि दुःखान्यनुभूय शोभते
धनान्धकारेष्विव दीपदर्शनम्
सुखात्तु यो याति नरोदरिद्रताम्
धृत : शरीरेण मृत, स जीवति ।’
(दुःखबाट सुखमा जो जान्छ, त्यसलाई अन्धकारमा बत्ती बलेझैं आनन्द हुन्छ, जसले पहिले सुख पाएको थियो, पछि दुःख पायो भने बाँचेर पनि मरे समान हुन्छ ।)
दुःख र सुख भन्ने कुरा एउटा अनुभूति त हो नि । जतिसुकै सम्पत्ति भए पनि एक पेट खाने र एक झुम्रो लगाउने न हो ? भलै हाम्रो धन लगेर सूर्यकिरणले पनि महिला, वृद्ध र बालबालिकाको हितमा खर्च गर्ने भनेकै छ ।
श्रीमतीको चेहराले बताइरहेको थियो कि उनलाई चित्त बुझेको छैन । शैलेशले अर्को एउटा कथाको पनि उदाहरण दिए, ‘एउटाले राम्रो कमलको फूल तोडेर बाटामा फ्यालेछ । त्यसलाई अर्कोले भेट्यो । लगेर शिव भगवान्लाई ‘ओम् नमः शिवाय’ भन्दै चढाएछ । आधा धर्म चाहिं फूल तोडेर फ्याँक्नेलाई गएछ । त्यसबापत फूल तोड्नेवालाले एक दिन स्वर्णरथमा चढेर स्वर्ग घुम्न पाएछ । त्यही मौकामा उसले त्यो रथ नै स्वर्गका पुरेतलाई दान दिएछ । स्वर्गमा गरिएको दानको प्रभावले गर्दा उसले पुनः मत्र्यलोक फर्किनै परेन ।’ भन्दै हँसाउन खोजे, तर श्रीमतीको चेहराको उदासीनतामा कमी आएन । शैलेशले अर्को उदाहरण दिंदै भने, “हेर, मार्क ट्वैनले भनेका छन्, ‘मानिस पूर्ण रूपले बाँच्नका लागि उसले म कुनै पनि दिन मर्न सक्छु र त्यसका लागि सदैव तयार छु भनेर बाँच्ने कला सम्झिरहनु जरुरी छ ।’”
शैलेशले श्रीमतीलाई सोधे, ‘हामीले किन चेप्टेभँगालोमा कुटी बनाएर बसेको तिमीलाई थाहा छ ?’
श्रीमतीले भनिन्, ‘सूर्यकिरण र षट्कोणको कारणले ।’
शैलेश : ‘हो, तर तिनीहरूलाई अब हामीले शत्रु ठान्नुको कुनै अर्थ छैन । उनीहरूले हामीलाई मर्ने कला सिकाए, मर्ने कला जसले जानेको छैन उसले बाँच्न पनि जान्दैन । यो हामी मरेपछि चिता बनाएर जलाउने ठाउँ हो । जिउँदै यहाँ बस्नुको तात्पर्य हुन्छ, हामी मृत्युदेखि डराउँदैनौं ! ‘मर्नुभन्दा अगाडि खुट्टा तान्नु’ भन्ने उखानलाई चरितार्थ गर्न खोजिएको होइन । हिजोसम्म हामी सन्तानका लागि बाँचेका थियौं, अब निस्पृह र निस्वार्थ सेवा गरेर आफ्नो लागि बाँच्न चाहन्छौं ! सन्तानलाई आफ्नो क्षमता अनुसारको शिक्षा र संस्कार दिएर संसार चहार्न सक्ने बनाइदियौं ! अब उनीहरूप्रतिको दायित्व पूरा भयो । यदि हामीले असल बुहारी भित्र्याइदिएका रहेछौं र असल केटालाई छोरी दिएका रहेछौं भने ती छोरा–छोरीले पनि हामीलाई सम्झेलान्, कथं दुष्टसँग सम्बन्ध गाँस्ने काम भएछ भने त कमजोरी हाम्रै हो । दोष कसलाई दिने र ? हामीले आफ्ना पूर्वजसँग र समाजसँग हाम्रो कमजोरीप्रति माफी माग्नुको विकल्प छैन ! अहिले हामी जो भोगिरहेका छौं, त्यो पनि आफूले गरेका गल्तीको प्रायश्चित्त गरिरहेका छौं ! गल्ती र कमजोरी आफैंबाट हुन्छ । त्यसैको परिणाम हो, सुख र दुःख, सफलता र असफलता, जीवन र मृत्यु ! सबै ! सबै ! हामीले आफूलाई जन्माएर संसार देखाउने आमालाई के ग¥यौं ? सम्पूर्ण नेपालीकी आमा नेपाललाई के ग¥यौं ? अनि आफ्नो जन्मस्थान ! पुख्र्याैली थलो जफेको लागि के गर्यौं ! सोच त ! हो, यस्तै केही नगर्नेहरू बाँचेर पनि मर्छन्, केही गर्नेहरू मरेर पनि बाँच्छन् ! सूर्यकिरणले हामीलाई मरेर बाँच्ने प्रेरणा दिएको छ त्यसैले ऊ हाम्रो गुरु हो ! पहिले म आफ्नो अनुहार किन मैलो देखियो ? भनेर खालि ऐना पुछ्थें, अहिले आफ्नै अनुहार सफा गर्न लाग्या छु ! यो कसले सिकायो, भन त ? त्यही सूर्यकिरण र षट्कोणहरूले होइन ? त्यसैले उनीहरू हाम्रा गुरु हुन्, महागुरू ! ! उनीहरू हामीप्रति किन आक्रामक भए ? धनको लागि न हो । यसैलाई त्यागेपछि के गर्छन् ?
‘जसले सक्तछ मान मोह मद औ मात्सर्य त्यागी दिन ।
हुन्छन् मुक्त गृहस्थीमा पनि तिनै सद्धर्म थामी कन ।।
आसक्ती धनको कठोर मनले रोकेर जो त्याग्दछन् ।
भोगी सौख्य यहाँ परम्पद पछी सानन्द ती पुग्दछन् ।।’
एउटा अर्को उदाहरण सुन, ‘अस्ट्रेलियामा एउटा जुसको कारखाना थियो । त्यसले राम्रो प्रगति गर्दैगयो । यो सबै कामदारहरूकै कारणले भएको हो । काम गर्नेहरू सबै एकै खाले थिएनन्, कोही ठग पनि थिए । कारखाना मालिकले सबैको कामको मूल्यांकन गरेर राम्रो काम गर्ने जतिलाई पदोन्नति गरिदियो । पदोन्नति नहुनेहरू रिसाए । पदोन्नति हुने र नहुनेको बीचमा झगडा शुरू भयो ! कारखाना मालिकले एउटा सूचना टाँसेर सबैलाई सभाहलमा जम्मा हुन आह्वान ग¥यो । सूचनामा लेखिएको थियो, ‘कामदारहरूको पदोन्नतिमा भाँजो हाल्ने व्यक्तिको आज राति बार बजे निधन भएकोले बिहान सात बजे श्रद्धाञ्जलीको लागि सबै कामदारहरू आउनुहोला ।’
अस्ट्रेलियामा एउटा जुसको कारखाना थियो । त्यसले राम्रो प्रगति गर्दैगयो । यो सबै कामदारहरूकै कारणले भएको हो । काम गर्नेहरू सबै एकै खाले थिएनन्, कोही ठग पनि थिए । कारखाना मालिकले सबैको कामको मूल्यांकन गरेर राम्रो काम गर्ने जतिलाई पदोन्नति गरिदियो । पदोन्नति नहुनेहरू रिसाए । पदोन्नति हुने र नहुनेको बीचमा झगडा शुरू भयो !
कामदारहरू आउँदै कफन खोल्दै हेर्दै गरे । त्यहाँ सिसाको शव बनाएर राखिएको थियो । मान्छेको शव थिएन । प्रत्येकले ऐनामा आफ्नै अनुहार देखे । त्यसपछि उनीहरूलाई थाहा भयो कि पदोन्नति नहुने कारण आफैं रहेछ ।’
श्रीमतीले फेरि सोधिन् ः ‘त्यसो भए ती आठै जना हाम्रो भलो चाहने हुन् त ?’ शैलेशले भने, ‘होइनन् । उनीहरू हामीलाई मार्न चाहन्थे ! उनीहरूले दिएको विषले हामीलाई अमृतको काम ग¥यो ! दुर्योधनले भीमलाई विष ख्वाएर नदीमा फ्याँकेको होइन ? तिमीले यसलाई त्यही रूपमा बुझे भैगो नि ! जति गल्ती भयो–भयो, अब बाँचुन्जेल हामीले आफ्नो जीवन समाजसेवामा समर्पित गर्नुपर्छ । फेरि हेर, यो संसारका सबै कुरा अनित्य छन् । जीवन अनित्य छ । विचार अनित्य छ । जुन कुरा अनित्य छ, त्यो परिवर्तनशील हुन्छ, त्यसैले हामी यो पनि आशा गर्न सक्छौं कि कुनै दिन सूर्यकिरण र षट्कोण लगायतका व्यक्तिहरूलाई पनि यो अनित्यताको ज्ञान भयो भने हामीमाथि लगाएका निराधार आरोपमा पश्चात्ताप हुन पनि सक्छ, अनि हामीमाथि धसेका दाह्रा र नङ्ग्रा झिक्न पनि सक्छन् । यदि त्यसो भएन भने ‘हराएको गाई सूर्यलाई दान’ भनेर चित्त बुझाउँला ।’ श्रीमतीको घैंटोमा घाम लागेछ क्यार, मुसुक्क हाँसिन् !
श्रीमतीले तपाईंको हृदयको मयल पखाल्ने सूर्यकिरण र षट्कोण हुन् कि कालको छाया हो ? म त अल्मलिएँ । भन्दा उनको उत्तर थियो, ‘दुवै ।’
शैलेश आफ्नो जिल्लालाई नै केही गर्न चाहन्थे तर त्यसो गर्दा समुद्रमा ढुङ्गा हानेझैं हुने भएकोले साथी–भाइको सल्लाह अनुसार प्राथमिकता निर्धारण गरेर सहयोगलाई अगाडि बढाइरहेका छन् । प्राथमिकतामा आफूले पढेका अथवा आफ्ना गाउँका स्कुलहरू, बाले बनाएका मन्दिरहरू र वहाँले चिनेका चौताराहरू परेका छन् ।
शैलेश : महाभारत शान्तिपर्वमा भीष्म पितामह भन्छन्, ‘रक्षा गर्छ विपत्तिमा र सुखमा सत्कर्मले धर्मले ।’ हामी अहिले असहाय आवस्थामा छौं, त्यसैले हाम्रो एक मात्र उद्देश्य सत्कर्म गर्ने हुनुपर्छ । सत्कर्म र धर्म भनेको सेवा हो, उपकार हो । त्यो कसरी गर्ने ? म त्यही सोचिरहेको छु । मैले नियमित कक्षा पढेको एक वर्ष मालुमा मात्र हो । मेरा पाठशालाहरू बारीका पाटा, गाउँलेका माच, जग्गेशालाको डाँडो, मूलपँधेरो माथिको पाखो, डाँडाबारीको मतान यिनै हुन् । जफे गा.वि.स.भरिमा जम्मा एउटा पाठशाला थियो, कालापानीमा । कालापानी पाठशालामा यदा–कदा पढ्न गइन्थ्यो । नयाँघर ठूलीआमाको घर जान पाइने हुनाले पनि पाठशालाको निहुँ गरेर रैकर गइन्थ्यो । त्यतिबेला नयाँघर हाम्रो लागि सभ्यताको प्रतीक थियो । बगैंचामा के थिएन ? कागती, सुन्तला, हलुवाबेद, निबुवा आदि–आदि । जफेभरिमै त्यति राम्रो व्यवस्थित बगैंचा सायद अन्यत्र थिएन जस्तो लाग्छ ! तारानाथका श्रीमतीहरू तीनवटी थिए । उनलाई सबैभन्दा मन परेकी माइली थिइन् जसलाई उनले प्रेम विवाह गरेर ल्याएका हुन् । बाम्तीका शिवबहादुरकी छोरी साँच्चै राम्री थिइन् । उनको निधन भएपछि लगभग उनले यो ठाउँ नै माया मारेर काठमाडौंमा बस्न थाले । सुन्छु, अहिले त्यो घरमा कोही बस्तैनन् । दिउँसै तर्साउने ओडार झैं देखिन्छ भन्छन् । सुन्दै रुन मन लाग्छ ! यसो, आज त्यतातिर जाऊँ न है ? स्कुलमा केही कुराको अभाव रहेछ भने सकेको सहयोग पनि गर्ने हो कि ? म तिमीबाट स्वीकृति पनि चाहन्छु । कसो ? मेरो जीवनकै आदर्श पुरुष शान्तिप्रसाद पनि ‘काठमाडौंबाट आउनुभएको छ’ भन्ने सुनेको छु । वहाँको दर्शन पनि हाम्रो लागि मूल्यवान हुन आउँछ !
श्रीमती ः हुन्छ । असल मान्छेसँगको भेट र असल कामको निम्ति तपाईंले मेरो स्वीकृति लिइरहनु पर्दैन । मलाई लाग्छ, तपाईं जीवनको अन्तिम घडीमा हुनुहुन्छ, त्यसैले पनि म चित्त दुःखाउन चाहन्नँ । सूर्यकिरण र षट्कोणले लगेर बचेछ भने ठीकै छ, बचेन भने पनि तपाईंले मेरो पीर नमान्नुहोला ! ! मेरो रगत र पसिना खाएर मस्ती लिनेहरू लिई नै रहून् । उनीहरूको पनि अकल्याण होस् भन्दिनँ, बरु उनीहरू र उनीहरूका अनुयायीहरूको बुद्धि फिरोस् ! आफूसँग भएको दौलतप्रति पनि तपाईंले भने जस्तै निस्पृह हुन सिक्तैछु । तपाईंले उनीहरूलाई गुरु मान्नुभो, म गीतालाई गुरु मान्न प्रयत्न गर्दैछु । तपाईंले मलाई गीताको अध्ययनमा लगाउनुभयो, म त्यसको परिणाममा पुग्न खोज्दैछु !
‘श्रेयोहिज्ञानमभ्यासाज्ज्ञानाद्ध्यानमविशिष्यते ।
ध्यानात्कर्मफलात्यागस्त्यागाच्छान्तिरनन्तरम्’
कर्मफलको त्याग नै सबैभन्दा उत्तम हो, यसबाट तुरुन्त शान्ति मिल्छ भनिएको छ, त्यसो हो भने यसकै अभ्यास किन नगर्ने ?
शैलेश : तिमी जस्ती नारी पाउनु मेरो अहो भाग्य हो ! !
जनार्दन : आहालडाँडामा पुण्यप्रसादले रोपेको वर र सुमन्तिप्रसादले रोपेको पीपल भएको ठाउँमा चौतारो बनाउने योजना पनि रहेछ । त्यो अध्याय समाप्त भैहाल्यो । कसको आदेश र कसको निर्णयले हो कुन्नि आहालडाँडाको गहना, फौजदार गाउँको शोभा अनि बटुवालाई शीतलता प्रदान गर्ने ती तपस्वी रूख अब रहेनन् । त्यहाँको दशा देखेर शैलेशले बरर्र आँसु झारे ! मलाई पनि भक्कानु छुटेर आयो !
तारानाथ पोखरेलको हलचल हुन्जेल यो आहालडाँडाको शोभा पनि बेग्लै थियो । दशैं र तिहारमा लिङ्गेपिङ खेल्न गाउँभरिका मान्छे जम्मा हुँदाको रमाइलो सम्झिँदा अहिले पनि आनन्द आउँछ । उनीहरू बसाइँ हिंडेपछि यसको पनि बेहाल भएको हो । धर्म र संस्कृति जीवनको रमाइलोसँग पनि गाँसिएको हुन्छ, जब यसलाई मान्छेहरू बेवास्ता गर्न थाल्छन्, जीवन पनि नीरस हुन थाल्दछ । अहिले यहाँ त्यस्तै देखियो ।
शैलेश : महादेवथान, मूलपँधेरो र जग्गेशाला पनि मेरो बाल्यकाललाई सम्झाउने महŒवपूर्ण ठाउँहरू हुन् । जग्गेशालामा दशैं र तिहार पर्वहरूमा इन्द्रप्रसाद, सूर्यप्रसाद, गोपी दाइ, ठाकुरप्रसाद, गैराबारी भानिजदाइ, रुम्बा कान्छो, गाजलीको छोरो कान्छो आदिको चहलपहल हुँदा रोटेपिङ पनि खेलिन्थ्यो । उनीहरूलाई बूढेसकाल लाग्दै गएपछि अरूले रोटेपिङ हाल्न छोडेर लिङ्गेपिङ मात्र हाल्न थालेका थिए । दशैंमा निधारभरि टीका लगाएर साथीसँग खेल्न कस्तो मजा आउँथ्यो ! तिहारमा गोदावरी र मखमली फूलको माला र पगरी लगाएर खेलिन्थ्यो ! अहिले त दशैं–तिहारमा पनि केटा–केटीहरू खासै रमाइलो गर्न छोडेछन् । शहरमा जागिरे हुनेहरू दशैं पर्व भनेर गाउँ–घरमा आएको पनि त्यति देखिएन । कतिका छोराहरू त बिदेसिइसकेछन् । हामीलाई गाउँ छोडेकोमा अहिले पछुतो छ । विदेश गएका हाम्रा छोराहरू अहिल्यै चिन्ता गर्न थालिसके । हाम्रो मन र तन पूर्वीय संस्कृतिले बन्यो । नशा–नशामा पूर्वजद्वारा निर्माण गरिएका संस्कृति र परम्परा घुलिएका छन् । यिनलाई छोडेर पाश्चात्य संस्कृतिमा रमाउँदै सधैं बिरानो ठाउँमा बस्न कहाँ सकिन्छ र !
श्रीमती : खालि तपाईं भावुकतामा बग्नुहुन्छ । विगतलाई सम्झिँदै पीर गरेर भयो त ?
शैलेश : पीर गरेको होइन, आनन्द मानेको पो त, हेर न, बाले थापना गरेको महादेव मन्दिर जीर्ण भएछ । त्यसलाई जीर्णोद्धार गर्नुपर्ने, सूर्य अस्ताएपछि सानो बत्तीको पनि ठूलो महŒव हुन्छ । सूर्य बन्न को सक्छ र ? एका–दुई तारासम्म बनेका होलान् । मेरो उद्देश्य चाहिं सानो बत्ती बनेर यो गाउँलाई केही उज्यालो दिन सकिन्छ कि भन्ने हो । नश्वर शरीर बाँचुन्जेल मात्र होइन मरेपछि पनि आफ्नो अस्तित्व कायम राख्ने अठोट हरेक मानिसले गर्ने हो भने यो धर्ती कस्तो हुन्थ्यो होला ? भन त ! हामीले थालेका शुभ कार्यहरू पूरा नहुँदै म तलमाथि भएँ भने कान्छो छोरालाई ‘पूरा गर्न’ भन्नू है ?
श्रीमती : म के भन्छु त ? आत्तिने कुरा चाहिं नगर्नू न । कान्छो असल छ, गरिहाल्छ नि ।
जनार्दन : चारैतिर खर्चैखर्च भएको हुनाले श्रीमतीले के भन्छे, भन्ने रहेछ क्यार ? उनको स्वीकृति पाएपछि शैलेश मुसुक्क हाँसे । वास्तवमा श्रीमतीको उदारतालाई पनि मान्नुपर्छ ! श्रीमान्को खुसीका लागि उनी जे गर्न पनि तयार देखिन्छिन् ।
मूल पँधेराको महादेवमन्दिर जीर्ण भएछ । पहिले झिंगटीको छानो हालेर बनाएको हो । त्यो पुरानो भएपछि यादव पोखरेलले ढुङ्गाले छाउने व्यवस्था मिलाएका हुन् । बाहिरी भित्तामा लेउ लागेको देखियो । गारो भत्काउनु परेन । लिउन उप्काएर पुनः प्लास्टर गर्दा भयो । मन्दिरको जीर्णोद्धार थालिएको तीन दिन भयो, आज पूर्ण हुन्छ । मन्दिर जीर्णोद्धार हुँदा गाउँलेहरू अत्यन्त खुसी भए । नयाँ युवा र केटा–केटीहरूले शैलेशलाई देखेका–चिनेका थिएनन्, शैलेशले उनीहरूसँग पनि घुलमिल हुने मौका पाए । महिला, युवा, पुरुष सबैबाट सहयोग प्राप्त भयो । उनले सामानको पैसा मात्र दिए, काम गर्ने डकर्मी, सिकर्मी खेताला कसैलाई पनि ज्याला दिनुपरेन । ‘जवानी जति अन्तै रित्याएर बूढेसकालमा हड्डी बिसाउन आएको’ भनेर कुरा काट्छन् कि भन्ने रहेछ शैलेशलाई, तर त्यसो भएन । गाउँलेबाट पाएको अपार मायाले उनी दंग छन् !
नित्य पूजाको लागि बिरौटामा थोरै खेत दिएर डाँडाबारीका घिमिरे परिवारलाई पहिले नै जिम्मा दिइएको थियो, उनका सन्तानले त्यसलाई निरन्तरता दिंदैरहेछन् । अग्नि जुराएर महादेव थानमा पूजा–आजा गर्ने निर्णय पनि भयो ।
आज उनीहरू डाँडागाउँको गोल्मेश्वर जनता उच्च मा.वि.मा गएका छन् । त्यहाँ गरीब तथा जेहेन्दार विद्यार्थीहरू जसले शुल्क तिर्न नसकेर आफ्नो पढाइलाई निरन्तरता दिन सकिरहेका छैनन्, त्यस्ता विद्यार्थीलाई सहयोग गर्ने उद्देश्य छ । जुन स्कुलमा पढेर करिब पचास वर्ष पहिले शैलेशले कक्षा ५ पास गरेका थिए ।