नेकपा (एमाले)बाट छुट्टिएर नेकपा (एकीकृत समाजवादी) पार्टीले कानूनी मान्यता पाएको भोलिपल्ट बिहीबार प्रदेश १ मा भीम आचार्य मुख्यमन्त्री नियुक्त हुनु भएको छ । प्रदेश १ को सभामा नेकपा (एकीकृत समाजवादी) पार्टीमा खुलिसकेका नेताहरूलाई समेत एमालेकै सांसद्को रूपमा गणना गरेर प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आचार्यलाई मुख्यमन्त्रीमा नियुक्त गर्नु भएको थियो । यसै विषयमा नेकपा एकीकृत समाजवादी पार्टीका नेता राजेन्द्र राईसँग गरेको संक्षिप्त कुराकानीः
सरकार परिवर्तन भएको छ, यसलाई कसरी हेर्नुहुन्छ ?
– यो गैह्र कानुनी गैह्र संवैधानिक हो । दल फुटिसकेपछि सांसदहरुलाई दल छनौटका लागि २१ दिनको म्याद दिइएको छ । त्यो भनेको चाहीं एक हिसाबले चुनावको मत गने जस्तै हो । अब केपी पक्षको कति, माधव पक्षको कति भनेर सांसदहरूको गणना सुरु भयो । अब चुनावमा जसरी मत गन्दागन्दै कसैलाई विजयी भनेर अकस्मात घोषणा गर्न मिल्दैन, त्यस्तै अहिले उता बहुमत हुुन्छ कि एकीकृत समाजवादीको बहुुमत हुन्छ भन्ने विषय २१ दिनपछि थाहा हुन्छ । उनीहरुले एउटा पार्टीको बहुमत छ भनेर जुन धारा टेकेर ग¥यो, त्यो कुरा चाहीं अहिलेसम्म पुष्टि भइसकेको छैन । त्यसैले यो गैह्र संवैधानिक छ । अब दोस्रो चाहींँ फोटो टाँस्ने । १ महिना वा २५ दिनका लागि भएपनि इतिहासमा मुख्यमन्त्री भएर नाम राख्ने, फोटो टाँस्ने सोचाईले यस्तो भयो होला । तर, एमाले सरकार दुई दिनमा अल्पमतमा पर्ने छ ।
अब तपाईहरुको आगामी रणनीति के हुन्छ ?
– अब हामीले २१ दिनसम्म खासगरी सकेसम्म धेरै साथीहरूलाई नेकपा एकीकृत समाजवादीमा समावेश गर्ने प्रयास गर्छौं । निर्वाचन आयोगमा निवेदन दर्ता गर्ने र सनाखत गर्ने काममा लाग्छौं । यस्तै अहिले नेकपा एमाले अल्पमतमा देखिने संख्याको निवेदन दिइसकेपछि हामी त्यो सरकारको राजीनामा माग्ने काम गर्छौं । २१ दिनअगाडि यो अविश्वासको प्रस्तावमा जाने प्रक्रिया नखुल्ने भएकाले हामी चाहिंँ अहिले राजीनामा माग्ने तहमा मात्रै जान सक्छौं ।
निर्वाचन आयोगमा निवेदन दिन कति समय लाग्छ ?
– यसमा किस्ता किस्तामा पनि दिन सकिने भएकाले पहिलो पटकमै हामी यता गठबन्धनको बहुमत देखिने गरि उता एमालेको अल्पमत देखिने गरि १/२ दिनमा त्यो दर्ता गरिसक्छौं ।
तर, नवनियुक्त मुख्यमन्त्री भीम आचार्य हिंजोका दिनमा तपाईहरुसँगै एउटै टीममा रहनुभएको थियो । उहाँले बहुमत मसँगै रहन्छ, म सुरक्षित गर्छु भन्नुभएको छ त ?
-उहाँले यस्तो खालको अवस्था थियो भन्ने यत्रो हतार गर्नुहुन्न थियो । संविधान र नियम मिच्ने काम गर्नुभएको छ । उहाँलाई त कस्तो छ भने, संख्या चाहींँ पुगेको छैन, पुग्दैन भन्ने पनि छ । तर, मुख्यमन्त्री भएर कसैलाई मन्त्री दिँदाखेरि तानेर बहुमत पु¥याउन सकिन्छ कि भन्ने झिनो आशा होला । यसअघि पनि पटकपटक उहाँले मुख्यमन्त्री हुने, दलको नेता हुने प्रयास गर्नुभयो । तर, जहिले पनि उहाँको अनुमान फेल खाने भएको हुनाले उहाँ कहिल्यै सफल हुनुभएन । यसपटक पनि उहाँको गणित र अनुमान फेल खान्छ ।
एमालेको बिहीबार बसेको संसदीय दलको बैठकमा तपाईहरुसँग भएका ८ जना सांसदको उपस्थिति देखियो । त्यो आधारमा पनि उहाँले नभ्याएर आज नआएका हुन् । त्यो भएर अझै थप हुन्छ । त्यसैले उता संख्या पुग्दैन २, ३ जनाभन्दा भन्ने कुरा पनि छ नि ?
– यो बीचमा सांसदहरुसँग लामो छलफल भइसकेको छ । हामीसँग रहनुहुन्छ भनेर अनुमान गरेका सांसदहरुमध्ये कोही पनि बिहीबारको संसदीय दलको बैठकमा जानुभएको छैन । त्यो भएर जो बिहीबारको बैठकमा अनुपस्थित हुनुहुन्थ्यो, उहाँहरु हाम्रो साथमा हुनुहुन्छ । साथै उहाँहरु (एमालेमा)को साथमा रहेका ५, ७ जना साथीहरुसँग समेत हाम्रो कुराकानी भइरहेको छ । केहीले साथ दिने सम्भावना पनि छ ।
– प्रदेशको भावी मुख्यमन्त्रीमा तपाईको नाम पनि बाहिर आएको छ । गठबन्धनभित्र त्यस विषयमा छलफल अघि बढेको छ वा छैन ?
केन्द्रमा चाहीँं यस विषयमा छलफल अघि बढेको छैन । प्रदेशका संसदीय दलका नेताहरुसँग मेरो कुराकानी भइरहेको छ । यसमा ३ वटा प्रदेशमा माओवादीको मुख्यमन्त्री भइसकेको तथा एउटा प्रदेश र केन्द्रको सरकार प्रमुख चाहीँं कांग्रेसको भएको हुनाले बाँकी प्रदेशमा माधवकुमार नेतृत्वको नेकपा एकीकृत समाजवादीको मुख्यमन्त्री हुने सबैको अनुमान छ ।