अनिल यादव
नवलपरासी । पश्चिम नवलपरासीमा हिजो (शुक्रवार) आएको बाढी गत २८ वर्ष (२०४५ साल) यताकै सबैभन्दा ठूलो भएकाे स्थानीयले बताएका छन् । अविरल वर्षाका कारण आएको बाढी सदरमुकाम लगायत नवलपरासीको सबै क्षेत्र जलमगन भएको छ ।
भदौ १० गते राती पहाडी र तराई भेगमा अविरल वर्षाले सानादेखि ठूला नदीहरु उर्लेका थिए । गत बिहीवार राति ८ बजेदेखि नै लगातार पानी परेको थियो । अविरल वर्षाकै कारणले नदीहरुमा आएको बाढी उर्लेपछि पश्चिम नवलपरासी जलमगन भएको छ । राति २ बजेको समयमा घरभित्र पानी पस्न शुरु भएपछि स्थानीयहरु आतिएका थिए ।
रामग्राम नगरपालिका वडा नं. १ सहुवाटिकरबाट सदरमुकाममा पानी पसेको थियो । एक्कासी नदी फुटेर गाउँबस्तीमा बाढी पस्न थालेपछि स्थानीयहरुले ज्यान जोगाउन घरको माथि र सुरक्षित ठाँउ भाग्न थालेका थिए । यसरी एकैछिनमा घर ताल बन्दा घरभित्र रहेका खद्यान्नलगायत लताकपडासमेत बचाउन नसकेकाे स्थानीयले बताएका छन् ।
यस्तै जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालय, नेपाली सेनाकाे गण, सरकारी वकिल कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय, शिक्षा ईकाई कार्यालयसमेत डुबानमा परेका छन् । जिल्ला प्रहरी कार्यालयमा ६ फिटभन्दा माथि पानी जमेकाे छ । त्यस्तै, किराना पसल, पुस्तक पसल, मेडिक, खद्यान्न उद्योग लगायत डुबानमा परेको छ ।
दुईको मृत्यु, एक जना बेपत्ता
बाढीले दुई जनाकाेको मृत्यु भएकाे छ भने एक जना अझै बेपत्ता भएका छन् । रामग्राम नगरपालिका वडा नंं. १८ पम्फापुरका ३८ वर्षिय विनोद पासी र उनका १३ वर्षिय छोरा प्रमोद पासीको बाढीमा परेर मृत्यु भएकाे छ । बाढीबाट बच्नका लागि बुबाछाेरी सुरक्षित ठाँउमा जान लाग्दा बाढीमा डुबेर दुबै जनाकाे मृत्यु भएकाे रामग्राम नगरपालिकाका मेयर नरेन्द्र कुमार गुप्ताले बताउनुभएको छ ।
यस्तै सुनवल नगरपालिका वडा नं. १३ कि ऐरिसा तमाङ बाढीमा बेपत्ता हुनुभएकाे छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी राजु लामाका अनुसार सुरक्षित स्थानतर्फ जान लाग्नुभएकी उहाँकाे खाेजी कार्य जारी छ ।
बाढीका कारण के कति क्षति भयाे भन्ने एकिन भइनसकेकाे भएपनि स्थलगत अवलाेकनबाट कराेडाैंकाे सम्पत्ति नष्ट भएकाे अनुमान गरिएकाे छ ।