जुद्ध चौधरी,
कञ्चनपुर। अविरल वर्षाका कारण शुक्रवार आएको बाढीले घर डुबानमा परेका पुनर्वासका पीडितहरूलाई नेपाल रेडक्रस सोसाईटी र पुनर्वास नगरपालिकाले स्वास्थ्य सामग्री वितरण गरेको छ ।
शनिवार भिमसेन बाबा सत्सँग भवनमा एक कार्यक्रमका बीच सो सामग्री पीडितहरुलाई वितरण गरिएको हो ।
पीडितलाई मास्क, सेनिटाईजर, साबुन, जीवनजल, सिटामोल लगायतका स्वास्थ्य सामग्री वितरण गरिएको थियो । बाढीले पानीको मुहान दुषित भई टाईफाईड, पखाला, रुघाखोकि, टाउको दुखाई आदि रोगहरु लाग्न सक्ने हुनाले पिउने पानीलाई शुद्धिकरण गरी या पीयूष मिसाएर पानी प्रयोग गर्नुपर्ने पुनर्वास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर धामीले बताउनुभयो ।
स्थानीय दोँदा नदीमा अप्रत्यासित रुपमा शुक्रवार राति ३ बजे आएको बाढीले लालझाडी गाउँपालिका, बेलौरी नगरपालिका र पुनर्वास नगरपालिकामा जनजीवन अस्तब्यस्त बनाएको थियो ।
बाढीका कारण पुनर्वासको सिम्रीमा ६० घर धुरी, पचकडियामा ६ घरधुरी, चकमलीमा ६ घरधुरी, रातोतालमा ४ घर गरी ७६ घर डुबानमा परेका थिए । अहिले घरमा पसेको पानी सुकिसकेको भए तापनि घरभित्र हिलो जमेका कारण बस्न सकिने अवस्था नरहेको स्थानीयकाे भनाइ छ । बस्न समस्या भएपछि पीडित हरू आफन्तको घरमा बस्न बाध्य भएका छन्।