डोटी । सुदूरपश्चिम प्रदेशको प्रमुख पर्व गौरा आज धुमधामका साथ भित्रयाइएको छ । सुदूरपश्चिममा मनाइने विभिन्न चाडपर्वमध्ये गौरा पर्वलाई विशेष महत्वका साथ लिने गरिन्छ । आज आइतबार यहाँका हिन्दू महिलाले नजिकै रहेका खेतबाट गौरालाई गौराघरसम्म भित्र्याएका हुन् ।
सप्तमीका दिन साउँ (एक प्रकारको वनस्पति) बाट पार्वतीको प्रतीकका रुपमा गौराको मूर्ति बनाई भित्र्याएक हुन् । गौरालाई खेतबाट बाजागाजाका साथ महिलाले गौराघरसम्म भित्र्याउने चलनअनुसार डोटीसहित समग्र सुदूरपश्चिममा गौरा भित्र्याइएको सायल गाउँपालिकाका ज्यातिस तथा पण्डित चेजराज जोशीले जानकारी दिनुभयो ।
उहाँका अनुसार सप्तमीका दिन गौरा देवी भित्र्याएपछि अष्टमीका दिन दुबोको पूजासहित गौरा र महेश्वरको विवाह गरिन्छ । गौरालाई अष्टमीका दिन पूजाआजा गर्दै, माङ्गल गानमा नचाइन्छ । गौरा भगवान् शिवकी पत्नी, हिमालयकी छोरीलाई हुन् । गौरीले कडा उपासना गरी शिवलाई पतिका रुपमा प्राप्त गरेको स्मरणमा सुदूरपश्चिम प्रदेशमा गौरा मनाइने चलन रहेको जोरायल गाउँपालिका–५ का पुजारी डिल्लीराज जोशीले बताउनुभयो ।
गौरापर्व यहाँका डडेल्धुरा, बैतडी, दार्चुला, अछाम, बझाङ, बाजुरा, कैलाली, कञ्चनपुर तथा डोटीमा मनाउने चलन रहेको छ । गौरा पर्व यस क्षेत्रको मौलिक पर्व मात्र नभई आपसी सद्भाव बढाउने पर्व भएको स्थानीयवासी बताउँछन् । कामका लागि जिल्ला छोडेर विदेशिएका पनि घर फर्किरहेकाले यहाँका गाउँघरमा अहिले चहलपहल बढ्दै गएको केआइसिंह गाउँपालिकाका स्थानीयवासी शेरबहादुर ऐरले बताउनुभयो ।
स्थानीय प्रशासनले कोरोना सङ्क्रमणको जोखिम जिल्लामा कायमै रहेको भन्दै गौरा पर्वमा भिडभाड हुने गरी डेउडालगायतका खेलहरु नखेल्न सबैमा आग्रह गरेको छ । जिल्ला प्रशासनले एक सार्वजनिक सूचना प्रकासित गरी गौरादेवीको सामान्य पूजाआजा गरी समापन गर्न तथा भिडभाड नगर्न आग्रह गरेको हो ।