काठमाडौं । उदीयमान अभिनेत्री तथा मोडल साक्षी लम्साल सम्मानित भएकी छिन् ।
कला क्षेत्रमा उनले देखाएको सक्रियता र प्रतिभाको कदर गर्दै रिबन इन्टरटेनमेन्टले एक समारोहकाबीच युवा प्रतिभा लम्साललाई चलचित्रकर्मी सम्मान प्रदान गरेको हो । लम्सालले दर्जनबढी म्यूजिक भिडियोका साथै केही नाटक र चलचित्रमा समेत अभिनय गरेका छन् । उनले जनता टेलिभिजन र कान्तिपुर टेलिभिजनमा भिजेका रुपमा समेत काम गरिसकेकी छिन् ।
सातौं वार्षिकोत्सवको अवसरमा रिबन इन्टरटेनमेन्टले राजधानीमा शनिवार आयोजित विशेष कार्यक्रममा लम्सालसँगै विभिन्न कलाकर्मी तथा समाजसेवीहरु पनि सम्मानित भएका छन् ।
सम्मानित हुनेमा अभिनेता धिरेन शाक्य, चलचित्र निर्देशकहरू सुदर्शन थापा, राजेन्द्र उप्रेती, राजु अधिकारी, म्युजिक भिडियो निर्देशक विधान कार्की, रंग पत्रकार जीवन पराजुली, गीतकार दयाराम पाण्डे, संगीतकारहरू अर्जुन पोखरेल, दीपक शर्मा, समाजसेवी अनुप के। बराल, रंग संयोजक रेनिश फागो, व्यवसायी बालकृष्ण पोखरेल, फेशन कोरियोग्राफर अश्विनी कान्त झा, रेडियो कार्यक्रम प्रस्तोता महेश लिम्बू, कलाकारहरू प्रेम पाण्डे, प्रदीप बास्तोला, गायिका सरिता भारती लगायत छन् ।
सम्मानित व्यक्तित्वहरूले आआफ्नो क्षेत्रमा राष्ट्रिय स्तरमा उत्कृष्टता हासिल गरेका कारण सम्मानित गरिएको रिबन इन्टरटेन्मेन्टका अध्यक्ष निशु झाले बताउनुभयो ।