काठमाडाैं । सिसडोल ओखरपौवाका स्थानीयले बिरोध जनाएपछि अहिले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट निस्किने फोहोर थुप्रिएको छ । २ वर्षका लागि मात्रै काठमाडौंको फोहोर बिसर्जन गर्ने भनिएको सिसडोलमा १४ वर्ष पुगिसक्दा समेत फोहोर फालिँदै आएपछि त्यहाँका स्थानीयले यसको बिरोध गरेका हुन् ।
स्थानीयको बिरोधपछि अहिले काठमाडौंको फोहोर केही समय यता उठ्न सकेको छैन । सरकारले मानव बस्तीको बीचमा फालिएको फोहोरको उचित व्यवस्थापनमा लापरबाही गरेको स्थानीयहरुको गुनासो छ । स्थानीय परशुराम अर्यालका अनुसार ओखरपौवामा १४ वर्षसम्म फालिएको फोहोर व्यवस्थापन गर्न नसक्दा ठूला समस्याहरु देखा पर्न थालेका छन् ।
फोहोरको पानी चुहिएर खोलामा जाने र त्यही पानी गाईवस्तुलाई खुवाउनु र बालीनालीमा लगाउनु पर्ने बाध्यताले विभिन्न रोगहरु पैदा भइरहेको स्थानीयवासी अर्यालले बताउनुभयो । उहाँले फोहोरका कारण मानव बस्ती प्रभावित भइरहेकाले सरकारले त्यहाँको उचित व्यवस्थापन गरिदिनुपर्ने उहाँको भनाइ छ । अर्यालले सरकारले जग्गा अधिकरण गरेर बस्ती हटाउने वा त्यहाँको फोहोर व्यवस्थापन गर्ने र अब बञ्चरे डाँडामा फोहोर लग्ने व्यवस्था नमिलाए निकट भविष्यमै ठूलो दुर्घटना निम्तिने बताउनुभयो ।
स्थानीयवासी अर्यालले भन्नुभयो, “यो एकदमै कठीन छ, स्थानीय मान्छेहरु विशेष गरी ककनी गाउँपालिका वडा नम्बर २ जहाँ फोहोरको बिसर्जन अहिले अस्थायी रुपमा भइरहेको छ, यो २ वर्षका लागि मात्रै भनेर नेपाल सरकारले जिम्मा लिएको तर १४ वर्ष यहीँ फालिसक्यो । १४ वर्ष यसरी फोहोर फाल्दै गर्दा फोहोरको अव्यवस्थापन भइरहेको छ । व्यवस्थापन हुन नसक्दा धेरै ठूलो समस्याहरु देखा पर्दै आइरहेका छन् । नेपाल सरकार वा मन्त्रालय कसको जिम्मेवारी हो, उहाँहरुले व्यवस्थापन गर्नुपर्यो । सँगैकाे बस्ती फोहोरले गर्दा प्रभावित भएको छ, त्यसलाई अधिकरण गरेर, कि त यहाँबाट बस्ती नै हटाए मात्रै यसको समाधान निस्केला नत्र यसले भविष्यमा धेरै ठूलो असर धेरै ठूलो दुर्घटना ननिम्तेला भन्न सकिँदैन ।”
काठमाडौं महानगरपालिकाका वातावरण विभाग प्रमुख हरीकुमार श्रेष्ठले सिसडोलमा फोहोर फाल्न अब नसकिने भन्दै सबै निकायले छिटो भन्दा छिटो आफ्नो काम गरेर बञ्चरे डाँडामा फोहोर व्यवस्थापन गर्न सक्ने व्यवस्था मिलाउनु पर्ने बताउनुभयो । उहाँले कोभिड–१९ का कारण केही समस्याहरु आइरहेको बताउँदै सबै राज्य संयन्त्र मिलेर काम अघि बढाउनुको विकल्प नरहेको बताउनुभयो । प्रमुख श्रेष्ठले सिसडोलका स्थानीयको मागलाई सम्बोधन गर्ने गरी काम अघि बढाइने बताउनुभयाे ।