काठमाडाैं । कोरोनाको कारण २ वर्ष यता रोकिएको चित्रकला प्रदर्शनी शुरु भएको छ । इ आर्ट्स नेपालको आयोजनामा आज (सोमवार) देखि आर्ट काउन्सिल बबरमहलमा चित्रकला प्रदर्शनी शुरु भएको हो ।
कोरोनाको कारण केही समय यता सुनसान रहेको माहोललाई उर्जावान बनाउनका लागि चित्रकला प्रदर्शनी गरेको चित्रकार एरिना ताम्राकारले बताउनुभयो । उहाँले कोरोनाका कारण चित्रकारहरुको कला घरमै मात्र सिमित रहेको भन्दै त्यसलाई थप उर्जावान बनाएर गति प्रदान गर्न यसले महत्वपूर्ण भूमिका खेल्ने आशासहित आयोजना चित्रकला प्रदर्शनी गरिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘कोरोनाका कारण धेरै जना सिनियर आर्टिस्टहरुलाई समेट्न पाएनौँ, डाइरेक्ट ग्यालरिमै पेन्टिङ पुर्याउनेहरुलाई मात्र समेटेका छौँ । यस वर्ष हामीले हिमालयन आर्ट एग्जिबेशन मात्रै गर्यौं, तर गत वर्षहरुमा दशैँअघि हिमालय आर्ट फेस्टिबल गथ्र्यौं । तर यस वर्ष यस्तो पेण्डामिक समयमा सहज छैन, यो वर्षको लकडाउनले हामीलाई निराश बनाएको छ, काम गर्ने मूड नै छैन, हामीले पेन्टिङ नकोरी समस्या हुन्छ, त्यसैले यस्तो बेलामा पनि काम गर्दै जाउँ भनेर गरेका हौँ, सबैलाई समस्या नै छ, आर्टिस्टलाई मात्रै होइन, सबैलाई यस्तै छ, तर आर्टिस्टलाई झनै समस्या छ, त्यसैले यस्तो बेलामा पनि फेस्टिबल आयोजना गरेका हाैं ।’
प्रदर्शनीमा ब्याबसायिक चित्रकार प्रमिला बज्राचार्यले कोरोना केही सामान्य भएको अवस्थामा नेपाली चित्रकारहरुलाई केही सहज होस् भनेर यो प्रदर्शनी गरेको बताउनुभयो । प्रदर्शनीमा ६० भन्दा धेरै ब्यावसायिक चित्रकारहरु उपस्थित रहेको बताउनुभयो ।
चित्रकला प्रदर्शनीमा सहभागि चित्रकार सञ्जु श्रेष्ठले अनलाइनबाट प्रदर्शनी गर्नुपर्ने बाध्यतालाई चिर्दै भौतिक उपस्थितीमै चित्रकला प्रदर्शनी गर्न पाउँदा खुशी महशुस गरेको बताउनुभयो । उहाँले यसरी भौतिक उपस्थितीमै गरिने प्रदर्शनीले चित्रकारहरुमा शक्ति, जोश र जाँगर आउने बताउनुभयो ।
हरेक वर्षको दशैँअघि गरिँदै आएको चित्रकला प्रदर्शनीमा कोरोना भाइरसको डरले यसवर्ष धेरै जना ठूला चित्रकारहरुलाई समेट्न नपाइएको उहाँले बताउनुभयो ।
आज (सोमवार) भाद्र १४ गतेबाट शुरु भएको चित्रकला प्रदर्शनी भाद्र २० गते आईतवारसम्म चल्नेछ बताइएकाे छ ।