धनकुटा । पछिल्लाे समय धरान–धनकुटा–हिले सडक–खण्डमा यात्रा गर्न जोखिम बढेको छ । टेलिकमले फाइबर बिछ्याउने क्रममा धरान–धनकुटा सडक–खण्डमा दर्जनौं स्थानमा कालाेपत्रे तोडेका कारणा वर्षायामले गर्दा झन् ठूला–ठूला खाल्डो परेकाले सडकमा यात्रा गर्न जोखिम बढेको हो ।
दर्जनौं स्थानमा सडक खाल्डा परेका कारण साना सवारी साधन, २ पाङग्रे सवारी साधन र बिरामी बोक्ने एम्बुलेन्सहरू दुर्घटनामा पर्न थालेका छन् । टेलिकमले धरानदेखि धनकुटाको हिलेसम्म करिब ६७ किलोमिटर सडकमा आव ०७७/०७८ को असार मसान्तमै फाइबर बिछ्याएर सकेको छ । एकातिर वर्षाको समय भएकाले पनि सडकमा खाल्डा दिन प्रतिदिन बढ्दै ठूलो भएकै कारण बढी दुर्घटना हुने खतरा बढेको पाइएको छ ।
कोभिडको महामारीको समयमा बिरामी बोकेर हिँड्ने एम्बुलेन्सलाई सबैभन्दा बढी जोखिम बढेको एम्बुलेन्स चालक सविन लिम्बूले बताउनु भयाे । बिरामीलाई चाँडोभन्दा चाँडो उपचार सेवा दिन एम्बुलेन्स तीव्र गतिमा कुदाउनु पर्ने अवस्थामा सडक खाल्डो परेका कारण यात्रामा जोखिम बढेको उहाँकाचे भनाइ छ ।
नेपाल टेलिकमले सडक भत्काउनुभन्दा पहिले नै डीपीआर गरेर कति क्षेत्रफल भत्काउनु पर्ने हो, स्टिमेटमा आए बमोजिमको बजेट पहिले नै सडक विभागको खातामा जम्मा गरिसकेको नेपाल टेलिकम धनकुटा शाखाका प्रमुख ज्ञाननाथ सापकोटाले जानकारी दिनु भयाे । सडक विभागलाई भत्किएको सडक मर्मत गर्नको लागि पैसा जम्मा गरेको १ वर्षभन्दा बढी भइसकेको तर, अहिलेसम्म बाटो नबनेको उहाँकाे भनाइ छ । टेलिकमले पैसा जम्मा नगरेसम्म सडक भत्काउन त के छुन पनि नदिएको सापकोटाले बताउनु भयाे ।
भत्किएको सडक मर्मत गर्ने दायित्व सडक विभागको भएको र सडक मर्मत गर्न टेण्डर खुलाउन आवश्यक प्रक्रिया अघि बढाउने काम भइरहेको सडक डिभिजन कार्यालय धनकुटाका प्रमुख दानबहादुर शाक्यले बताउनु भयाे । आफू कार्यालयको कामले काठमाडौं गएको जानकारी दिँदै फाइबर लाइन बिछ्याउँदा भत्किएको सडक चाँडै मर्मत हुने आश्वासन टेलिफोनमार्फत् शाक्यले दिनु भएकाे छ । वर्षायाम भएकाले सडक मर्मत गर्ने कार्य केही ढिला भएको स्वीकार्दै उहाँले छट्टै मर्मतकाे काम हुने बताउनु भएकाे छ ।
नेपाल टेलिकमले फाइबर लाइन विस्तार गर्ने क्रममा तोडिएको कालाेपत्रे सडक विभागले समयमा मर्मत नगर्दा खाडल झन ठुला बन्दै गएका छन् । सवर्साधण भने सडक विभागले बेवास्ता गरेका कारण सडक मर्मतकार्य ढिला भएकाे आराेप लगाउँदै आएका छन् ।