काठमाडौं । प्रशासनले काठमाडौं उपत्यकाका फिल्म हलहरु खोल्न दिने निर्णय गरेको छ ।
बुधवार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका सीडीओहरुको बैठकले कोभिड प्रोटोकल पालना गर्दै फिल्म हल खुलाउन अनुमति दिने निर्णय गरेको हो ।
स्मार्ट लकडाउनको कार्यविधिअनुसार स्वास्थ्य मापदण्ड पालना गर्दै फिल्म हल खुलाउन अनुमति दिइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले बताउनुभयो ।
प्रशासनले निर्णय गरेपनि फिल्म हलहरु तत्काल खुल्ने अवस्था नरहेको सञ्चालकहरुको भनाइ छ । लामो समय फिल्म क्षेत्र ठप्प रहेकोले तत्काल नै हल सञ्चालन गर्नसक्ने अवस्था नरहेको क्यूएफएक्स संचालक नकिम उद्दिनले बताउनुभयो ।
कोरोना भाइरसको त्रास बढेपछि गत साल चैत ११ गतेबाट सरकारले देशव्यापी लकडाउन घोषणा गरेको थियो । तर सिनेमा हलचाहिँ त्यसको ६ दिन अगाडिबाटै बन्द गरिएको थियो । त्यसो त फागुन मध्यबाटै हलमा सुक्खा लाग्न थालिसकेको थियो । त्यसअघि पनि हल खुल्ला रहे पनि जेनतेन चलिरहेको थियो । ठूलो लगानीका र आशा गरिएका फिल्महरुले रिलिज गर्ने आँट नगर्दा झण्डै २ वर्षदेखि थन्किरहेका छन् । ती फिल्महरुले ओटीटी प्लेटफर्मलाई पनि विश्वास गर्न सकेनन् ।
चलचित्र निर्माता संघका अनुसार कोरोनाबाट प्रभावित चलचित्रको संख्या एकसयभन्दा बढी रहेको छ । संघले त्यस्ता १ सय ५ फिल्मको सूची चलचित्र विकास बोर्डलाई बुझाइसकेको छ । त्यसमा केही फिल्महरु त दुई–चार वर्षअगाडि नै बनेर प्रदर्शन हुन बाँकी फिल्म छन् ।
प्रदर्शनोन्मुख फिल्महरूमा ‘प्रेमगीत ३’, ‘म यस्तो गीत गाउँछु २’, ‘सम्हालिन्छ कहिले मन’, ‘सुस्केरा’, ‘चपली हाइट ३’, ‘लक्का–जवान’, ‘माइकल अधिकारी’, ‘चिसो एस्ट्रे’ 'नीरफूल' लगायतका छन् । त्यस्तै, ‘२ नम्बरी’, ‘गुञ्जन’, ‘देशान’, ‘३ जन्तु’, 'किया' लगायत झन्डै एक दर्जन फिल्मको छायांकन अधुरै छ ।