काठमाडौं । काठमाडौँ महानगरपालिका–१९ का वडाध्यक्ष शशिलाल श्रेष्ठको निधन भएको छ । खाना खाने नलीको क्यान्सर रोगबाट पीडित ६५ वर्षीय श्रेष्ठको बिहिबार दिउँसो नर्भिक अस्पतालमा निधन भएको हो ।
श्रेष्ठलाई तीन महिनाअघि मात्र खाना खाने नलीको क्यान्सर रोग पत्ता लागेको थियो । बिहानसम्म साविक झैँ कुराकानी गर्नुभएका श्रेष्ठलाई दिउँसो २ बजेपछि रोगले चापे पछि अस्पताल लगिएको थियो ।
काठमाडौंमा शुक्रबार शोक बिदा
काठमाडौंमा शुक्रबार बिदा हुने भएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर १९ का वडाअध्यक्ष शशीलाल श्रेष्ठको निधनमा शोक बिदा दिइएको हो ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीका अनुसार वडाध्यक्ष श्रेष्ठको निधनमा महानगरले शुक्रबार एक दिन शोक विदा दिने निर्णय गरेको हो ।
उहाँको शव बिहान ८ बजे अस्पतालबाट अन्तिम श्रद्धाञ्जलीका लागि वडा कार्यालयमा लगिने बताइएको छ । विहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म वडामा राखेपछि अन्तिम संस्कारका लागि पशुपतिमा लगिने, वडा सदस्य चन्द्रमान डंगोलले जानकारी दिनु भयो । श्रेष्ठका श्रीमती ३ छोरी र १ छोरा छन् ।
२०१३ साल पुस १४ गते जन्मिनु भएका श्रेष्ठलाई गएको डेढ महिनाअघि खाना नलीमा क्यान्सर देखिएको थियो । यसको उपचारका क्रममा उहाँलाई दोस्रो चरणको किमो दिइसकिएको थियो ।
विद्यार्थीकालदेखि नै नेपाल विद्यार्थी सङ्घको राजनीतिमा सक्रिय रहनु भएका श्रेष्ठ २०४९ सालको स्थानीय निकाय निर्वाचनदेखि वडाध्यक्ष निर्वाचित हुनु भएको थियो । विसं २०५४ र २०७४ स्थानीय निर्वाचनमा पनि नेपाली काँग्रेसबाट उम्मेदवार भई श्रेष्ठ वडाध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो । पञ्चायतकालमा पनि उहाँ वडा सदस्य पदमा निर्वाचित हुनु भएको थियो ।