झापा । अन्तरजातीय बिहेका कारण झापा बिर्तामोडकी सीता ढुंगाना २ दशकदेखि विभेद खप्न बाध्य रहनु भएकाे छ । दलितसँग विवाह गर्नु भएकी उहाँलाई परिवारले निरन्तर अवहेलना गरिरहेको हाे।
आफ्नै बिहेदेखि बाबुको निधनसम्म ढुंगानाले विभेदको सामना गर्नु परिरहेको छ। ढुंगानाका बाबु धर्मानन्दको गत भदौ ७ गते ९३ वर्षको उमेरमा निधन भयो । तर, सीतालाई बाबुको मुख हेर्न पनि दिइएन। सीताका ४ दिदीबहिनीमध्ये जेठीको पहिल्यै मृत्यु भएको हो। माहिँली र कान्छी दाजुभाइसँगै बसेर बाबुको काजकिरिया गरिरहेका छन्। तर, साहिँली सीतालाई भने ढुंगाना परिवारले सहभागी गराएका छैनन्। उहाँ बिर्तामोडस्थित आफ्नै घरमा बाबुको काजकिरिया गरिरहनु भएकाे छ ।
सीताका तीन दाजुमध्ये माहिला र कान्छा शिक्षक छन् । तर, जातीय विभेदविरुद्धको अभियानमा उनीहरूको पनि चेत फिरेको छैन। घरपरिवार र समाजले गरेको विभेद सहन नसकेर पाँचथरको रानीगाउँबाट झापा झर्नु भएकी सीता २१ वर्षदेखि उही नियतीको सामना गरिरहनु भएकाे छ । श्रीमान् छविलाल विश्वकर्माले उहाँलाई साथ दिनु भएकाे छ । २०५७ पुस ५ गते उनीहरूको प्रेम विवाह भएको थियो। सीतालाई माइतीपक्षले आजसम्म स्वीकार गरेको छैन।
सीता अखिल नेपाल महिलासंघ झापाको कार्यालय सचिव समेत रहनु भएकाे छ भने छविलाल एमाले झापाका प्रभावशाली नेताका रूपमा रहनु भएकाे छ ।
ढुंगानाले बिहेदेखि बुबाको मृत्युसम्म सधैँ अपमान र तिरस्कार भोग्नु परेको छ । उहाँलाइ बुवाकाे मृत्युकाे खवर सम्म पठाइएन ।फेसबुकबाट बुवा खसेको थाहा पाएकाे तर आउँछु भन्दा नआउँदा राम्रो भन्दै खबर पठाइएकाे उहाँ बताउनु हुन्छ । यो विभेदको अन्त्यहीन श्रृंखला कहिलेसम्म चलिरहने हो, सामना गरिरहने उहाँले बताउनु भयाे । छविलाल आजसम्म ससुराली पुग्नु भएकाे छैन भने छोरा विपुल २० वर्षकाे भइ सक्दा पनि उहाँकाे मावली जाने उनको रहर पूरा भएको छैन।
कुसंस्कारविरुद्ध लड्न अहिले पनि मुस्किल रहेको एमाले नेता छविलाल विश्वकर्माकाे भनाइ छ । संविधानमा सबै समान भनेर लेखियो, तर व्यवहारमा लागु हुन नसकेकाे उहाँले बताउनु भयाे ।
सीता दम्पतीले सहनु परेको विभेद निन्दनीय रहेको अखिल नेपाल महिला संघ प्रदेश नं १ की अध्यक्ष मेनुका काफ्लेले बताउनु भयाे । यो मानवताविरुद्धको अपराध भएकाले विभेदविरुद्ध अझै डटेर लड्न आवश्यक रहेकाे उहाँकाे भनाइ छ ।
छिवलाल र सीता राजनैतीक रूपमा परीचित नाम हुन उहाँहरूले त जातीय विभेद भाेग्नु परीरहेकाे छ भने सर्वसाधरणाकाे त के अवस्था हाेला सहजै अनुमान गर्न सिकन्छ ।