काठमाडाैं । मुलुककै जेठो त्रिचन्द्र कलेज सरकारको बेवास्ताका कारण नष्ट हुने अवस्थामा पुगेको छ । २०७२ सालको भूकम्पले भत्काएका भवनहरु समयमै पुनर्निर्माण हुन नसक्दा ऐतिहासिक एवं पुरातात्विक महत्व बोकेका कलेजका भवनहरु भत्किएर नष्ट हुने अवस्थामा पुगेका हुन् ।
भवनहरु जिर्णोद्वार हुन नसक्दा विद्यार्थीहरु जोखिम मोलेर पढ्न बाध्य छन् । त्रिचन्द्र क्याम्पस भूगर्व शिक्षण विभागका प्रमुख अनन्तप्रसाद गजुरेलका अनुसार कलेजका भवनहरुमा पानी चुहिने, गाह्रो भत्किएको र केही कक्षाहरु पूर्ण रुपमा क्षतिग्रस्त भएर ढलेको छ ।
उहाँले कलेजका भवनहरुमा २० सेन्टीमिटरसम्मको धाँजा परेको र त्यहाँ जान पनि डरलाग्ने ठाउँमा अहिलेसम्म भवनको जिर्णोद्वार नगरिदिँदा बाध्य भएर कलेजको पठनपाठन सञ्चालन गरिरहनुपरेको बताउनुभयो ।
विभाग प्रमुख गजुरेलले भन्नुभयो, ‘यो भवनको अवस्था दक्षिणपटि्ट म्याथम्याटिक्सको कक्षा सञ्चालन हुने ठाउँ पूर्ण रुपमा क्षतिग्रस्त भएर ढलेको छ, उत्तरपटि्टको भागमा भूगर्व शिक्षण विभागको ठूलो प्रयोगशाला थियो, कक्षा रुम, ल्याब रुम, जेनेरेटर राखेको रुम थियो, त्यो सबै क्षतिग्रस्त भएर २०७२ सालदेखि हामी त्यहाँ छिर्न सकेका छैनौँ ।'
विभाग प्रमुख गजुरेलले औपचारिक र उच्च शिक्षा थालनी गरेको कलेजको अवस्था अहिले दयनीय रहेको बताउनुभयो । उहाँले २०७२ सालको भूकम्पबाट जीर्ण र क्षतिग्रस्त भएको अवस्थालाई हालसम्म कतैबाट पनि प्रवलीकरण गर्न नसक्नु दु:खद् भएको बताउनुभयो । विभाग प्रमुख गजुरेलले नेपालकै इतिहास बोकेको त्रिचन्द्र क्याम्पसको भवन नबन्दा इतिहासबाटै मेटिने डर भएको बताउनुभयो ।