–पारिजात
पाप र अपराध दुवै थरीलाई छनोटपछि छनोटको कसीमा राखेर पनि यसको कुनै खास परिभाषा हुनसकेको छैन । म आफूलाई त पापी कहिल्यै ठान्दिनँ तर मेरा ढाेंग र विडम्बनाहरु ?
कानमा देववाणीहरु ठोकिन आइपुग्छ ? “एकपल्ट आफूलाई नङ्ग्याएर हेर ।” सम्झन्छु, आवरणले त मानिस यसै पनि नांगिसकेको छ भने यहाँ नांगिनुको अर्थ के हुन आउँछ ? अब अर्थ खोज्नु हुँदैन, कारण अर्थ नहुनु नै अर्थको एउटै चरम विकसित स्थिति प्रमाणित भइसकेको छ । यसैको सान्त्वनामा झुण्डिएर अल्मलिएर मानिसहरु आफ्ना समय काट्दैछन् । मलाई डर लाग्छ आफूभित्रबाट आफूलाई निकाल्न सक्तिनँ , तर मलाई नांगिनु छ । सायद यहाँ लाज पचाउनु अत्युक्ति नहोला, भित्र कता–कता एउटा मरञ्च्याँसे टुहुरो यद्यपि जिउँदै भावनाले चिच्याउँछ– मसानको एउटा आभास मात्र जब आफू भित्र संस्कार, ईश्वर र विश्वास मरिसक्छ कल्पना गर्नुहोस् । ट्रेजेडीको एक मुस्लो धूँवा, जसलाई कहीं कतै अडान दिने ठाउँ छैन । यसैले कि मानवीय मूल्य नैतिक प्रतिष्ठा र मानसिक निष्ठाका पर्खालहरु सबै भत्केर, भत्काइएका समतल भईसकेका छन्, त्यो समतल जसको अटल गरिराई हेर्न मन कहाली लाग्छ । बुझ्नुभयो, यो मैले नांगिनुको अर्थ दिएको ।
यसरी म बाहिर आउन सक्तिनँ, पटक्कै सक्तिनँ, तपाईहरु सबलाई थाहा छ कि आदिम देश हो ? यहाँ डरलाग्दा जात्रा र नृत्यहरुको जुलूस चलिरहन्छ । आदिम देश, आदिम उत्सव, आदिम मानिस र आदिम प्रवृत्ति अनायासै मेरो गालामा मुक्का वजन आउँछ शायद अपराध बोलिरहेछु ।
एकपल्ट आफ्नो नांगिने अठोटलाई फेरि समाउँदै बाहिर आउँछु सम्पूर्ण नाङ्गो तर मरेको हुँन्न अहँ , यहाँ यस्तरी हिँड्न हुँदैन, कमभन्दा कम अहंकारको एउटा झिनो ओढ्ने हुनुपर्छ केही नहोस् यी जुलूसहरुमा हत्या गर्न सक्ने क्षमता छ, मानिसको उत्थानलाई भरिस्मभूत पार्न सक्ने शक्ति छ, यो आदिम देश हो, यहाँ मलाई बाँकी राख्दैनन् ।
अस्वीकृति द्रोह होइन । हो, यो देशमा एकपल्टा एउटा वुद्ध नाम गरेको शून्यवादीले जन्म लिएको थियो र आज पर्यन्त उसको मृत्युको थोत्रा मान्यता जुलूसहरु रमाएका छन् र म यसलाई तिरस्कार गर्छु ।
यो आदिम देश हो, दन्त्य कथाकी मुखपात्री सीताको माइती घर र जसको अतित्वहीन मुर्दा कथामा जुलूसहरु धर्मरिंदै हिंडिरहन्छन् । म यसलाई पनि तिरस्कार गर्छु । संस्मरणहरु चिडियाघरमा अटाइनु पर्छन्, तर नाग्छ यो क्रुसेउ र कुरुक्षेत्र हुन नसक्ने बाँझो मूमि हो, जो आफ्ना अवधिहरुभरि झुत्रा लाशहरुमा उत्सव मनाइरहन्छन् ।
नयाँ कोयामा नयाँ झुसिल्कीराको आकार दिन सकिएन, कस्तो हाँस्यापद छ तर तीतो लाग्छ सम्झँदा । मेरी स्वास्नीलाई सुत्केरी व्यथा लागिसकेपछि आफ्नो गर्भमा रुप र आकार पाइसकेको एउटा अस्तित्वलाई जन्माउन गाह्रो परेको थियो । थाहा छ उसले के भनी ? “यस्तरी असीनपसीन भएर म मानिसको एउटा अनुहार भएको जन्तु जन्माउन चाहँदिन । हाँसो उठ्दो मैले अट्टहास गरेको छु । उसको यो विडम्बनाप्रति तर ट्रेजेडी ऊ मरी र उसले एउटा मृत जन्तुमान्छे जस्तो जन्माई । विश्वास गर्नुहोस् मेरी अज्ञात स्वास्नीको जीवनभरिको निचोड संस्मरणमा यही अन्तिम कथन मात्र मलाई गहकिलो लाग्छ, यसो भनूँ सत्य लाग्छ । उसले मान्छे जन्माउन अस्वीकार गरेकी थिई एकपल्ट र यही एउटै अस्वीकृत मात्र ऊ भित्र पनि ईश्वरत्वको आभाष हुनुको परिचय थियो । यहाँ ईश्वत्व शब्द बेढंगी हुन जाला, क्षमा गर्नुहोस् मैले मेरी अज्ञात स्वास्नीलाई मान्यता दिएँ । उसले मलाई लाछी घोषित गरी र मरेकी छ । कारण, मान्छे जन्माउन अस्वीकार गर्दा–गर्दा मैले उसलाई मान्छेकै नाक नक्शा कल्पेर गर्भाधान दिएँ । तपाईहरु मलाई बाधा दिनुहुन्न, म यस्तरी एकोहोरै नांगिएर हिँडिरहेछु । यो आदिम देश हो? मानिसहरु यहाँ धेरै जसको आँखा चिम्लन्छन् विश्वासहिनतामा मानिसको मृत्यु हुँदैन, डराउनु निषेध छ ।
मलाई यहाँ एउटा लालीगुँँरासले पुग्दैन, एउटा हिमालले पुग्दैन यी त धेरै सस्ता अस्वीकृतिहरु हुन् । यिनलाई मान्यता नदिए हुन्छ, तर मेरी सवास्नीले जस्तै यो मपनि मेलै बल पु¥याएर गरेको अस्वीकृति । म त धेरै उत्थान भइसकेको मान्छे हुँ, यसैले कि मैले आफ्नै मौलिक कामहरुलाई पनि अस्वीकार गरेको छु । तर एउटा भीषण ट्«ेजेडी यसको कुनै उपाय छैन । जन्म मृत्यु केवल अनुभूतिहीन अनुभूतिहरु मात्र हुन् र हामीहरु केवल संघर्ष र सम्भोगको तीतो र झर्कोलाग्दो अनुभूतिमा पिल्सिएर गइरहेकोछौं । शायद नाङ्किनलाई मसँग कुनै तह नै छैन नांगिन निषेध नभएरै एउटा निषेध जस्तै भइरहेछ मेरो लागि । मलाई आदिम नाच गर्न मन लाग्दैन र हेर्न पनि तर यसो भन्दैमा मेरो बचाउ हुने ठाउँ छैन, साँच्चै छैन , यसैले कि नांगिननलाई तह पनि त छैन ।
कहिले काहीं यस्तै यस्ता ठाउँहरुमा विराम चिन्ह लागिदिन्छ तर अफसोच चिन्ह लाग्दैमा कुनै कुराको अन्त्य हुँदैन । मेरा विचार श्रृत्रलाहरुमा अनायास विरामचिन्न लाग्छ । धेरै विवादास्पद गन्थनहरुलाई आफैभित्र थान्को लगाएर एक क्षणको लागि विचारशून्य भइदिन्छु, यसो भनूँ आफू यो स्थितिमा पुग्छु केही नसिद्धिएरै मभित्र एउटा विरामचिन्ह लागेको छ ।
विचार–शून्यता...
तर सधैंभरि यस्तो हुँदैन । आफूभित्र समाधान भइसक्छु र म फेरि गजमौरो भित्र पस्छु । जे भएको जे भइरहेछ त्यो यथार्थ हो र यथार्थ यत्ति नै हो कि मेरी स्वास्नी मरिसकेकी छ । धेरै वर्ष अघि र एउटा छोरो पनि म उनीहरुको मृत संस्मरणमा त्यसै झल्किरहेछु । यत्तिका बेर । यो साधारण अति साधारण घटना यस्तो धेरैलाई हुन्छ ।
यथार्थ यत्तिनै हो कि म एउटा लालीगुँरासको जंगलभित्र घुमिरहेछु । साधारणतः यसरी नै मानिसहरु धेरै घुम्छन् । मेरो यो घुमाइ कुनै ऐतिहासिक घुमाइ होइन ।
मध्यान्ह चर्किन्छ । तल फाँटमा एक धर्सो गोरेटा छर्लङ्ग देखिइरहेछ कता–कता बाजा बजेको शब्द थर्किएर कानसम्म ठोकिन आइपुग्छ देख्नु र सुन्नुको भरमा यत्ति नै छ, योभन्दा बढी केही छैन । मलाई लाग्छ, अब यहाँ केही हुने सम्भावना छैन । एउटा रुख पनि विनाकारण ढल्न सक्तैन र यो जंगलभित्र ढल्न कुनै कारण निस्केको छैन । आह म रुख भए ... एकपल्ट यस्तरी ढलिदिन्थें, अकारण र अनायास । एउटा मार्मिक असन्तुष्टिले शरीर चिरेर ल्याउँछ । र, म यसलाई विराध गर्न सक्तिनँ । थाहा छ, असन्तुष्टि हुनुको कुनै पनि अर्थ छैन , के हुन् र हाम्रा असन्तुष्टिहरु ? के जित्छु र म आफ्ना असन्तुष्टिहरु पसल थापेर ? निरर्थक ... खाली निरर्थक ।
फाँटको गोरेटोमा, जो अहिलेसम्म मध्यान्हको घाम तलतिर आफूलाई बलौटामा सुकेको गँडेउला जस्तै सुकाइरहेछ, केही काला र रंगीन वस्तुहरुको ताँती लम्कँदै आउँछ । ध्वजापताका, लिंगो यस्तैयस्तै एउटा तस्वीर जस्तै, एउटा चलचित्र जस्तै । क्रमशः गोरेटो पोतिन्छ । आदिम जुलूस ... यो अािदम देश हो । अघि म शायद डेलिरियममा बोलिरहेको थिएँ । आङमा कोर्रा बज्रन्छ । आदिम हुनुको महत्व के छ ? प्रश्न उठ्छ कहाँ ? आदिमपना त्यागेरै को के हुनसकेको छ र, जहाँ जे होस् के हुन्छ ? र को भन्न सक्छ यो विश्वको प्रारब्ध को हो? तथापि म एउटा आदिम मानिस, आदिम देशभित्र मेरो कुनै परिणति छैन र नांगिनलाई मसँग तह छैन । एउटा मार्मिक असन्तुष्टिले शरीर चिरेर ल्याउँछ ।
....