काठमाडाैं । राष्ट्रिय गौरवको आयोजना बुढीगण्डकी जलविद्युत् आयोजना क्षेत्रका प्रभावितहरुले मुआब्जा पाउन बाँकी जग्गाको तत्काल मुआब्जा वितरण गर्न सरकारसँग माग गरेका छन् ।
आइतवार बुढीगण्डकी जलविद्युत् आयोजना राष्ट्रिय सरोकार समितिले काठमाडौंमा पत्रकार सम्मलेन गर्दै बुढीगण्डकी जलविद्युत आयोजनासँग सम्बन्धित विभिन्न समस्याहरु समाधान गर्दै र मुआब्जा पाउन बाँकी जग्गाको तत्काल मुआब्जा वितरण गर्न र आयोजनाको काम छिटो सम्पन्न गर्न सरकारसँग माग गरेको हो ।
सरकारले हालसम्म बुढीगण्डकी डुबान क्षेत्रको व्यक्तिगत जग्गाको मुआब्जा मात्र दिएको तर जग्गामा बनेको घर, संरचना, फलफूलका बोटविरुवाको मुआब्जा निर्धारणसम्म नगरेको भन्दै समितिले घर, गोठ, संरचना र बोटविरुवाको यथार्थ लगत सकंलन गर्न, तत्काल मूल्य निर्धारण गरी वितरण गर्न र घर गोठ लगायतका भौतिक संरचनाको मुआब्जामा ह्रासकट्टी नगर्न सरकारसँग माग गरेको गुढीगण्डकी जलविद्युत् आयोजना राष्ट्रिय सरोकार समितिका संयोजक हरेराम ढकालले बताउनुभयो ।
उहाँले घडेरी वा सहायक मोटरबाटोले छोएको जग्गाको मुआब्जा जिल्ला मुआब्जा समितिले तोकेकै बराबर प्रतिरोपनी ७ लाख ७३ हजार रुपैयाँ दिनुपर्ने, दर्ता छुट भएको जग्गालाई भोगचलनको आधारमा मुआब्जा वितरण गर्नुपर्ने, सुकुम्बासी र ऐलानी जग्गामा बसोबास गर्नेलाई मन्त्रिपरिषद्को निर्णय अनुसार मापदण्ड बनाएर तत्काल मुआब्जा वितरण गर्नुपर्ने माग गर्नुभयो ।
बुढीगण्डकी प्रभावितहरुले मुआब्जासँग सम्बन्धित गुनासोलाई सुनुवाइ गरी डुबान क्षेत्रभित्र परेका सबै जग्गाको मुआब्जा पाउने सुनिश्चितता गर्न सरकारलाई आग्रह गरेका छन् । मुआब्जा निर्धारण समितिको निर्णय अनुसार ५ रोपनीभन्दा कम जग्गा हुनेलाई मुआब्जामा १५ प्रतिशत र १० रोपनी भन्दा कम जग्गा हुनेलाई मुआब्जामा १० प्रतिशत थप रकम दिनुपर्ने पनि आयोजना प्रभावितहरुको माग रहेको छ ।
त्यसैगरी, आयोजना प्रभावितलाई पुर्नबास तथा पुनर्स्थापनाकाे ग्यारेन्टी गरिनुपर्ने र डुबान क्षेत्रका बासिन्दाहरुलाई हाल बसोबास गरिरहेकै वडामा पुर्नबासका लागि पायक पर्ने स्थानमा जग्गा रोक्का गरिनुपर्ने सरोकार समितिका संयोजक ढकालले बताउनुभयो ।
डुबान क्षेत्रका बासिन्दाको सेयर स्वामित्व सुनिश्चित हुनेगरी बुढीगण्डकी आयोजनाको निर्माण मोडालिटी टुंगो लगाइ निर्माण कार्य अघि बढाउन माग गरिएको छ । आफूहरुले राखेको माग दश दिनभित्र सम्बोधन नगरिए माग पूरा नभएसम्म आन्दोलनको कार्यक्रम गरिने संयोजक ढकालले बताउनुभयो ।