भीम चाैधरी
धनगढी । नेकपा (एमाले) छोडेर थप तीन जनाले नेकपा (एकीकृत समाजवादी) मा सनाखत गरेका छन् । योसँगै नेकपा एमाले छोडेर नेकपा एकिकृत समाजवादीमा सनाखत गर्नेको संख्या १३ पुगेको छ ।
आइतबार एकिकृत समाजवादीकाे पक्षमा भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारी, एमालेका पूर्व प्रमुख सचेतक तारा लामा तामाङ र प्रदेश सरकारका पूर्व राज्यमन्त्री प्रकाश रावलले निर्वाचन आयोग नेपालको, प्रदेश कार्यालय, धनगढीमा पुगेर सनाखत गरेका हुन् ।
यसअघि आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का, पूर्वमन्त्री माया भट्ट, राज्यमन्त्रीहरु चुनकुमारी चौधरी, मनाकुमारी साउँद, प्रमुख सचेतक दुर्गा कुमारी कामी, प्रदेश सांसद कुलवीर चौधरी, अमरबहादुर साउद, बलबहदुर सोडारी र सुशिला बुढाथोकीले माधव नेपाल नेतृत्वको नयाँ पार्टीको पक्षमा एकिकृत समाजवादीको पक्षमा सनाखत गरेका थिए।
सनाखतपछि प्रतिक्रिया दिँदै मन्त्री सोडारीले आफूहरु प्रमुख दल बनाउनका लागि प्रयासरत रहेको बताउनुभयाे । सनाखतपछि प्रतिक्रिया दिदै अर्का प्रदेश सभा सदस्य तामाङले भने, ‘पार्टी ०७५ जेठ २ मा फर्किएको भनिएको थियो । तर, त्यस्तो निर्देशन आएन । हामी विनाकै एमाले बनाउन खोजिएपछि हामी प्रतिगमन विरुद्ध उभिएका सबै जना नेकपा एकिकृत समाजवादीमा खुलेका हौ ।’
समाजवादीमा खुलेका पूर्व राज्यमन्त्री रावलले पनि आफूहरु केपी ओलीको प्रतिगमनविरुद्ध रहेकाले सो दल त्यागेर नेकपा एकिकृत समाजवादीमा सामेल भएको प्रतिक्रिया दिनुभयाे । अब नेकपा (एकिकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) दुई दल सुदूरपश्चिम प्रदेशसभामा समान हैसियतका प्रमुख दल बनेका छन् । माओवादीका पनि १३ जना प्रदेश सभा सदस्य छन् ।
प्रदेशसभामा नेपाली कांग्रेसका १२, एमालेका ११ र तत्कालीन राजपाका दुई जना प्रदेशसभा सदस्य रहेका छन् । तत्कालीन राजपा पनि फुटेपछि दुई जना प्रदेशसभा सदस्य कता खुल्ने निश्चित भएको छैन ।
सुदूरपश्चिम प्रदेशसभामा ५३ जना प्रदेशसभा सदस्य रहने व्यवस्था छ । तर, एमाओवादीले एमाले प्रवेश गरेका कारण झपट बोहरालाई हटाएपछि अब प्रदेशसभामा ५२ जना प्रदेशसभा सदस्य रहेका छन् ।