प्रेम यादव
रौतहट । सामुदायीक विद्यालयले विद्यार्थीलाई वितरण गर्नुपर्ने खाजा भत्ता रौतहटको गौरस्थित एक विद्यालयले दुई वर्षपछि बाँढेको छ ।
नेपाल सरकारले सामुदायीक विद्यालयमा विद्यार्थीलाई आकर्षित गर्न खाजा भत्ता योजना ल्याएको थियो । विद्यालयमा विद्यार्थीलाई उपस्थीत गराउन सरकारले दैनिक १५ रुपैंयाका दरले खाजा भत्ता दिने व्यवस्था छ । तर विद्यालय र वडाअध्यक्ष बीचको तालमेल नमिल्दा गौर नगरपालिका ६ मा रहेको सबगढा आधारभुत विद्यालयका विद्यार्थीले दुई वर्षसम्म खाजा तथा छात्रवृतिको रकम पाउन सकेका थिएनन् ।
गत आर्थिक वर्ष २०७६ ७७ कै मंसिर देखि फागुन सम्मको खाजा भता सोमबार विद्यालयमा वितरण गरिएको छ । दुई वर्षसम्म खाजा भता वितरण नहुनुमा वडाअध्यक्ष शेख जमशेद जिम्मेवार रहेको विद्यालयका प्रधानाध्यापक इस्लाम मियाले बताउनुभयो ।
“हामीले पटक पटक विद्यार्थीको खाजा भता वितरण गर्न वडाअध्यक्षलाई अनुरोध गर्दा पनि उनले चासो लिएनन ।” प्रधानाध्यापक मियाले भन्नुभयो “वडाअध्यक्ष जी बिरामी भएको बेला बाँड्न सकिएन तर उहाँ उपचारबाट फर्किए पछि पनि खाजा व्यवस्थापन समिति लगायतको काम पूरा भएन ।”
वडा अध्यक्ष शेख जमसेदले भने खाजा भता वितरण नहुनुमा आफ्नो कमजोरी नभएको बताउनुभयो । “मेरो यसमा केहि कमि कमजोरी छैन । खाता सञ्चालनमा मेरो हस्ताक्षर समेत छैन ।” विद्यालय व्यवस्थापन समितका अध्यक्ष समेत रहेका जमसेदले भन्नुभयो “प्रधानाध्यापकले भता वितरणको बारेमा कहिले पनि मलाई खबर गर्नुभएन ।”
गत वर्षको खाजा लगायतका विद्यार्थीले पाउनु पर्ने भता समेत नपाएको अभिवावक रामनिरेखन साहले बताउनुभयो । कोरोना संक्रमणका कारण भौतिक रुपमा विद्यार्थी उपस्थित गराउन नसकेको कारण केही विद्यालयमा खाजा लगायतका विद्यार्थीले पाउने भत्ताको भुक्तानी बाँकी रहेको गौर नगरपालिकाका मेयर अजय गुप्ताले बताउनुभयो ।
कोरोना संक्रमण दर कम भएको र विद्यालय पनि खुल्न थालेकोले बाँकी रहेका भताहरु क्रमश वितरण गराउने मेयर गुप्ताले जानकारी दिनुभयो ।
विद्यालयमा शिशु कक्षा देखि ८ सम्म पढाई भए पनि कक्षा ५, ६ र ८ बाहेक अन्य कुनै कक्षा कोठामा बेन्च डेस्क छैन । विद्यालयमा शौचालय तथा खानेपानीको अवस्था समेत खराब रहेको विद्यार्थीको गुनासो छ ।