काठमाडौं। निर्माणाधीन कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन विस्तारका लागि १३ हजार ११९ रुख कटान गरिने भएको छ। रूख कटानका लागि मन्त्रिपरिषदमा प्रस्ताव लैजान फाइल तयार मन्त्रिपरिषदकाे बैठकले तयार पारेकाे जनाएकाे हाे ।
आयोजना प्रमुख रविकुमार चौधरीले विभागीय मन्त्री नहुँदा काममा ढिलाइ भएको जनाउँदै मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेपछि रूख कटानका लागि बोलपत्र आह्वान, जग्गाको मुआब्जालगायत प्रक्रिया शुरु गरिने बताउनुभयाे।
'यति ठूलो संख्यामा रूख कटान गर्न समय लाग्छ, अबको एक वर्षभित्र प्रसारण लाइन निर्माण गरिसक्नुपर्नेछ', उहाँले भन्नुभयाे, “रूख कटानमा जति ढिलाइ भयो, त्यति नै प्रसारण लाइन विस्तारमा समय लाग्छ।” रूख कटानमा ढिलाइ हुँदा जग्गाको मुआब्जा वितरणदेखि प्रसारण लाइन निर्माणको काम प्रभावित हुने चौधरी बताउनुहुन्छ।
नेपाल विद्युत् प्राधिकरणको ३६औं वार्षिकोत्सवका अवसरमा आयोजनाले कोहलपुरबाट प्रसारण लाइनको टावर निर्माण शुरुआत गरेको थियो। करिब ७० करोडकाे लागतमा भारतीय कम्पनी आरएस इन्फ्राप्रोजेक्टले प्रसारण लाइन निर्माण ठेक्का लिएको थियो। गत वर्ष असारमा ठेक्का सम्झौता भए पनि कम्पनीले निर्माण अघि बढाएको छ। ५२ किमी दूरी रहेको सो प्रसारण लाइनका लागि डबल सर्किटअन्तर्गत १६१ टावर निर्माण गर्नुपर्नेछ।
सो आयोजनाबाट बाँकेका कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिका, बर्दियाका बाँसगढी नगरपालिका तथा सुर्खेतका भेरीगङ्गा, लेकबेँसी र वीरेन्द्रनगर नगरपालिका प्रभावित हुने बताइएकाे छ ।