काठमाडौं । भृकुटीमण्डप अर्थात् केही न केही प्रदर्शन भइरहने ठाउँ । तर, आजभोलि हरेक महिनाजस्तो जुत्ता प्रदर्शनी हुन्छ । प्रदर्शनीकै गरिमा नराख्नेगरी प्रदर्शनी हुन थालेपछि यसप्रति आपत्ति समेत जनाइन थालेको छ । अहिले पनि महिना दिन लामो जुत्ता प्रदर्शनी भृकुटीमण्डपमा जारी छ ।
गत चैत १ गतेदेखि शुरु भएको जुत्ता एक्स्पोले १९ दिन पार गरेको छ र अझै एक साता जारी रहने भनिएको छ । एक्स्पोमा २३ वटा जुत्ता उद्योगहरुले आफ्नो बिक्री स्टल राखेका छन् । हरेक जुत्ता उद्योगको स्टलबाट दैनिक ५ लाख भन्दा अधिकको जुत्ता बिक्री भइरहेको छ । तर, कुनै पनि जुत्ता स्टलले बील विजक जारी गर्दैनन् । जुत्ता खरिद गर्ने ग्राहकलाई बीलजस्तै देखिने एउटा रातो कागजको चिर्कटो दिइन्छ । ग्राहकले त्यसलाई बील भनेर स्वीकार गर्छन् ।
पैसा तिरेर सामान लिएर जान्छन् । तर, त्यो रातो कागजको पुर्जा वास्तवमा बील विजक होइन । त्यो फगत एक गेटपास हो । जुत्ता एक्स्पोको गेटमा बसेका सुरक्षा गार्डहरुले ग्राहकलाई चेक गर्छन् । ग्राहकले गेटपास पुर्जा देखाएपछि खरिद गरेको जुत्ता लिएर बाहिरिन पाउँछन् । त्यो रातो कागजको चिर्कटोमा पान नम्बर, भ्याट नम्बर वा बिक्रेताको नाम केही पनि उल्लेख गरिएको छैन । एक्स्पोमा रहेका २३ वटै जुत्ता उद्योगहरुले राखेको स्टलमा उस्तै रबैया छ । कसैले बील जारी गर्दैनन् । गेटपासकै आधारमा जुत्ता बिक्री हुँदै आएको छ । भृकुटी मण्डपको प्रदर्शनी चौरमा १९ दिनदेखि जुत्ता एक्सपो जारी छ । यो प्रदर्शनी आगामी चैत २८ गतेसम्म जारी रहनेछ ।
भृकुटी मण्डपमा कुनैकुनै जुत्ता स्टलहरुले हदैसम्म छल गरेका छन् । एक्स्पोमा सबैभन्दा ठुलो स्टल पनि शीखर शुजको छ । यो स्टलले आफ्नै होलसेल बिक्रेता किर्तीपुर शु सेन्टर को पान नम्बर भएको बील प्रयोग गरेको छ । बील नमाग्ने ग्राहकलाई गेटपास दिएरै पठाउँछ । कथंकदाचित कुनै ग्राहकले बील मागेमा सोही किर्तीपुर शु सेन्टरको नाममा रहेको पान बील काटेर दिइन्छ ।
जुत्ता उद्योग आफैले सञ्चालन गरेको एक्स्पोमा उद्योगको भ्याट बील दिईनुपर्ने हो । तर, ग्राहकलाई चित्त भ्रम सिर्जना गरिएको छ । शीखर कम्पनीले आफ्ना होलसेल बिक्रेताको वील प्रयोग गर्दा ती बिक्रेताको नाममा भ्याट बीलसहित स्टक हस्तान्तरण वा जुत्ता बिक्री गरेको हुनुपर्छ । होलसेल बिक्रेताले पनि अनिवार्य भ्याट बील काट्नुपर्ने कानूनी प्रावधान छ । तर, एक्स्पोमा कर छल्नैका लागि अनेक चलाखीका उपायहरु गरिएको छ र यस्तो चालाखी सबै स्टलहरुमा भईरहेको छ । अछुतो र ईमान्दार कोही देखिएन ।
हामी राईनो कम्पनीको स्टलमा पुग्यौं । एक जना जुत्ता खरिद गर्ने ग्राहकलाई बीलको नाममा गेटपास दिइएको रहेछ । हामीले सोध्यौ खोई सक्कली बील लिनु भएको ? राईनो स्टलकी सञ्चालिका अप्ठ्यारोमा परिन् । उनले हामीलाई मिडिया कार्ड देखाउनुस् भन्न थालिन् । आफ्ना कर्मचारी बोलाएर मोवाईलमा हाम्रो भिडियो खिच्न लगाइन् । यसपछि भने ग्राहकले भ्याट बील माग्न थाले । उनी बाध्य भइन् भ्याट बील काट्न तर, उनी फेरि रंगेहात पक्राउ परिन् । दिनको दुई वजेसम्म उनले लाखौंको सामान बिक्री गरिसकेकी थिइन् तर, बील काट्दै गर्दा देखियो ठेलीको पहिलो बील ।
बाँकी भिडियो हेर्नुहोस्ः
https://www.youtube.com/watch?v=SD0kH0yuQN0&t=35s