तनहुँ । प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत बेरोजगार सूचीमा सूचीकृत तनहुँका सर्वसाधारणले गाउँघरमै रोजगारी पाएका छन् । न्यूनतम एक सय दिनको रोजगारी पाइने यस कार्यक्रममार्फत् सर्वसाधारणले गाउँघरमै रोजगारी पाएका हुन् ।
म्याग्दे गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत एक सय ६५ बेरोजगारले रोजगारी पाएका छन् । गाउँपालिकामा चार सय ४८ बेरोजगार सूचीकृत भएकामा प्राथमिकताका आधारमा एक सय ६५ बेरोजगारले रोजगारी पाएका हुन् ।
रोजगारी पाउनेमा म्याग्दे गाउँपालिका–३, ४, ६ र ७ का बेरोजगार सूचीमा सूचीकृत भएकाहरु रहेको रोजगार संयोजक पविन्द्र शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार म्याग्दे–३ का १३, म्याग्दे–४ का ३७, म्याग्दे–६ का ९ र म्याग्दे–७ का एक सय ६ जनाले रोजगारी पाएका छन् ।
उनीहरुले प्रतिदिन पाँच सय १७ का दरले न्यूनतम एक सय दिनको काम पाएका छन् ।
प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् गारेटो बाटो निर्माण, चौतारा निर्माण, पैदलमार्ग, पोखरी मर्मत, खानेपानी आयोजना मर्मतलगायत काम सम्पन्न भएको छ ।
व्यास नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् दुई सय ८३ जनाले रोजगारी पाएका छन् । यस कार्यक्रमअन्तर्गत १२ वटा योजनाको काम गरिएको छ । कार्यक्रमका लागि ८८ लाख बजेट विनियोजन भएकामा ४७ लाख ५४ हजार ९ सय एक बजेट खर्च भएको रोजगार संयोजक सुजिता थापाले जानकारी दिनुभयो ।