–लक्ष्मी उप्रेती
वि.सं २०४१, ४२ सालतिरका धुमिल सम्झनाहरू एकतमासले मन मष्तिष्कमा आइरहन्छन्, गइरन्छन् । यी सम्झनाहरू कुनै सिलसिलावद्द छैनन् र पनि तरङ्गित भइरहेका छन् एउटा रमाइलो सन्दर्भ बनेर । मानिसको जीवनमा समयले कतिको साथ भेटाउने र कतिको असमयमा नै छुटाउने गरिरहन्छ । ती साथहरू कुनै अनायासै माटो भएर छुटिदिन्छन् । कुनै भने अलग्गिएर छुटिन्छन् । यो जीवनको प्रकृया र बाध्यतात्मक परिस्थितिलाई सबैले स्वीकार गर्नु बाहेक अरू उपाय छैन । यस्ता कुरा सहज मान्न गाह्रो हुन्छ । तर जति गाह्रो भए पनि साथ छुटेपछि सम्झनामा मात्रै रहने यथार्थ सबैले बुझेकै छ । यहीँ यथार्थको धरातलमा उभिएर अक्षरको लहरीमा कला संस्कृतिका यायावर एक अथक साधक चतुर्भुज आशावादीलाई सम्झिरहेछु ।
जब म साहित्यिक कर्मबाट टाढा थिएँ, तब मोटो, ठूलो भूँडी भएको मानिसको सुरम्य परेको अनुहारमा टेढिएको तर सुहाउदिला दाँत देखाएर मुसुक्क हाँस्दाको आभा सम्झिरहेछु । मेरा आँखामा उहीँ क्षण बनेर बग्नु हुन्छ आशावादी । सेतो या क्रिम रंगको लामो कमिज सरवाल लगाएको ठूला शरीर भएका मानिसले छेउमा चटक्क परेकी शृङ्गारयुक्त र राम्रो पहिरन लगाएकी पुतलीजस्ती महिलालाई राखेर रिक्सामा संसरीमाईस्थानको प्रागणमा ओहोर दोहोर गरेको देख्दा शुरू शुरूमा यी मानिसहरू को होलान् भन्ने कौतुहलता ममा हुन्थ्यो । कहिले त उहाँहरूलाई देख्दा मनमा नानाथरिको शंका उपशंका हुन्थ्यो । मौका पर्दा जहाँ पुगेर उहाँहरूलाई देख्छु त्यहीँ टक्क अडिएर हेर्थें । त्यसरी हेर्नुमा केको आकर्षण हो या शारीरिक बनौटको रमिता हो मलाई थाहा छैन् । तर उहाँहरूलाई देख्दा खै कस्तो कस्तो रमाइलो लाग्थ्यो ।
जब म विराटनगरमा हुने सामाजिक र साहित्यिक कर्ममा लागें तब मैले उहाँहरूलाई नजिकैबाट चिने । उहाँहरू त संसरीमाईस्थानमा अवस्थित भानु मोरङ सांस्कृतिक समितिका सस्थापक र कला संस्कृति बचाउ अभियानका अभियन्ता हुनुहुँदो रहेछ । नाटक सिकाउने र सँगसँगै अभिनयका साथ मन्चमा उभिएने अनि नृत्य सिकाउने अथक साधक । त्यस समयदेखि उहाँहरूको म प्रशंसक भएँ । अनि त्यसपछि कहिलेकहीँ कुनै कार्यक्रममा भेट हुँदा गफगाफ हुन थाल्यो । हार्दिकता र सौहाद्र वातावरणमा हाम्रो सम्बन्ध बढ्दै गयो । अझ पछि ४८, ४९ सालतिर मलाई पनि भानु मोरङ सांस्कृतिक समितिमा आवद्व गराएर झन नजिक बनाउनु भयो । त्यसपछि विभिन्न जिल्लामा हुने भानु मोरङका कुनै कुनै जिल्लाका कार्यक्रममा उहाँहरूसँग म पनि सरिक भएर केही वस्तुस्थिति बुझेका ती रमाइला क्षणहरू सम्झिरहेछु ।
विराटनगरलाई नै कर्मभूमि बनाएर आशावादीले त्यहीँको सेरोफेरोमा आफ्ना जीवनका अनगिन्ती सुख, दुःख, सजिला, अफ्ठ्यारा यात्रा तय गर्नुभयो । अर्थात् विराटनगरमा आफ्नो अस्तित्व गाँस्नु भयो र जीवनको अन्तिम क्षणसम्म त्यहीँको माटोमा समर्पित भईरहनुभयो । १३ वर्षको उमेर देखि नै कलाकारिता क्षेत्रमा उपस्थित जनाउने एक साधक नेपाली कला संस्कृति जगतको खोज र अनुसन्धानमा योगदान दिएर एक महत्वपूर्ण काम गरेको कुरा बिर्सनु हुदैन ।
त्यो समय छोरी मान्छेलाई नाच गान र अभिनयमा लगाउनु हुदैन भन्ने समाजको परम्परागत र संकोचित धारणालाई भत्काउनु भनेको लरतरो कुरा थिएन । तर देशको विकासका लागि उहाँ सहजताका साथ बिद्रोहको शंखनाद गर्ने योद्धा ।
आशावादीले पहिला निराशावादीको उपनाम राख्नु भएको थियो । त्यो समयका वडाहाकिम दामोदर शम्शेरले आशावादी उपनाममा परिणत गरेपछि समयको गतिले उहाँलाई कलाक्षेत्रमा आशावादी नामले स्थापित गरायो । अन्ततः आशावादी भनेर यस क्षेत्रमा लाग्नेले राम्ररि चिने । कला संस्कृतिको उन्नयन र विकासका लागि बि. सं. २०१९ सालमा भानु मोरङ सांस्कृतिक समितिको स्थापना गरेर कला क्षेत्रलाई मुहूर्त रूप दिनु हुने आशावादी गुरू सन्ताष राईद्वारा प्रशिक्षित हुनुभयो । भानु मोरङ संस्कृति समितिको स्थापना कालदेखि नै विराटनगरमा बडो धुमधामका साथ भानुभक्तको जन्मजयन्ती मनाउने परम्परा शुरू गर्ने व्यक्ति चतुर्भुज आशावादी नै हुनुभयो । भानु जयन्तीलाई एउटा पर्वकै रूपमा लिएर बाजागाजा सहित बजार परिक्रमा गराउने, कवि गोष्ठी गर्ने र बेलुका नेपाली लोक संस्कृतिमा आधारित सांस्कृतिक कार्यक्रम गर्ने उत्सवको सिलसिला अझैसम्म पनि उहाँका परिवारको सक्रियतामा गर्ने गरेर चतुर्भुज आशावादीको एउटा सपना पूरा गर्दै आएको भन्न सकिन्छ । यो कोरोनाकालमा परिवारबाट धुमधामले नगरे पनि सम्भव भएसम्म कार्यक्रमको आयोजना गरि प्रशंसनीय कार्य गरेको कुरा इतिहासले कुनै दिन सम्झिलान् ।
नेपालका विभिन्न जातजातिको कला संस्कृतिलाई जीवन्त राख्न उनीहरूको परम्परागत पोशाक र साजसज्जामा उभ्याउने नेपाली कला संस्कृतिका चिन्तनशील व्यक्तित्व हुनुहुन्थ्यो उहाँ । नेपाली लोक गीत र नृत्यलाई विदेशमा समेत प्रस्तुत गर्ने कलाका पारखी आशावादीको निर्देशनमा थुप्रै गीति नाटक र नाटकहरू पनि सफलतापूर्वक प्रदर्शन भए । कलालाई अझ प्रखर रूपमा प्रस्तुत गर्ने उदेश्यले वि.स. २०३७ सालमा भानु कला केन्द्रको स्थापना गरेर आफ्नो यात्रा अगाडि बढाउनु भयो । ३ वर्ष जति जनकपुरमा नै रहेर उहाँले कला र संस्कृति बचाउँ अभियानमा लाग्नुभयो । नेपाली भाषामा मात्र हैन मैथली भाषा र अन्य भाषाका पारङ्गत उहाँले विभिन्न कार्यक्रम आयोजना गर्न सक्ने एक अब्बल कलाकार रूपमा आफ्नो छवि स्थापित गर्नुभयो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा समेत स्थान लिन सक्ने आशावादीलाई विराटनगरमा मात्र सिमित राख्नु न्यायोचित हुन्न । यसबारे परिवारको पनि ध्यान जाओस् ।
कलालाई जीवनको अमूल्य निधि ठान्ने आशावादीको जन्म वि.सं. २००१ साल मंसिर १ गते काठमाडौंमा पिता अच्युतानन्द पौडेल र माता तुलाकुमारी पौडेलको कान्छा छोराको रूपमा भयो । ६ वर्षकोउमेर देखि नै नृत्य, र अभिनयबाट आफ्नो कला यात्रा शुरू गर्ने उहाँले केही तारतम्य मिलाउदै २००८ सालमा परिवारका साथ विराटनगरमा बसाइँ सर्नु पर्यो । तर पनि कला र संस्कृतिको उन्नयनमा सहभागिता जनाउन छाड्नु भएन । कलाकार जीवन नै रूचाउने आशावादीलाई जीवनसाथीको संजोग पनि समयले कलाको मर्म बुझ्ने नृत्यङ्गना माया निरौलालाई जुरायो । उहासँग आशावादीको २०२८ सालमा लगनगाठो कसियो । उहाँहरूको जोडि एउटा नमुनाका रूपमा थियो ।
वि.सं. २०३० साल कार्तिक २१ गतेका दिन छोरो प्रचण्ड पौडेलले पहिलो पटक आमाबुबाको पगरी गुथाउदाको खुशीलाई कहिलेकहीँ स्मरण गरेर हाँस्नु हुने चतुर्भुज पौडेल आशावादीकी छोरी प्रजिता वि. सं २०३१ साल भाद्र १९ गते र कान्छो छोरो प्रसन्नको वि. सं. २०३५ साल भाद्र १९ गते जन्म भयो । कुनै समस्यामा पनि कलाकार कर्म नरोक्ने दम्पति उहाँहरूले समाजमा गति लिइनै रहनुभयो । फलस्वरूप पारिवारिक माहोल नै कलाकारितामा स्थापित भयो ।
उहाँकी श्रीमती माया पौडेल कलाकारितामा बिहे अघि देखिनै आफ्नो पहिचान हुदाहुदै पनि चतुर्भुज आशावादी कै प्रतिक्ष्छाया भएर हिड्नु भयो र अझैसम्म हिडिरहनु भएको छ। त्यस्तै जेठो छोरो प्रचण्ड पौडेल नेपालमा नै बसेर बुबाको कर्मको रक्षा हेतु कहिले काठमाडौं कहिले विराटनगर गर्ने र कान्छो छोरो प्रसन्न पौडेल यसबेला अमेरिकामा रहेर पनि कलाक्षेत्रको नै पद्चाप पछ्याउँदै छन् । छोरी प्रजिता पनि अब्बल कलाकार हुन् तथापि बिहे पछि यस क्षेत्रमा उनी हराइन् ।
सम्झनामा ताजै बग्ने आशावादी दाजु प्रजिताको बिहेमा धरधरी रूनु भएको क्षण आँखाभरि सलबलाउछ । छोरीलाई पराइ घर पठाउदा जोकोही बुबाआमाको मन दुख्नु स्वाभाविक हो । तर आमा भन्दा बुबाको अपहत्ते यसबेला सम्झिरहेछु । प्रचण्ड र प्रशन्नको पनि जोडी बाँधेर खुशी भित्राउने कति रहर थियो तर उहाँलाई समयले सहेन र यसलोकबाट लिन हुनुभयो । यिनीहरुले दाजुको अधुरो रहर पूरा गरेका छन् यसबेला । त्यतै कतैबाट आफुले अधुरो छाडेको छोरा छोरीको पूर्ण जीवन र आफ्नो बाटो पछ्याएको देखेर शान्त हुँदो हो उहाँको आत्मा ।
कर्ममा विश्वास गर्ने आशावादी मोटो भएर पनि कति फुर्तिलो र तालतरिकामा सरक्क सरक्क नृत्य सिकाउने नृत्य गुरू । भौतिक रूपमा उहाँ यसबेला हुनुहुन्न तर उहाँका अनगिन्ती चेलाचेलीहरूले उहाँको बाटो हिडेर जीवनलाई सार्थक बनाउदैछन् र अझ लागिपरेको पनि छ । कति कति चेलाहरू राष्ट्रिय स्तरका कलाकारका रूपमा स्थापित पनि भएका छन् । तर कला संस्कृतिमा जीवन समर्पित गर्ने यहीँ क्षेत्रलाई सुमसुम्याउदै मृत्युवरण गर्ने नेपाली कला संस्कृतिका मानक कलाकार चतुर्भुज आशावादीलाई कसैले नसम्झनु दुखको कुरा हो ।
देश तथा विदेशका विभिन्न स्थानमा नेपाली कला संस्कृतिको संरक्षण र विकासका लागि उहाँले गर्नुभएका अनगिन्ती कर्महरू यो सानो आलेखमा अटाउन सम्भव छैन । यो त खालि मेरो एउटा सम्झने वाहाना मात्र हो । यो वाहना नै भए पनि पछिल्लो पिंढीलाई केही काम लाग्छ भन्ने आशा छ । उहाँले आफ्नो लागि मात्र केही चाहेको भए आफ्नो जीवन कालमा जे पनि हासिल गर्नसक्नु हुन्थ्यो । तर नेपाली कला र संस्कृतिका लागि भनेर हिडिरहनु हुने यस्ता त्यागीलाई सम्झनु पर्छ । नेपालका सम्पूर्ण जिल्ला घुमेर हरेक ठाउँको कलासंस्कृतिको पहिचान गराउने सिलसिलामा लाग्दा लाग्दै उहाँ अलि अस्वस्थ हुन भयो । स्वास्थ्य अवस्था ठिक नहुँदा नहुँदै पनि काममा प्रतिवद्ध आशावादी वि. सं. २०५९ साल साउन ४ गते भानु जयन्ती मनाइसकेर यस लोकलाई अचानक छाडेर जानुभयो । यीनै शब्दद्वारा देशका वरिष्ठ कलाकार आदरणीय चतुर्भुज आशावादीप्रति श्रद्धाञ्जली अर्पण गर्दछु ।