सांकेतिक तस्वीर
ओखलढुंगा । मानेभञ्ज्याङ गाउँपालिकाको मितेरीभञ्ज्याङ नजिकै आज दिउँसो जिप दुर्घटना भएको छ । दुर्घटनामा परि एकको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।
दुर्घटनामा परी बारा जिल्ला ठेगाना भएका अन्दाजी ४० वर्षीय पृथ्वीबहादुर श्रेष्ठको घनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
घटनामा घाईते हुनेहरुमा सिद्धिचरण नगरपालिका वडा २ का चालक वर्ष ३० का केशव कटवाल, काभ्रे जिल्ला धुलिखेल नगरपालिका वडा नं ११ का वर्ष ३८ का मानकाजी तामाङ, मानेभञ्ज्याङ्ग गाउँपालिका वडा नं १ मोलीका वर्ष २६ का टेक बहादुर योगी, योगीका श्रीमती वर्ष २० को हिरामाया योगी घाईते भएका छन् ।
त्यसैगरी, घाईते हुनेहरुमा रामेछाप जिल्ला वेतालीका वर्ष २८ की राधिका योगी, उनका छोरा वर्ष १२ का अभिषेक योगी, वर्ष ४ का निरज योगी, वर्ष १ की छोरी अनुषा योगी र लिखु गाउँपालिका वडा नं ३ नर्मदेश्वरका वर्ष १० का प्रभात गिरी रहेका छन् ।
जिल्लाको निशंखेबाट काठमाडौं जाँदै गरेको १० जना सवार बा ११ च ५२१० नम्बरको जिपमा ९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायब उपरीक्षक गोविन्दराज काफ्लेले बताउनुभयो । उहाँका अनुसार घाइतेहरुको उदयपुरको घुर्मीमा रहेको स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि चारजनालाई एम्बुलेन्स मार्फत काठमाडाैं पठाइएको र बाँकी ५ जनाको अवस्था गम्भीर भएका कारण हेलिकाेप्टर मार्फत काडमाडाैं पठाउने तयारी भइरहेको प्रहरीले जनाएकाे छ ।
दुर्घटनाको कारण पत्ता लागि नसकेकाे प्रहरीकाे भनाइ छ ।