पुष्पराज अधिकारी
हेटाैँडा । वाग्मती प्रदेशसभामा ८ वटा दलहरूको सहभागिता भएको छ ।
आज आइतबार निर्वाचन आयोगबाट प्राप्त माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीको आधिकारिकता र आवद्ध सांसद्हरुको नामावली सहितको पत्र वाग्मती प्रदेशसभा सचिवालयमा दर्ता भएसँगै प्रदेशसभामा आवद्ध दलको संख्या ८ पुगेको हो ।
यसअघि बागमती प्रदेशसभामा ७ वटा दलको प्रतिनिधित्व रहेको थियो ।
वाग्मती प्रदेशसभामा अब सबैभन्दा ठूलो दल ४३ सांसद्का साथ नेकपा एमाले, दोस्रो दल २३ सांसद्का साथ नेकपा माओवादी केन्द्र, २२ सांसद् रहेको नेपाली कांग्रेस तेस्रो र १३ सांसद् भएको नेकपा एकीकृत समाजवादी चौथो भएको छ।
यस्तै ३ सांसद् रहेको विवेकशील साझा पार्टी पाँचौं, २/२ सांसद् रहेका राप्रपा र नेमकिपाका क्रमशः छैठौँ र सातौँ स्थानमा रहेका छन् भने एक स्वतन्त्र सांसद् रहेका छन् ।
वाग्मती प्रदेशसभा सचिवालयमा नेकपा एमालेको विभाजनपछि नयाँ दल नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका १३ जना सांसदहरुलाई मान्यता दिँदै आज नामावलीसहितको आयोगको पत्र प्रदेश सभामा दर्ता भएको हो ।
नेकपा एमालेको विभाजनपछि राजेन्द्र पाण्डे, बसन्त मानन्धर, बसुन्धारा हुमागाई, रमा आलेमगर, मुनु सिग्देल, इन्द्रमाया गुरुङ, लक्ष्मण लम्साल, राजेन्द्रमान श्रेष्ठ, माधवप्रसाद पौडेल, कृष्णप्रसाद खनाल, पार्वती सिलवाल, कुसुम कुमार कार्की र मीना ज्ञवालीले एमाले त्यागेर नेकपा एकिकृत समाजवादीमा सनाखत गरेका हुन् ।