प्रेम यादव
रौतहट । किसानको समस्या समाधान गर्न किसान मोर्चाले जिल्ला प्रशासन कार्यालय रौतहटमा ज्ञापन पत्र बुझाएको छ । किसानले राखेका बुँदागत मागहरु पूरा गराउन जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्रीको कार्यालय र कृषि तथा पशुपंक्षी कार्यालय सिंहदरवारमा सो ज्ञापन पत्र बुझाइएको हो ।
किसानकाे तर्फबाट प्रदेश २ का निवर्तमान सांसद कुन्दन कुशवाहाले जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख अधिकारी बसन्त भट्टराईलाई सो पत्र बुझाउनुभएकाे हाे । किसानका समस्याका बारेमा सरकारले कुनै चासो नदिएको भन्दै बुधबार रौतहटमा प्रदर्शनसमेत गरेका थिए ।
नेपाल कृषि प्रधान देश रहेको र ७० प्रतिशत जनसंख्या कृषिमा आधारित रहेपनि सरकारको कुनियतको कारण कृषि पेशा तथा कृषकहरु मर्कामा परेको तथा अहिलेको आधुनिक युगमा विश्व बजारको तुलना गर्न सरकारले मलखाद दिन नसकेको किसानहरुको आरोप छ ।
सरकारले किसानको समस्याको कुनै वास्ता नगरेको भन्दै रौतहटमा बुधबार हजारौ ट्याक्टरसहित किसानहरु सडकमा उत्रिएका थिए ।
किसानलाई पेन्सनको व्यवस्था, अन्न दातालाई सम्मान, कृषि ऋण सहज ढंगले उपलब्ध, प्रयाप्त मलखाद्य विऊ विजनको तुरुन्त व्यवस्था, भूमिहीनलाई जग्गा र किसानलाई आधुनिक कृषि औजारको व्यवस्थाको माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।
जिल्ला प्रशासन कार्यालयमा बुझाइएको ज्ञापन पत्र प्रधानमन्त्रीको कार्यालय र कृषि तथा पशुपंक्षी कार्यालय सिंहदरवारमा जाने पूर्व सांसद कुशवाहाले बताए । छिटो भन्दा छिटो किसानहरुको माँग पुरा नभएन किसानहरु सशक्त आन्दोलनमा उत्रिने समेत कुशवाहाले बताउनुभयाे ।