काठमाडौं । कोरोना संक्रमणका कारण बन्द रहेका विद्यालयहरु खुल्न थालेका छन् । विद्यालय खोल्नेबारे स्थानीय तहले नै निर्णय गर्न पाउने व्यवस्था सरकारले गरेपछि विभिन्न स्थानीय तहले स्वनिर्णयमा विद्यायहरु सञ्चालनमा ल्याएका हुन् ।
काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले पनि गत साताबाटै विद्यालय सञ्चालन गर्ने निर्णय गरेको थियो । निर्णयपछि नगरपालिकाभित्रका अधिकांश विद्यालय यो आइतवारबाट खुलेका छन् ।
काठमाडौंको जोरपाटीका विभिन्न वडामा सञ्चालित सरस्वती सेकेण्डरी स्कूल, भेनस पब्लिक स्कूल र मदन भण्डारी मेमोरियल स्कूल लगायतमा आइतवारबाट सबै कक्षा सञ्चालनमा आएका छन् । विद्यार्थीहरुलाई फेस मास्क, फेस शिल्ड, स्यानिटाइजर, तातो पानी र टिफिन समेत आफैंले ल्याउनुपर्ने व्यवस्था गरिएको मदन भण्डारी मेमोलियल स्कूलका प्रिन्सिपल सुरेन्द्र धितालले बताउनुभयो । यस्तै कक्षा कोठामा भौतिक दुरी अनिवार्य गरिएको पनि उहाँले जानकारी दिनुभयो ।
यस्तै सरस्वती माविले भने हालका लागि जोर र विजोर रोल नम्बरका आधारमा कक्षा सञ्चालन गरिएको प्रिन्सिपल ध्रवकुमार श्रेष्ठले जानकारी दिनुभयो । आइसोलेसनमा बस्नुपर्ने विद्यार्थीका लागि भने अहिले पनि अनलाइन कक्षालाई नै निरन्तरता दिइएको श्रेष्ठले बताउनुभयो ।
भेनस स्कूलका प्रशासन प्रमुख विनितराज अर्यालले विद्यालय सञ्चालनमा ल्याइए पनि विद्यार्थी र शिक्षकको स्वास्थ्यमा निकै सचेतना अपनाइएको जानकारी दिनुभयो । भौतिक दुरी र अन्य स्वास्थ्य निर्देशनहरु कडाइका साथ लागू गरिएको उहाँले बताउनुभयो । भेनस स्कूलले कलेज स्तरका कक्षा समेत सञ्चालनमा ल्याएको छ ।
फोटो : हनिशरज पन्त/ जनता समाचार