मनाङ । कोभिड– १९ र गत असार १ मा आएको बाढीपहिराका कारण आवतजावत ठप्प रहेको हिमाली जिल्ला मनाङमा बलिउड चलचित्र सुटिङ हुुने भएको छ । बलिउडको प्रख्यात राजश्री प्रोडक्सनको ब्यानरमा छायाङ्कन हुन लागेको चलचित्र “उचाई”को छायाङ्कन गरिने भएको हो ।
चलचित्रको छायाङ्कनका लागि स्थल अवलोकन गर्न निर्माता निर्देशक सुरज बडाजात्याको टोली अल्टिच्युड एयरको दुई वटा हेलिकप्टरबाट मनाङ आउनुभयो । निर्माता, निर्देशकको टोली दुई दिन मनाङमै बसेर चलचित्र छायाङ्कनका लागि विभिन्न स्थानको अवलोकन गरेका छन् ।
सो टोलीले माथिल्लो मनाङको ङिस्याङ गाउँपालिका वरपरका विभिन्न स्थानको अवलोकन गरेका छन् । दुई दिनको अवलोकन पश्चात् टोली आज काठमाडौँ फर्किएर सगरमाथा आधारशिविरमा पनि छायाङ्कनका लागि स्थलगत अवलोकन गर्न गएको नेपालका लागि थ्री विलर्स फिल्मस्का अध्यक्ष लाइन प्रोड्युसर सुरज अचार्यले जानकारी दिनुभयो ।
उहाँका अनुसार मनाङ छायाङ्कनका लागि निकै उपयुक्त स्थान रहेको छ । मनाङमा करिब १० दिन सो फिल्मको छायाङ्कन हुने मनाङका पर्यटन व्यवसायी विनोद गुरुङले बताउनुभयो । मनाङ जिल्लालगायत नेपालको अन्य विभिन्न स्थानमा सो फिल्मको छायाङ्कन गरिने बताइएको छ ।
चलचित्रमा अमिताभ बच्चन, अनुपम खेर, डेनी डेन्जोङ्पा, सारिका, बोमन ईरानी, परिणिती चोपडा आदि कलाकारको मुख्य भूमिका रहनेछ । दुई साता अगाडि पनि यो टोलीले जोमसोम, कागबेनी, लुक्ला, नाम्चे बजार र लाङटाङ क्षेत्रको अवलोकन गरिसकेको छ ।