भगीरथ भण्डारी
इलाम । जिल्ला समन्वय समितिले आयोजना गरेकाे समीक्षा बैठकमा जिल्लाका अधिकांश पालिका प्रमुख उपस्थित भएनन् । बैठकमा स्थानीय तहले गत आर्थिक वर्ष २०७७/०७८ मा गरेका कामको समीक्षा गर्ने कार्यक्रममा अधिकांश पालिकाका प्रमुख उपस्थित नभएका हुन् ।
बुधवार र बिहीवारको दुईदिने समिक्षा बैठकमा स्थानीय तहका जनप्रतिनिधि उपस्थित नहुनुले जिम्मेवारप्रति गम्भीर नभएको देखिन्छ ।
बैठकमा पालिका प्रमुखमध्ये इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत र चुलाचुली गाउँपालिका अध्यक्ष प्रदीपचन्द्र राई मात्र थिए । देउमाई नगरपालिकाकी उपप्रमुख, रोङ र फाकफोकथुम गाउँपालिकाका उपाध्यक्षहरू बैठकमा सहभागि थिए । सूर्योदय नगरपालिका, माई नगरपालिका, सन्दकपुर गाउँपालिका, माङ्सेबुङ गाउँपालिका र माईजोगमाई गाउँपालिकाका जनप्रतिनिधि बैठकमै उपस्थित भएनन् ।
पहिले गरेका कामको समीक्षा गरेर भावी योजना बनाउन जिल्ला समन्वय समितिले बर्सेनी समीक्षा बैठक राख्ने गरेको छ। तर, पालिका प्रमुखहरूले त्यसलाई खासै महत्व नदिएको देखिएको छ ।
पाँच वर्षे कार्यकाल पूरा हुनै लाग्दा जनप्रतिनिधिहरूले आफ्नाे कार्यकालमा भएको कामको समीक्षा गर्न खासै इच्छुुक नदेखिएको इलामका प्रदेशसभा सदस्य राम रानाको भनाइ छ ।
प्रदेश १ सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीसमेत भइसकेका राना सरकारको रूपमा कति सफल भइयो भनेर जनप्रतिनिधिले समीक्षा गर्नुपर्ने बताउँछन् । ‘सरकारको रूपमा कतिको व्यवस्थित भइयो ? कानुन, नियम कति बनायौँ ? स्थानीय तहमा संसदीय अभ्यासलाई कति प्रभावकारी र व्यवस्थित बनाउन सकियो ? यसको समीक्षा गर्न आवश्यक छ’, ‘जनप्रतिनिधि भएपछि अभिभावकत्व प्राप्त भएको छ, आगामी दिनमा पालिकाहरूलाई कसरी अघि बढाउने भनेर समीक्षा गर्नुपर्छ ।’
इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत पनि समीक्षा आवश्यक हुने बताए । ‘जिल्ला समन्वय समिति संवैधानिक अंग हो । , नेपाल नगरपालिका संघ प्रदेश १ का अध्यक्षसमेत रहेका बस्नेतले विगतको कामको समीक्षा नगरी भविष्यका लागि योजना बनाउन सकिँदैन भन्दै भोलिको मार्गदर्शनका लागि समीक्षा हुनुपर्ने बताए ।