-निरूपा प्रसून
इतिहास
जङ्गबहादुर, भीमसेन थापाहरुको
पढ्दैछौं
भक्ति थापा , बलभद्र कँुवरहरुको
वीरताको गाथा पनि पढ्दैछौं
तर अझै पढ्न बाँकी छ
यहाँका बगरबगरमा गाडिएका
रगतले मुछिएका
थुप्रै थुप्रै इतिहास । (पृष्ठ , ७६)
कवि ध्रुवनारायण जोन्छेंकोे नयाँ कविता सङ्ग्रह जीवन एक यात्रा अनेक कविताहरुको सङ्ग्रह प्रकाशित भएको छ । यी माथिका कविताका हरफहरु उनै कवि ध्रुवनारायण जोन्छेंका हुन् ।
यस सङ्ग्रहभित्र ३७ थान कविता समावेश गरिरहेको छ । जीवनका विभिन्न आयामहरु समेटिएका यस कविताका हरफहरु सरल छन् । कवितामा उत्साह, निराशा अनि सर्घषका कथाहरु कविता मार्फत व्यक्त गरेका छन् । मानव जीवनमा आइपर्ने सबै पाटोहरु यस कवितासङ्ग्रह भित्रका कविताहरुमा पाइन्छ । कविका कविताहरुमा हामी आफ्ना विगत भेट्छौ भने कहीँ आफ्नै अनुभव अनुभुतिसँगपनि साक्षत्कार हुन्छौ । मानव संवेदना र आशाहरु अनि देशको राजनीति र बेथितिहरुलाई उजागर गरेर कवितामा प्रस्तुत गरेका छन् कविले ।
समय चुपचाप छैन त्यसै गरि कविको कविताहरु पनि एउटा एउटा सन्देश बोकेका छन् । उनका कविताहरु पढ्दा लाग्छ कवि विश्व ,राष्ट्र र मानवको बारे चिन्तित छन् र उनलाई यी सबैको औधि माया लाग्ने कुरा कविता मार्फत प्रस्तुत भएको छ । कविताको माध्यमबाट उनी आफ्नो राष्ट्रमा भएको हरेक तत्वहरु जस्तै धर्म ,सस्कृति र राजनीतिका बारेमा सचेत छन् ।
मानव जीवनमा आईपर्ने अनेक उतार–चढाबहरु र जीवनका हर पाटाहरुलाई उनले आफ्नो दृष्टिकोण मार्फत कवितामा व्यक्त गरेका छन् । जीवनमा प्रेमको महत्व, जीवनमा विद्रोह , जीवनमा ऊर्जा र त्यसै गरी जीवनमा भोगाईहरुको श्रृंखला नै कवि कवि ध्रुवनारायण जोन्छेंका कविता हुन् । आफ्ना सानासाना कुरालाई कविता मार्फत सरल भाषामा पाठक समक्ष पुर्याउने काम गरेका छन् कविले । कवितामा बिम्ब र प्रतीकहरुको खासै प्रयोग नभए पनि सरल शब्दहरुको प्रगोगले कविता सरल र सुन्दर बनाउन सहयोग पुर्याएको छ ।
आफ्नो ढाड भने
दिन पर दिन
भाँचिदैछ
रोग, भोक, शोक
अनि
अकासिदै गएको बजार भाउको महङगीले
तर पनि
देश बनाउने काम
उसकै काँधमा सुम्पिएको भने छँदैछ । (पृष्ठ , ३७)
प्रेम, विद्रोह, इतिहास , ऊर्जा र भोगाई जुन जीवनसँग जोडिएका अभिन्न तत्वहरु छन् यसै तत्व वरिपरि कोरिएका छन् यस कविता सङ्ग्रहभित्रका कविताहरु । शिर्षक सार्थक रहेको छ । धेरै शब्दहरु अशुद्ध छन् यसमा ध्यान दिएको भए हुने थियो भन्ने चाहिँ लागिरह्यो । कवि ध्रुवनारायण जोन्छेंको कवितासङ्ग्रह जीवन एक यात्रा अनेक एउटा राम्रो कवितासङ्ग्रह बनेको छ ।
लेखक : ध्रुवनारायण जोन्छें
विधा : कविता
प्रकाशक : अक्षरमार्ग प्रकाशन
मूल्य : रु.२००
पृष्ठ ः ७६