काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले एमसीसी यथास्थितिमा अनुमोदन नहुने बताउनुभएको छ । उहाँले एमसीसी अनुमोदन गर्नका लागि आफ्नो पार्टीको सातवटा शर्त रहेको स्पष्ट पार्नु भएको छ ।
जनता टेलिभिजनको बिशेष समयमा पत्रकार टंक पन्तसँग कुराकानी गर्देै अध्यक्ष नेपालले सात शर्त सम्बोधन भए अगाडि बढ्न सकिने बताउनुभएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको सरकारले नै अगाडि बढाएको एमसीसीका बारेमा अहिले आएर एमालेले विवादित बनाउन खाजेको भन्दै अध्यक्ष नेपालले सत्तामा हुँदा एउटा र सत्ता बाहिर हुँदा अर्को कुरा गर्ने कस्तो खालको प्रवृत्ति हो ? भनी प्रश्न गर्नुभएको छ ।
अध्यक्ष नेपालले बिशेष परिस्थितिका कारण मन्त्रिपरिषदमा ढिलाइ भएको भएपनि अब एक हप्ताभित्र मन्त्रिपरिषद बिस्तार हुने जानकारी गराउनु भएको छ ।
अहिलेको पाँच दलीय गठबन्धन नै आगामी चुनावसम्म जाने भएकोले यसलाई भत्काउन षड्यन्त्र गरेपनि सम्भव नभएको उहाँको दाबी छ ।
नेकपा एकीकृत समाजवादी जनताको बहुदलीय जनवादको मार्गदर्शनलाई आत्मसात गरेर अगाडि बढेको भन्दै अध्यक्ष नेपालले यो पार्टीको भविष्य उदाउँदो चम्किलो ताराको रुपमा रहेको दाबी गर्नुभएको छ ।
संविधान विपरित पटक पटक संसद बिघटन गर्दा पनि कुनै कमजोरी स्वीकार नगर्ने र अहंकारको घोडा चढी आफूहरुलाई पार्टीको बैठकमा पनि नबोलाई ढोका नै बन्द गरेको कारण बिद्रोह गरेको उहाँले बताउनुभएको छ ।
आफूले भने जस्तो भएन भने अदालत, निर्वाचन आयोग, सभामुख, वरिष्ठ अधिवक्ताहरु, मिडिया क्षेत्रको धज्जी उडाउने काममा अहिले पनि ओली लागिरहेको भन्दै अध्यक्ष नेपालले उहाँमा कम्युनिष्ट संस्कार नै हराएको दाबी गर्नुभएको छ ।