मिना बुढाथोकी
सल्यान । राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले राउटे समुदायलाई विभिन्न सामग्री वितरण गर्नुभएकाे छ । जिल्लाकाे पश्चिमी क्षेत्र बनगाड कुपिण्डे नगरापालिकामा बसाइँ सरेका राउटे समुदायका लागि विभिन्न सामग्री लिएर तिमिल्सिना राउटे बस्ती पुग्नुभएकाे हाे ।
राउटे समुदायलाई सामग्री वितरण गर्दै अध्यक्ष तिमिल्सिनाले राउटे जातिको उत्थानका लागि स्थानीय सरकारले वढी तदारुकता देखाउनुपर्नेमा जोड दिनुभयाे ।
उनीहरु बसाइ सरेर जाने स्थानमा बालबालिकाको शिक्षा, स्वास्थ्य र आवासमा सामान्य चासो दिनुपर्ने कुरामा उहाँको जोड थियो । राउटेहरु स्थायी रुपमा बस्न नचाहने जाति भएकाले उनीहरु बसाइँ सरेर जाने स्थानमा यी ३ कुरामा विशेष ख्याल मात्रै गरिदिए राउटेको पछिल्लो पुस्ता आधुनिकतातिर ढल्किने उहाँको भनाइ थियो ।
राउटे बस्तीमा आँटा ५ क्वीनटल, त्रीपाल ७५ थान, म्याट्रिस ७५ थान, पि फर्म ७५ थान, चप्पल १२५ जोडा साबुन लुगाधुने ५ काटुन, साबुन नुहाउने १२ दर्जन गरेर ४ लाख बराबरको सामग्री सहयोग हस्तान्तरण गरिएको छ ।
राउटे समुदायमा वितरण गरिएको सामग्रीहरुको दुरुपयोग भएको कुरा सुन्नमा आउने गरेकाले सामग्री सही ठाउँमा प्रयोग भए नभएको समेत सम्बन्धित सबैले ध्यान दिनुपर्ने अध्यक्ष तिमिल्सिनाले बताउनुभयाे ।
राउटे समुदायको उत्थानका लागि विगत १८ वर्षदेखि निरन्तर सेवामूलक संस्थाकी अध्यक्ष सत्यदेवी अधिकारीले राउटेहरुको संरक्षणमा काम गर्दै र पुलको रुपमा सहजिकरण गरिरहेको बताउनुभयाे ।