काठमाडौं । नेवार समुदायमा इन्द्रजात्रासँग पारिजात फूलको कथा जोडिएका विभिन्न किंवदन्ती कथा छ । यी कथाहरू कहिलेदेखि शुरु भए, थाहा नभएपनि नेवार समुदायमा अझै जनश्रुतिमा जीवित छ।
राजकुमारी पारिजातको एकतर्फी प्रेम
परापूर्वकालमा पारिजात नाम गरेकी एक राजकुमारी थिइन्। उमेर बढ्दै जाने क्रममा उनलाई सूर्यसँग एकतर्फी प्रेम बसेछ । पारिजातले सूर्यलाई प्रेम प्रस्ताव राखेछिन् । तर सूर्यले पारिजातको प्रस्ताव अस्वीकार गरिदिएछ ,
प्रेम प्रस्ताव अस्वीकार भएको चोट पारिजातले सहन सकिनन् र उनले आत्महत्या गरिन् । त्यसपछि पारिजातको अर्को जन्म भयो फूलको रूपमा। तर पारिजात सूर्य उदाउँदा बोटबाट झर्न थालिन्।
चकमन्न रातमा सुवास छरेर फूल्ने पारिजात बिहानीपख सूर्य उदाउने बेला झर्छिन्। अहिले पनि पारिजातको फूल रुखबाट टिप्नुहुन्न भन्ने मान्यता छ। त्यसैले बेलुका पारिजातको फूलको बोट मुनी साँझ सफा कपडा ओच्छ्याएर राखिन्छ। बिहान झरेका पारिजातका फूल शुद्ध मानिन्छ र पूजाका लागि यही फूल चढाइन्छ।
कृष्ण र सत्यभामाको कथा
त्यस्तै पारिजातसँग जोडिएको अर्को चर्चित कथा कृष्ण र नारदसँग जोडिएको छ। पारिजात पहिले स्वर्गलोकमा मात्रै फूल्थ्यो। एकदिन नारदले स्वर्गलोकको पारिजात फूल कृष्णलाई ल्याइदिएछ । कृष्णले उक्त फूल रुकमणीलाई मात्रै दिए ।
नारद घुम्दै फिर्दै सत्यभामा कहाँ पुगेछन् । तब नारदले पारिजात फूल कृष्णलाई दिएको र उसले रुकमणिलाई फूल दिएको सुनाएपछि सत्यभामा दुःखित भइन् । त्यसपछि सत्यभामाले कृष्णलाई फूलमात्रै नभई पारिजातको बोट नै ल्याइदिन भनिछिन् ।
तब कृष्ण पारिजातको बोट माग्न स्वर्गलोक पुगेछन् । इन्द्रले उनलाई पारिजातको बोट दिई पठाए । कृष्णले त्यो बोट ल्याएर सत्यभामालाई दिए । फेरि सत्यभामाको बगैँचाबाट रावणका सौतेनी भाइ कुबेरले पारिजातको बोट लंका पुर्याए । यसरी पृथ्वी लोकको दक्षिण एशियामा यो पारिजात फैलियो भन्ने जनश्रुति छ।
स्वर्गलोकमा पारिजात अभाव
पृथ्वीलोकमा पारिजात फूल्न थालेपछि स्वर्गलोकमा पारिजात पाउन छाडेको कथन पनि नेवार समुदायमा प्रचलित छ।
स्वर्गलोकमा पूजा गर्न पारिजात अभाव भएपछि इन्द्रका आमा अदितिले पूजा गर्न पारिजात फूल चाहिएको कुरा छोरा इन्द्रलाई सुनाइन् । आमाको दुखेसो सुनेपछि धर्तीमा फुल्ने पारिजात फूल चोर्न इन्द्र काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा पुगेछन्। तर फूल चोरिरहेको अवस्थामा यहाँका स्थानीयले देखेपछि इन्द्रलाई समातेर बाँधेर राखे ।
इन्द्र आएको धेरै दिन भए पनि स्वर्गलोक नफर्किएपछि आमा अदितिले ऐरावत हात्तीलाई पृथ्वीमा पठाएछिन् । त्यसपछि इन्द्रलाई बाँधिराखेको थाहा पाएपछि अदिति आफैं पृथ्वी आइन् । यहाँका स्थानीयलाई कुहिरो दिएर उनले छोरा इन्द्रलाई छुटाएर लगेछिन् ।
इन्द्रजात्राका क्रममा लाग्ने कुहिरोले धान खेती राम्रो गर्ने जनविश्वास रहँदै आएको छ। त्यसपछि नै इन्द्रजात्रा मनाउन थालिएको कथन छ।
फूल चोरेको भन्दै सजाय पाएकोले इन्द्र देउतालाई पारिजात फूल चढाउन हुन्न भन्ने मान्यता पनि छ।