खोटाङ । जिल्लामा आठ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । एक्कासी टाउको दुख्ने, जोर्नी दुख्ने, आलस्य हुनेजस्ता लक्षण देखिएपछि उपचारका लागि जिल्ला अस्पताल आएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका पाँच, सोही नगरपालिका–६ नेर्पाका एक, रावाबेँसी गाउँपालिका–३ लामीडाँडाका एक र दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँका एक जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको हो ।
सङ्क्रमितमध्ये शरीरमा रगत कम भएका एकजना बिरामीलाई थप उपचारका लागि अन्यत्र रेफर गरिएको जिल्ला अस्पताल खोटाङका प्रमुख डा वैभव मल्लिकले बताउनुभयो । उहाँका अनुसार सङ्क्रमितमध्ये दुई जना जिल्ला अस्पतालमा र बाँकी पाँच जना आफ्नै घरमा चिकित्सकको सहयोगमा उपचार गराइरहेका छन् । डेङ्गु रोगको अहिलेसम्म खास उपचार छैन ।
यसको लक्षणअनुसार उपचार गर्नुपर्ने हुन्छ”, उहाँले भन्नुभयो, “लामखुट्टेको टोकाइबाट बच्ने, घर वरपर पानी जम्न नदिने, पूरा शरीर ढाक्ने लुगा लगाउने, सुत्दा अनिवार्य झुल प्रयोग गर्ने उपाय अपनाएर डेङ्गुबाट बच्न सकिने भएकाले यसप्रति सबै सचेत हुन आवश्यक छ ।”
एक्कासी लगातार ५–७ दिनसम्म उच्च ज्वरो आउनु, आँखाको गेडी तथा टाउकोको पछिल्लो भाग धेरै दुख्ने, शरीर कट्कटी दुख्ने, ढाड दुख्ने, कसैलाई रक्त श्राव हुने, जोर्नी, हड्डी तथा मांसपेशी दुख्ने, पाँच/छ दिनपछि शरीरमा बिमिरा आउने लगायतका शारीरिक समस्या देखिनु डेङ्गुको लक्षण भएको डा मल्लिकले बताउनुभयो ।