तनहूँ। भिमाद बजार सेती नदीको कटानले बर्सेनि जोखिममा पर्दै आए पनि बजार जोगाउन कुनै पहल नभएपछि स्थानीयवासी चिन्तित भएका छन् । बर्सेनि कटानमा पर्दै गएको भिमाद बजार संरक्षणका लागि पहल नहुँदा यहाँका स्थानीयवासी चिन्तित भएका हुन् ।
भिमाद नगरपालिका–६ कुमारचोकका प्रकाश कलकलले नदी कटानले बस्ती जोखिममा परेपछि घर छाडेर डेरामा बस्नुपरेको गुनासो गर्नुभयो । वर्षौंदेखि बस्दै आएका घरमा होटल चलाउँदै आएका उहाँले पुख्र्यौली घर छाडेर डेरामा बस्दा मन भारी भएको बताउनुभयो ।
“नदी कटानले जोखिममा परेपछि लामो समयदेखि बस्दै आएको घर छाडेर डेरा सरे”, उहाँले भन्नुभयो, “बस्ती जोगाउनेतर्फ सम्बन्धित निकायले चासो दिएनन् ।”
घर छाडेर हिँड्न मन नभए पनि परिस्थितिले यस्तो अवस्था आइपरेको उहाँको भनाइ छ । “निष्ठुरी प्रकृतिले विपत्ति निम्त्यायो, नदीको कटानले घरको पछाडिपट्टिको भाग पहिरा खस्यो”, उहाँले भन्नुभयो, “शौचालय पनि भत्कियो ।” केही दिन अगाडि गएको पहिराले शौचालय भत्किएपछि त्यसको भोलिपल्टै उहाँ डेरा सर्नुभएको थियो । “जोखिम मोलेर घरमा बस्न मिल्ने अवस्था भएन, डेरामा बसेर पनि ज्यान त बचाउनैपर्यो”, उहाँले भन्नुभयो ।
विसं २०५२ देखि यस ठाउँमा पहिराको जोखिम छ । भिमाद नगरपालिका–६ का वडाध्यक्ष श्यामसुन्दर जोशीले सेती नदी कटानले अहिले ४१ घर जोखिममा रहेको जानकारी दिनुभयो । उहाँका अनुसार विगतमा घरबाट सेतीको डिलसम्म १५ मिटरको दूरी थियो, तर अहिले एक इञ्च पनि दूरी छैन । “यसरी नै पहिरो खसिरहने हो भने नदीतर्फको मात्रै नभएर कुमार चोकको पूरै बस्ती जोखिममा पर्छ”, उहाँले भन्नुभयो ।