हुमाकान्त पोखरेल
गुल्मी। धुर्कोट गाउँपालिकाको विकासमा सहयोग गर्ने विभिन्न व्यक्तिहरु सम्मानित भएका छन् । संविधान दिवसको अवसरमा गाउँपालिकाले पालिकाको विकासमा सहयोग गर्ने विभिन्न व्यक्ति तथा संघ–संस्थाहरुलाई नगदसहित सम्मान गरेको हो ।
‘शहीद समशेरबहादुर खत्री पुरस्कार’ बाट नगद ५० हजारसहित पूर्व सासंद स्व. निलाम्बर पन्थी सम्मानित हुनुभएकाे छ। ‘शहीद खिम विक्रम नेपाली शैक्षिक वर्ष पुरस्कार’ नगद २५ हजार नगदसहित जैसिथोकको पाञ्चायन मावि पुरस्कृत भएको छ भने १५ हजार राशिको ‘शहीद खिम विक्रम नेपाली शैक्षिक वर्ष पुरस्कार’ बाट नयाँगाउँको देउराली प्रावि पुरस्कृत भएको छ ।
१५ हजार राशिको ‘शहीद जेदुराम भण्डारी कृषि वर्ष पुरस्कार’ बाट धुर्कोट –२ पिपलधाराका डिल बहादुर थापा, १५ हजार राशिकै ‘शहीद विष्णु बस्नेत वर्ष पशुपालक कृषक पुरस्कार’ बाट धुर्कोट –६ रजस्थलका भक्तबहादुर पाण्डे सम्मानित भएका छन् ।
१० हजार राशिको ‘उत्कृष्ट कर्मचारी बर्ष पुरस्कार’ बाट लेखापाल कमल महत, ‘उत्कृष्ट कर्मचारी वर्ष पुरस्कार’ बाट कार्यालय सहयोगी शिवराज पोखरेल, ‘उत्कृष्ट स्वास्थ्य सेवा बर्ष पुरस्कार’ बाट मेडिकल अधिकृत डाक्टर जनक पाठक सम्मानित भएका छन् ।
‘उत्कष्ट स्वास्थ्य सेवा वर्ष पुरस्कार’ बाट सिनियर अनमी भूमा थापा, ‘पत्रकारिता वर्ष पुरस्कार’ बाट टोपलाल अर्याल, ‘उत्कृष्ट शिषक वर्ष पुरस्कार’ बाट मदन कुमार सिंह र हुमबहादुर महत तथा ‘उत्कृष्ट विद्यालय कर्मचारी वर्ष पुरस्कारबाट राजु पछाई सम्मानित भएका छन् ।
सम्मानित हुने सबैलाई प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख लक्षमण पराजुलीले सम्मान पत्र हस्तान्तरण गर्नुभएकाे थियाे । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पराजुलीले सरकारले सबै क्षेत्रलाई समेट्नुपर्ने र त्यो काम धुर्कोट गाउँपालिकाले गरेको बताउनुभयाे ।
गाउँपालिकाको विकासमा सहयोग गर्नेलाई सम्मान गर्ने कार्य अन्य स्थानीय तहले सिक्नुपर्ने उहाँको भनाइ छ । त्यसका साथै उहाँले संविधानलाई सही ढंगले कार्यान्वयन गर्नका लागि सबै राजनीति दल एकजुट हुनुपर्ने धारणा राख्नुयभाे ।
गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले सम्मानित हुने व्यक्ति तथा संस्थालाई सफलता जोगाइराख्ने चुनौति थपिएको बताउनुभयाे । उहाँले अर्को वर्षदेखि पुरस्कारको दायरा बढाउने र सकेसम्म सबै क्षेत्रलाई समेट्ने बताउनुभयाे ।