काठमाडौं । कोरोनाअघि विशेष गरी नयाँ वर्ष, दशैं, तिहार, माघे संक्रान्ति र शिवरात्रीको छेकोमा आफ्नो फिल्म प्रदर्शन गर्न निर्माताहरू लालायित हुन्थे । एकै साता चारवटासम्म नयाँ नेपाली फिल्म भिड्ने गर्दथे । तर यसपटक दशैं तिहारमा फिल्म रिलिज गर्न नेपाली निर्माताहरु उदासीन देखिएका छन् ।
छक्का पन्जा–४, अशोक शर्माको अल्लारे–२, रेनेशा वान्तवा राईको आइएम २१, झरना थापाको ए मेरो हजुर–४, छविराज ओझाको नयाँ फिल्मलगायतले ०७७ को दशैमा प्रदर्शन हुने घोषणा गरेका थिए ।
तर, कोरोनाका कारण अहिले स्थिति फरक भएपछि सबै निर्माताहरु पछि सरेका छन् । अहिले सरकारले ५० प्रतिशत दर्शक राखेर हल चलाउन पाउने अनुमति दिएको छ । तर पनि यो दशैं तथा तिहारमा ठूलो ब्यानर तथा लगानीका मानिने कुनै फिल्म पनि प्रदर्शनमा नआउने भएका छन् ।
सरकारले अझैसम्म पनि उपत्यकाबाहिर हल सञ्चालन गर्न अनुमति दिएको छैन । त्यसमाथि उपत्यकामा पनि ५० प्रतिशत दर्शक राखेर चलाउनुपर्ने भएपछि करोडौ लगानीका फिल्म प्रदर्शन गर्ने मूर्खता कसैले नगर्ने निर्माता सन्तोष सेनले बताए । राज्यबाट न कुनै सहुलियत, सुविधा छ, न कुनै नीति नै । यस्तोमा रिस्क लिन नसकिने उनको भनाइ छ ।
वितरक तथा निर्माता रोहित कट्टेल चलचित्र विकास बोर्ड र हल सञ्चालकले निश्चित रकमको ग्यारेन्टी गर्ने हो भने आफू आफ्नो फिल्म ‘कृष्ण–लीला’ प्रदर्शन गर्न तयार रहेको बताउँछन् । तर कतैबाट पनि सकारात्मक कुरा नआएको उनले बताए ।
वितरक कट्टेलले यो दशैमा आफ्नो कम्पनी आरआर फिल्मले ‘धन्दागिरी’ नामक फिल्म प्रदर्शन गर्न लागेको जानकारी दिए ।२५ असोजमा ‘धन्दागिरी’ फिल्म हलमा रिलिज हुन लागेको उनले बताए । ठूलो आशा नभए पनि फिल्म चल्ने माहोल बनोस् भनेर रिलिज गर्न लागेको उनले प्रष्ट पारे ।
दशैंमै शोभित बस्नेत निर्देशित नयाँ फिल्म ‘डाँडाको वरपीपल’ पनि प्रदर्शन हुने भएको छ । यो फिल्मलाई बुढासुब्बा डिजिटलले निर्माण गरेको हो । बुढासुब्बाकै युट्युब च्यानल तथा बिएम एचडी टिभीका लागि निर्माण गरिएको यो फिल्म २६ असोजमा खुलेका हलहरुमा प्रदर्शन गरिने छ ।