लहान । कुनै बेला मिथिला क्षेत्रमा अत्यन्तै लोकप्रिय बनेको प्रसिद्ध ऐतिहासिक तथा साँस्कृतिक लोकनाच यतिबेला लोप हुन थालेको छ । लोकनाच लोप हुन थालेसँगै कलाकार रोजगारीको खोजीमा पलायन हुन थालेका छन्
मोबाइल फोन र सिडी चक्काको बढ्दो प्रयोग तथा उचित संरक्षणको अभावमा सातौँ र आठाैं शताब्दीदेखि मिथिला क्षेत्रमा प्रचलनमा रहेको मिथिला क्षेत्रका ऐतिहासिक, प्राचीन लोकनाच राजा सलहेस, शीतवसन्त, रुनाझुना, जङ्गली बादशाह, गोपीचन्द, कुँवर वृजभान, सुन्दर वनको सुन्दर फुल, अल्लाह रुदल, गुगलीघाट, सामाचकेवा, कमलामैया जस्ता नाच कालान्तरमा आएर लोप हुन थालेका हुन् ।
यस्तै जय विषहरा, दुलहा दयालासिंह, विदेशिया, दिनाभद्री, लोरिक, राजानल, राजा हरिश्चन्द्र, सती विहुँला, कारिक, महराई शोरवा महाराज, महराई, कारिक महाराज, आल्ला रुदल, झगडु मल जस्ता ऐतिहासिक लोकनाच पनि लोप हुन लागेका छन् ।
बढ्दो टिभी, सिडी र मोबाइलको प्रयोगसँगै ऐतिहासिक तथा प्राचीन लोकगाथाको नाच लोप हुन थालेको सुनाउँदै दशवर्षको उमेरदेखि नाँच गर्दै आएका सिरहा भगवानपुर गाउँपालिकाका ४० वर्षीय पनिराम साफीले भन्नुभयो, ‘‘नाच कम्पनी बन्द हुन थालेपछि आफूहरु बेरोजगार भएका छौं ।”
ऐतिहासिक र प्राचीन घटनामा आधारित यी लोक नाचहरु लोप हुन लागेकोमा संस्कृतिविद्समेत चिन्तित बनेका छन् । संस्कृतिविद् पूर्वप्राध्यापक पिताम्बरलाल यादवले भन्नुभयो, ‘‘मिथिला क्षेत्रको संस्कृतिको धरोहरको रुपमा रहेको लोकनाच लोप हुनु दुःखद कुरा हो ।”
ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको लोकनाचको संरक्षणमा सरकारको तर्फबाट उचित कदम चाल्नुपर्ने उहाँको भनाइ छ । मिथिला क्षेत्रसँग जोडिएको पल्लवित र पुष्पति भएको यस्ता लोकनाचको संरक्षण र सम्बद्र्धनमा ध्यान नदिए मिथिला क्षेत्रका संस्कृति हराउँदै जाने भएकाले सरकारले स्थानीय तहमार्फत बजेट छुट्याउनुपर्ने माग कलाकारको छ ।