नविन सुवेदी
सुर्खेत। प्रदेश लोकसेवा आयोगका अध्यक्ष रामप्रसाद उपाध्यायले आगामी पुस महिनासम्म रिक्त दरबन्दी पदपूर्ति गर्नका लागि विज्ञापन आह्वान गर्ने तयारी भइरहेको जानकारी दिनुभएकाे छ । उपाध्यायले यही आर्थिक वर्षभित्र पहिलो चरणको विज्ञापन गर्ने बताउनुभएकाे हाे ।
उपाध्यायले भन्नुभयाे, ‘हामी सकेसम्म पुस महिनासम्म, नसके यही आर्थिक वर्षभित्रै पहिलो चरणको विज्ञापन आह्वान गर्छौ नै’ अहिले आन्तरिक तयारी भइरहेको उहाँकाे भनाइ छ ।
उहाँका अनुसार लोकसेवा आयोग ऐन संशोधनका लागि प्रदेशसभामा पठाइएको छ । ‘पहिलाको ऐनमा सानो कुराको पनि अनर्थ लाग्ने कुराहरु देखियो । त्यसलाई सच्याउनका लागि हामीले प्रदेशसभामा ऐन पठाएका थियौँ । तर, अहिले सम्म पारित हुन सकेको छैन्’ अध्यक्ष उपाध्यायले भन्नुभयाे।
राजनीतिक किचलोका कारण प्रतिपक्षको अवरोधका कारण प्रदेशसभा नबस्ने भएपछि अध्यादेशबाट भएपनि ल्याइदिनुपर्यो भनेर आफूहरुले मुख्यमन्त्रीलाई भनेको तर, अहिलेसम्म कुनै सुनुवाई नभएको उहाँकाे भनाइ छ। अहिले कर्णालीमा कति दरबन्दी खाली छ भन्ने तथ्याङ्क संकलनको काम करिब ५० प्रतिशतमा पुगेको उपाध्यायले बताउनुभयाे ।
अन्य प्रदेशमा लोकसेवा आयोग गठन गरेर विज्ञापन आह्वान गरी आफ्नो प्रदेशमा कर्मचारी अभाव टार्ने काम भइसक्यो । कर्णालीमा भने लोकसेवा आयोगले पूर्णता पाएपनि विज्ञापन आह्वान गर्ने काम हुन सकिरहेको छैन ।
गत फागुन महिनामा प्रदेश लोकसेवा आयोगले पूर्णता पाएको थियो । अध्यक्षमा रामप्रसाद उपाध्याय नियुक्त हुनुभएकाे थियाे भने सदस्यमा वसन्ती शाही र भक्तबहादुर खड्का नियुक्त भएका थिए । तर, अहिलेसम्म प्रदेश लोकसेवा आयोगले अधिकारलाई समुचित प्रयोग गर्दै आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने कार्यलाई अगाडी बढाउन सकिरहेको छैन् ।
प्रदेश लोकसेवा आयोग कार्यालयका शाखा अधिकृत प्रेम आचार्यले लोकसेवा आयोगले आन्तरिक तयारी थालिरहेको बताउनुभयाे । प्रदेश लोकसेवा आयोग ऐन पास भइ नसकेकाले केही काम गर्न अवरोध पनि भएको उहाँले बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘भर्ना प्रणालीको सफ्टवेयर तयार भएको छ । कुन स्थानीय तहका कति दरबन्दी रिक्त भन्ने विवरण संकलन गर्ने काम अघि बढिसकेको छ ।’
उहाँका अनुसार अहिलेसम्म ७९ वटा स्थानीय तहमध्ये २६ वटा स्थानीय तहको विवरण आइसकेको छ । विवरण आएका स्थानीय तहहरुमा धेरैजसो प्राविधिक जनशक्ति रिक्त रहेको उहाँले जानकारी दिनुभयाे ।