हुमाकान्त पोखरेल
गुल्मी । जिल्लामै पहिलो पटक मालिका गाउँपालिका ‘पूर्ण संस्थागत प्रसूति गाउँपालिका’ घोषणा भएको छ । बिहीवार एक कार्यक्रमबीच जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण पराजुलीले गाउँपालिकालाई ‘पूर्ण संस्थागत प्रसूति गाउँपालिका’ घोषणा गर्दै त्यसको प्रमाण पत्र गाउँपालिका अध्यक्ष रित बहादुर थापालाई प्रदान गर्नुभयाे ।
नेपाल सरकारको स्थानीय तह स्वास्थ्य कार्यक्रम संचालन निर्देशिका बमोजिम जिरोहोम डेलिभरी घोषणाका लागि आवश्यक मापदण्डहरु पूरा भएकाले गाउँपालिकालाई ‘पूर्ण संस्थागत प्रसुति गाउँपालिका’ घोषणा गरिएको हो ।
गत आर्थिक वर्ष ०७७/७८ मा गाउँपालिका भित्रका सबै वडाहरुका कूल ३३२ जना गर्भवती भएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक बसन्तराज भुसालले जानकारी दिनुभयाे । जसमा २४२ जना गाउँपालिका भित्रैका बर्थिङ्ग सेन्टरमा गर्भवती भएका छन् ।
कसरी सम्भव भयो त ?
‘पूर्ण संस्थागत प्रसुति गाउँपालिका’ घोषणाका लागि गाउँपालिकाले विभिन्न चरणमा योजनाबद्ध रुपमा काम गरेको थियो । गाउँपालिकामा आव ०७४/७५ सम्म चारवटा मात्रै बर्थिङ्ग सेन्टर थिए । त्यसपछि गत आर्थिक jर्षसम्म चारवटा बर्थिङ्ग सेन्टर थप भए । अहिले पालिकाका सबै वडामा बर्थिङ्ग सेन्टर छन् । मालिकाको वडा नम्बर ६ अर्जैमा रहेको गर्भवती महिलाको घरमा हरियो झण्डा राख्ने कार्यक्रम सबै वडामा विस्तार गरियो ।
गर्भवतीलाई एक क्यारेट अण्डा, सुरक्षित मातृत्वसम्बन्धि सडक नाटक, बहुनिकाय अन्तरक्रिया, विद्यालय स्वास्थ्य शिक्षा जस्ता कार्यक्रम संचालन गरिएको प्रमुख प्रशासकीय अधिकृत दिपक भण्डारीले जानकारी दिनुभयाे ।
महिला सामुदायिक स्वास्थ्य स्वयंमसेविकामार्फत १८० आइरन र टिडी खोप लगाएको, वडा नम्बर २ को च्यानडाडाँ, वडा नम्बर ५ को छाप र वडा नम्बर ६ को अर्जैबेसी कुमालगाउँमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरिएको, अत्यावश्यक अवस्थामा गर्भवतीलाई स्वास्थ्य केन्द्रसम्म जान–आउन निःशुल्क एम्बुलेन्सको व्यवस्था गरिएको र यस्तै कार्यले गर्दा पूर्ण संस्थागत प्रसुति पालिका घोषणा गर्न सफल भएको प्रमुख प्रशासकीय अधिकृत भण्डारीले जानकारी दिनुभयाे ।