काठमाडौं । २०७७ सालको मदन पुरस्कार लेखक भगिराज इङ्नामलाई प्रदान गरिने भएको छ।
मदन पुरस्कार गुठीले लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह सम्वत् १७१९–२०२० लाई मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
यस्तै २०७७ सालको जगदम्बाश्री सम्मान नृत्यशास्त्री भैरवबहादुर थापालाई प्रदान गर्ने निर्णय गरेको गुठीका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिनुभयो ।
यस अघि मदन पुरस्कारका लागि इङ्नामको लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रहसहित नौ वटा पुस्तकहरु श्रेष्ठ सूचीमा सार्वजनिक गरिएको थियो । २०७७ को मदन पुरस्कारका लागि प्राप्त दुई सय २२ पुस्तकमध्ये गुठीले १५ साउनमा नौ पुस्तकको श्रेष्ठ सूची सार्वजनिक गरेको थियो।
जसमा गिरि श्रीस मगरको एकलव्यको देब्रे हात, कृष्ण अविरलको करिया, कुमार नगरकोटीको कल्प–ग्रन्थ, भैरवबहादुर थापाको नृत्याक्षर विज्ञान, प्रभा बरालको फिलिङ्गो, लेखनाथ क्षेत्रीको फुलाङ्गे, केशव दाहालको मोक्षभूमि, जेसन कुँवरको रमिते र भगिराज इङ्नामको लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह सम्वत् १७१९–२०२० रहेका थिए।
गुठीले २०१३ सालदेखि मदन पुरस्कार र २०४५ सालदेखि जगदम्बाश्री सम्मान प्रदान गर्दै आएको छ। दुवै पुरस्कारको राशि चार लाख नगद सहित सम्मानपत्र रहेको छ।