राज दयाल
ओखलढुंगा । जिल्लामा यस वर्षको चाडपर्व लक्षित सुरक्षाका लागि २ सय ५५ जना प्रहरी परिचालन भएका छन् । दशैं, तिहार र छट जस्ता चाडपर्वमा हुने सक्ने अप्रिय घटनालाई मध्यनजर गर्दै विशेष सुरक्षा योजनाका लागि उक्त संख्यामा प्रहरी परिचालन भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख प्रहरी नायव उपरीक्षक गोविन्दराज काफ्लेले आज (बिहीवार) जिल्लाका सञ्चारकर्मीहरुसँग कुरा गर्दै चाडपर्व सुरक्षा योजना बनाई लागू गरिएको बताउनुभयाे ।
उहाँले राजमार्गमा हुने चोरी, लुटपाट र डकैती नियन्त्रण गर्ने, दुर्घटना न्यूनीकरणका लागि चेकजाँच बढाउने, बजारमा कालोबजारी र कृतिम अभाव सृजना हुन नदिने, जुवाजन्य गतिविधि तथा क्रियाकलापहरु पूर्ण रुपमा नियन्त्रण गर्ने जस्ता विभिन्न १४ वटा बुँदाको उदेश्यसहित सुरक्षा योजना बनाईएको बताउनुभयाे ।
त्यसका लागि एक कमाण्ड पोष्ट, २ वटा गाडी मोबाईल, १९ पैदल गस्ती, १६ वटा मोटरसाईकल गस्ती लगायतका ११ प्रकारका ६६ वटा ड्युटी परिचालन गरिएको उहाँको भनाइ छ । चाडपर्व लक्षित विशेष सुरक्षाका लागि परिचालन भएका २ सय ५५ जना बाहेक अन्य प्रहरी आवश्यकता अनुशार परिचालनका लागि तयारी अवस्थामा राखिने उहााले बताउनुभयाे ।
सुरक्षा योजना लागू गर्न स्थानीय प्रशासन र स्थानीय तहसँग समेत समन्वय गरिने जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।