-भैरव अर्याल
“धनपति मागे भीक, मेरो नाउँ ठीकका ठीक” भनेझैँ मलाई पनि एकपल्ट आफ्नो नामदेखि साह्रै जङ चलेर आयो । आफू देख्दा बकुल्लोजति गोरो छु, तर मान्छे भनिदिन्छन् ‘कालू’ । सलसलाउँदी युवतीलाई ‘छयाके पुतली’भन्दा कति जाग्लिन् ? अनि म नजागूँ कसरी ! अचेल कसैको नामको पुच्छर काटेर ठुटे गराएका छन्, कसैले भने भएको पुच्छरले नपुगी अर्को पुच्छर गाँसेर द्वि पुछ्रे हुनुपरेको छ । अँझ कोही नाममा भए–नभएको टुपीसमेत गाँसेर ठूलाबडाको झन्डा फहराउँछन् ।
कोही राख्ने नाउँलाई फार्ने गराउँछन्, कोही फार्नेलाई राख्ने । विष्णुका सहस्र नामजस्तै एउटै मान्छेका सत्रोटा नाम पनि सुन्नुपरेको छ । ००७ सालको राजनीतिक क्रान्तिसँगसँगै जोरिइर आएको यो नाम क्रान्तिले मलाई पनि नउराली छाडेन । म कति दिन ‘कालू’ को ‘कालू’ रहेन ? राख्ने नामलाई नै फार्ने गराऊँ न त भने झन् नमिल्दो छ ‘खडेश्वर’ । ठूलाबडाको सामु दुई मिनेट खडा हुनुपर्दा कामज्वरो चढेझैँ लगलग पाँसुला काम्ने मेरो नाम ‘खडेश्वर’ । पहिलो कुरा त के छ भने बाबुदेखि लिएर साहूसम्म सबैको जिभ्रामा झुन्डिएको छ– कालू । प्रख्यात भैसकेको नाम छाडेर मलाई कल्ले खडेश्वर भन्ने ? भनिहाले पनि नाम बिगारुकलामा सुप्रसिद्ध हाम्रा साथीभाइले खडेश्वरलाई छोट्टयाएर फकाउनुपरे ‘खडु’, होइन भने ‘खडे’ भनिदिन्छन् ।
हाम्रा गाउँका मामा आफ्नो नाम बताउँदा चतुर्भुजप्रसाद उपाध्याय भनी बडो गर्व गरेर भन्छन्, तर उनलाई गाउँघरेहरूले ‘चतुरे बाहुन’ भनेको पत्तै छैन । हाम्रा ठूल्दाइ मेरो नाउँ त ‘काजी गजाधरबहादुर उप्रेती क्षेत्री’ भनेर गजक्क पर्छन् । बाहिर सुन्ने हो भने उनलाई ‘गजेखत्री’ सिवाय केही भन्दैनन् । सायद पैसा कमाउन या मान पाउन सकेको भए मेरो नाममा अलि सुधार गरिदिन्थे होलान् कि ? त्यसो भए पनि हद्द भन्लान्– खडुबाबू वा अँझ छोटकरीमा– खडुकाजी । हुँदाहुँदा मेरो असली नाम ‘खड्काजी’ हुन बेर छैन । अब भन्नुहोस्, म झर्रो उप्रेती क्षेत्रीलाई खड्काजी भनिदिए भने नाम त फरक पर्योह पर्योु, थर, गोत्र पनि बदलिने भयो । अर्को कुरा मेरो राख्ने नाम पेटफार्योद ‘ष’बाट उठेको हो कि मोटो ‘ख’बाट उठेको हो त्यसमा पनि पुरेतबाजेको र हाम्रा बाजेको मतभेदै छ । त्यसैले राख्ने नाम चल्तीमा ल्याउने त मेरो कुरै छैन ।
अब म आफ्नो नाम के राखूँ ? विष्णुसहस्रनाम, गणेशसहस्रनाम, सूर्यका बाह्र नाम इत्यादि शास्त्रीय नामदेखि लिएर आफूले आजसम्म हेरेका फिल्म, उपन्यास र नाटकका पात्रहरूका सारा नाम म छान्न थालेँ । इष्टमित्र, साथीभाइ, ठूलाबडा सबैको नाम पनि सम्झन थालेँ । यतिसम्म कि जरसाहेब, करसाहेब, मैयाँसाहेब, बिबीसाहेब इत्यादि ठूलठूला साहेबसाहेबनीका काखमा पालिने कुकुर, बिरालो, खरायो आदिको नामसमेत मैले आफ्नो सूचीपत्रमा सम्झेसम्म टिपेँ । साँच्ची भनूँ भने तिनताक मेरो मगजमा नामछनोट समितिको एउटा धूमधामको अफिसै खुल्यो ।
म आफ्नो नाम राख्न चाहन्थेँ आधुनिक भावपूर्ण र आफूसुहाउँदो । शास्त्रीय नामदेखि पनि मलाई झोक उठिसकेको थियो । पल्ला गाउँको ठूले– जो हप्तामा तीन पटक भेडो काटेर बेच्थ्यो– उसको नाम बुद्धरत्न रे ! यसलाई अहिंसावादी बुद्धको बेइज्जती नभने के भन्ने ? पिँडालुटारका सुब्बा भनेपछि गरिबगुरुवा थर्कमान हुन्थे । दुई मुठा प्याज बेचेको पैसाले दुई हजारसम्म ब्याज लगाउन सक्ने सुब्बाको दयामायाबारे के बयान गर्नु ! तर उनैको
नाम थियो दयाराम । छुच्चोमा खोज्न गए तीन सहर नेपाल वर्णाएका हाम्रा जरसाहेबको नाम दानवीर ! हाम्रा बाजेको पालामा जिल्लामा हाकिम भएर घूस खाँदाखाँदा कोक्रामा कुरमुर्याएिर ल्याइएका तल्ला गाउँका बूढाको नाम धर्मजङ्गछ । टाढा किन जानु ! दिनको तीन फेर पेग र पुलाउबेगर नहुने हाम्रै छिमेकीको नाम शिवभक्त ।
यसैले यस्ता स्वभाव नमिल्ने नाम राख्नुभन्दा बेनामी नै बसूँजस्तो मलाई लाग्यो । मेरी श्रीमतीलाई पनि आफ्ना पतिदेवलाई अरुले ’कालु’ भनेकोमा खेद लागिरहेकै थियो । त्यसैले उनी पनि मेरो नाउँ–फेर आन्दोलनमा ज्यूज्यानले सहयोग दिइरहिथिन् । एक दिन बेलुका सूचीपत्र पल्टाउँदै भनिन्– “उसो भए हजुरको नाम सुन्दर राख्ने ।“ प्रस्ताव मलाई पनि रमाइलै लाग्यो । तर झलक्क सम्झेँ– आफ्नो नाम त सुन्दर राखुँला तर सुन्दरकी पत्नीलाई कसैले ’सुन्दर पत्नी’ या ’सुन्दरी’ भनिदिएको खण्डमा के अलि बिझओन ? तैपनि सुन्दर नाम सुन्दरै हो । आफ्नो अनुहार पनि त्यति असुन्दर कहाँ छ र ! जेसुकै होस्, यही राख्नुपर्योे भनेर सम्झँदै थिएँ, हाम्रा नेत्रबहादुर काका टुप्लुक्क आइपुगे । दिइटै आँखाँ चिम्सा भएका हाम्रा काकालाई अक्षर हेर्नुपर्योम भने चस्माभन्दा माथि पनि हातले ओझेल पारेर हेर्नुपर्थ्यो । ’जुन गोरुको सिङ छैन उसको नाम तीखे’ भन्ने न्यायअनुसार उनको नाम नेत्रबहादुर रे भन्ने सुन्नासाथ हाम्री दुलही खिल्ल हाँसिन्।
काका पन्छिएपछि जोईपोइ बसेर फेरि नाम खोज्न थाल्यौँ । ठूलाघरे बहिराको नाम कर्णबहादुर । दुइटै हात झरेर देउपाटनको सडकमा पैसा माग्नेको नाम हस्तबहादुर । जन्मैदेखि डेढी मेरी जेठानदिदीको नाम सुलोचना । बिफरले छयाकैछयाका भएकी बिचारी सालीको नाम रुपवती । फूः गर्दा थानकोट काट्ला जस्तो मेरो भाइको नाम वीरबहादुर । देख्दै यमराजको दूत होला जस्तो दाह्रे जिम्दारबाजेको नाम कामदेव रे ! भएन के ! अनि मलाई रुप बुझाउने नाम पनि मन परेन । अरू सबै थोक सुन्दर भएर के गर्नु ? कोदालीपाते तजस्ता आफ्ना दाँतले पोल खुस्काइहाल्छन् भने म कसरी ’सुन्दर’ नाम राखूँ ?
मेरी दुलही हरेराम पार्टीकी भूतपूर्व सदस्यी भएकीले हो कि किन हो, फेरि अर्को नाम झिकिन्– “मथुराकुमार राखे कसो होला ?“ हुन त हो, ठाउँबाट पनि नाम राख्नु राम्रो हो । मैले आफ्नो अड्डाका हाकिम अयोध्यामान, टाइपिस्ट जमुना आदिको नाम सम्झेँ । तर यसबाट झन् हाँसो उठ्यो । ठाउँबाटै नाउँ राख्ने हो भने नेपालीहरू आफ्नै स्वदेशी नाम किन राख्दैनन् ? चिनियाँमानको सट्टा चिसापानीमान किन नराख्ने ? यस्तै जमुनादेवी, गङ्गोकुमारी, डिल्लीरमण आदिको सटो जाजरकोटदेवी, गण्डकीकुमारी र दिङ्लारमण राखे के पर्ला ? यस्तो सङ्कुचित विचार नलिऊँ भने हुन्छ, ल, कसैको काहिरामान, कसैको पेकिङराज, कसैको लन्डनकान्त, कसैको पेरिसकुमार, कसैको न्युयोर्कप्रसाद राखौँ । के भन्नु ? देउतैको नाम लिऊँ भने पनि नेपालमा ’पशुपतिनाथ’भन्दा ’विश्वनाथ’ भन्ने नाउँको चल्ती भएको सम्झँदा मैले आफूहरूको नक्कली संस्कारलाई पाचँपल्ट स्याबासी दिएँ ।
फेरि सूचीपत्र पल्ट्यो । ’परदेशी’, ’पहाडी’, ’विकल’, ’विद्रोह’, ’विप्लव’, ’चेतन’, ’अज्ञात’, ’कञ्चन’, ’रोचक’, ’रुचिकर’, ’अशान्त’, ’त्यागी’, ’वियोगी’, ’विरही’, ’कुसुम’ इत्यादि आधुनिक पुछ्रे नामहरू आए । आफूलाई पहिलो एउटा सिङ्गै नाम चाहिने, त्यसपछि पो चङ्गाको पुच्छरझैँ यस्तायस्ता उपनाम झुन्डयाउन सजिलो हुन्थ्यो त ! सबे केलाएर हेर्दा सिङ्गै हुन पुग्ने कुनै नाम देखिएन । स्वदेशमै बसेर ’परदेशी’ कसरी भनिने ? टेरिलिन सुट लगाएर नयाँसडक घुमिरहनुपर्ने । आफूलाई ’पहाडी’ भन्ने स्वाङ देखाउन पनि मन लागेन । नेपाल पहाडी प्रदेश भन्ने कसलाई थाहा छैन र म पहाडी हुँ भन्ने विज्ञापन गरिरहनु ? त्यस्तै ठूलाबडाले उखु चुसेझैँ चुसिरहँदा चुँक्क बोल्न नसक्नेले विद्रोही, विप्लवी इत्यादि पुच्छर के झुन्डयाऊँ ? अरुले भने भनोस् नभने नभनोस् आफूले आफैँलाई रोचक, त्यागी, कञ्चन, कुसुम इत्यादि नाम दिन पनि मपाईंको प्रदर्शन गर्नु हो जस्तो लाग्यो । विकल, विरही, वियोगी, अशान्त इत्यादि जे भने पनि अलि रुन्चे भाव देखाउनु छ भने म आफ्नो पुछ्रे नाम पिन्चे, पिलन्धरे यस्तै कुनै प्रस्ट नेपालीमा राखिदिन्थेँ ।
जे होस्, धेरैजसो हिन्दुस्तानीहरूबाट नक्कल गरिएका र हिन्दी–संस्कृतबाटै कोसेलीझैँ लिइएका यस्ता पुछ्रे नामले मलाई निकै दिन अलमल्याए तापनि यिनैबाट आफ्नो नामकरण गर्न भने अलि चित्त बुझेन । मैले यस्ता नाम राख्नेहरूको खिसी गरेको त नसम्झनुहोला नि ! आफ्नो प्रधान नाम नभएकोले पुछ्रे नाम मात्रै राख्दा ’दौरा न सौराको गोजी’ होला भन्ने गन्थन मात्रै गरेको ।
श्रीमतीले अर्को प्रस्ताव राखिन्–
नाम जस्तोसुकै भए पनि इङ्ग्लिस–कट गरिदिए त भलादमीको ठाउँमा भलादमी, आधुनिकको ठाउँमा आधुनिक, कसो ? उपाय सजिलै हो । ’के. एस्. काजी’ भनिदियो कालूसिंह काजी पनि खडेश्वर काजी पनि दुवैतिर मिल्छ । राख्ने न फार्नेको इङ्ग्लिस–कट ठ्याक्कै ! अब भने समस्या समाधान भयो भनी फुर्कँदै थिएँ, दिल्ली रोडका बाबूसाहेबलाई झल्याँस्स सम्झियो । उनको नाम थियो टी. बी. सिंह । नाम सुन्दा कतिले उनलाई टी. बी. भएको हो कि भन्ने शङ्का पनि गर्थे । ताराबहादुरलाई इङ्ग्लिस–कट गराउँदा त्यो आपत् पर्योए । त्यसले उनका दाजु टीकाचन्द्रचाहिँ आफ्नो नाम कसैले इङ्ग्लिस–कट पारेर मारिदेला भनी सधैँ थर्कमान रहन्थे । जे होस्, मलाई यस्तो आपत्ति त केही थिएन, ’के. एस्. काजी’ नाम जमेकै हो । तर के गर्नु र, नेपाले खस्रो जिभ्राले बेलायती उच्चारण गर्नुपर्दा के. एस्. काजीलाई बिगारेर केशकाजी, क्यासकाजी, क्याँसकाजी गर्दागर्दै आफू मरेपछि छोरानातिले ’ग्याँसकाजीस्तृप्यन्ताम्’ गरिदिन के बेर ? फेरि कुल्लीसिंह र खन्ती साहूको इङ्ग्लिस–कट पनि त के. एस्. नै हुन्छ नि ! त्यसैले इङ्ग्लिस–कट नाम झन् खतरनाक लाग्यो ।
एक महिनाको परिश्रममा मैले कुनै पनि नाम मन नपराएपछि मेरी श्रीमती पनि खूबै झोक्किन् र भनिन्– “अब तपाईंलाई सुहाउने नाम त एउटै बाँकी छ ‘लिँडो’ ।“ हुन पनि जस्तो नाम ल्याए पनि मन नपर्ने मलाई मेरी दुलहीले के नाम राखिदिऊन् त ! मैले उनलाई स्याबासीको धाप दिदैँ भनेँ– “बल्ल ल्यायौ आफू सुहाउने नाम ।“ त्यहाँदेखि मेरो नाम रह्यो– ‘लिँडे कालू’ ।
(ललितपुर स्थित कोपुण्डोलमा वि.सं. १९९३ साल असोज ५ गते जन्मिएका तीर्थनाथ अर्याल नै आधुनिक नेपाली हास्यव्यङ्ग्यका शीर्ष व्यक्तित्वका रुपमा स्थापित हास्यव्यङ्गयकार भैरव अर्याल हुन् । उनको चिनाको नाम होमनाथ अर्याल र आमाको नाम खेमकुमारी हो संस्कृत भाषाको अध्याय शिक्षा आरम्भ गर्ने अर्यालले २०२५ सालमा अंग्रेजीमा स्नातक र २०२६ सालमा नेपालीमा स्नातकोत्तर परीक्षा उत्तीर्ण गरेका थिए । केही समय शिक्षण पेशामा संलग्न रहेका अर्यालले २०१८ सालदेखि २०३३ सालसम्म गोरखापत्र संस्थानको सम्पादकीय फाँटमा रही पत्रकारिता गरेका थिए । प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित २०२२ सालको कविता महोत्सवमा ‘नैतिकताको आराधना’ शीर्षकको कविता प्रथम भई स्वर्णपदक प्राप्त गर्न सफल अर्याल साहित्यका बहुआयामिक प्रतिभा हुन् । २०१३–२०१४ सालतिर ‘हालखवर’ पत्रिकामा ‘खोला पारीको पुरेतबाजे’ का नामबाट ‘सरकारले दुलो खोज्नु पर्ला’ शीर्षकमा प्रकाशित रचना नै उनको पहिलो प्रकाशित हास्यव्यङ्गय रचना मानिन्छ । ‘अ
लभर भैया’, ‘भारवि’, ‘विष्णु शर्मा’, ‘वकमफुस शर्मा’ आदि उपनामले समेत हास्यव्यङ्गय सिर्जनामा संलग्न अर्यालका ७ वटा हास्यव्यङ्गय कृति र दर्जनौं फुटकर रचना प्रकाशित हुन् उनका ‘काउकुती’ (२०१९), ‘जयभुँडी’ (२०२२) ‘गलवन्दी’ (२०२६), ‘इतिश्री’ (२०२८) र ‘दश अवतार’ (२०३३) ‘टेढो ऐना’ (२०६५) ‘कारिन्दाको दिनचर्या’ (कविता सङ्ग्रह) कृतिहरू नेपाली साहित्यकै उत्कृष्ट निधि मानिएका छन् । ‘साझा कथा’, ‘साझा निबन्ध’, ‘रचना’, ‘रत्नश्री’, ‘गोरखापत्र’, ‘मधुपर्क’, ‘छ्याकन’ ‘चन्द्रलोक’ आदि पत्रपत्रिका र सामयिक संग्रहको कुशल सम्पादक अर्याल मूलतः हास्यव्यङ्गयका शास्वत शिल्पि हुन् ।
गम्भीर अभिरुचि र अध्ययनका कारण भैरव अर्यालको कलम कविता, कथा, समालोचना र निबन्ध सबैतिर दौडन्थ्यो । साहित्यमा उनको योगदान बहुआयामिक रहे पनि उनको व्यक्तित्वको सर्वाधिक प्रभावशाली पक्ष भने हाँस्यव्यङ्गय लेखन नै हो ।
हाँस्यव्यङ्गयका सन्दर्भमा अर्यालको मत थियो–“एकथरी ठान्लान् हाँस्यव्यङ्गय भनेको अरुलाई उडाएर हाँस्ने कला हो, तर त्यो उडाइने ‘अरु’ व्यक्तिमा सीमित रह्यो भने त्यस व्यङ्गयले हाँस्यको होइन वैमनस्यको सिर्जना गर्दछ । त्यसैले व्यङ्गय व्यक्तिको होइन, व्यक्तिभित्रका अड्मिल्दा, विल्याँटा र विग्याहा प्रवृत्तिमाथि हुनुपर्छ जसले साधारणीकृत भई त्यस खालका प्रवृत्ति हुनेहरू सबैलाई छुन सकोस् ।“
अर्यालले २०३३ सालमा आत्महत्या गरेर मृत्युवरण गरेर आफ्नै जीवनमाथि पनि क्रुर खालको व्यङ्ग्य गरे । उनको जन्मजयन्तीको सन्दर्भमा उनीद्वारा रचित यो व्यङ्ग्य लेख प्रस्तुत गरेका हौं, जुन आजपर्यान्त उत्ति नै सान्दर्भिक र ताजागी लाग्छ –सम्पादक ।