-मन्दिरा मधुश्री
आज ठ्याक्कै पाँच वर्षपछि अकस्मात तिमीसँग जम्काभेट भयो । उमेरले, व्यवहारले, या त कुनै पीरले नै पो हो कि, तिमी त अलिक बूढो पो देखिएछौ जाबो यति चार वर्ष भित्रमा । हुन त मेरो तिमीसँग कुनै प्रकारको आत्मीय नाता र सम्बन्ध बाँकी थिएन अब तैपनि किन हो, म सल्याकसुलक भएकी थिएँ तिमीलाई देखेपछि । मन मस्तिष्क मात्र हैन आँखा पनि एकाएक पग्लिएका थिए । अनि मलाई मान्न करै लाग्यो कि मबाट जति पर भागे पनि मेरो अन्तःस्करणमा अझै पनि रहेछौ तिमी त ।
तिम्रो पनि त मुख एक्कासि अँध्यारो भएको थियो । सायद आफ्नो गल्ती महसुस भएर आत्मग्लानिले पो हो कि ? अथवा मप्रतिको मायाले, अलिक छुट्याइँन मैले तर आत्मग्लानिले नै हुनपर्ने हो ।
तिमी आफ्नै परिवारसँग थियौ । सानो परिवार सुखी परिवार । तिम्रो हात समाएर हिँडिरहेको सानो छोरो र देब्रेपटि श्रीमती । हो, यस्तै सुखि परिवारको कल्पना त गरेकी थिएँ नि मैले पनि तिमीसँग । हाम्रो मायाको चिनो हाम्रो प्यारो सन्तान्, तिमी अनि म । बस्......। यो भन्दा खुशी के अरु के नै पो हुन सक्थ्यो र जीवनमा.... ? तर यो मेरो कोरा रहर वा अपूर्ण चाहना मात्र थियो । कहिले पूरा नहुने । यो त हामी दुवैलाई थाहा भएकै हो ।
विवाह भएको पाँच वर्षसम्म पनि हाम्रो कुनै सन्तान नभएपछि विभिन्न प्रश्न र टिका टिप्पणी उठ्ने गरेका थिए । सबैको प्रश्नसूचक दृष्टि मतिर नै केन्द्रित भएर तेर्सिएका हुन्थे । शुरुमा त दुवै भर्खरका छन्, रमाईलो गर्न एक दुईवर्ष ढिलो गरेका होलान् भन्ने थियो घर माइती सबैको । तर दुई पुगेर तीन वर्ष लागेपछि भने सबैको चासो मात्र होइन शंका बढेको थियो मप्रति ।
कुनै पनि प्राणीको शिशु जन्मनको लागि अथवा नयाँ सृष्टिका लागि भाले र पोथिको सहवास हुनुपर्छ । प्रकृति र पुरुषको समान सहभागिता वा रज र वीर्यबाट नै नयाँ जीवको सृष्टि हुन्छ । यो धु्रव सत्य कुरा हो । सबैलाई थाहा पनि छ । तापनि हाम्रो हकमा भने एकोहोरो थियो यो कुरा ।
खास गरि मेरा घर पट्टिका आफन्त सबैले सन्तान नहुनुमा कमजोरी मेरो ठान्न थालेका थिए । त्यसैले त मलाई नै दोषि ठहर्याएर ‘योबाट सन्तान हुँदैन, अब वंश लोप हुनबाट बचाउन अर्काे केटी बिहे गर्नु पर्छ’ भन्ने दवाव दिन थाले । मलाई सिधै बाँझोपनको आरोप लगाउनुले शंकासम्म पनि गरेनन् कि उनैका छोरा, भाइ, भतिजो नै पो कतै नपुशंक छ कि ?? श्रीमतीबाट सन्तान नहुँदा मात्र होइन, छोरा नहुँदा पनि चार पाँचवटी सम्म स्वास्नी बिहे गर्ने हाम्रो पुरातन सामाजिक मान्यता र संरचना हो ।
हुन त आफूलाई पढेलेखेको, शिक्षित भनाउँदाहरुले यस्ता संरचनाहरुको भग्नावशेषलाई भत्काउन खोज्नु पर्ने हो । तर उल्टै यस्ता धराप भग्नावशेषहरुलाई टालटुल पारेर संरक्षण गर्न खोज्छन् मात्र हैन खोजे आफ्ना भनाउँदा सबैले र खोज्यौ तिमी स्वंयले पनि ।
म आफैँ स्वास्थ्यको क्षेत्रमा काम गर्ने भएकोेले मैले आफ्नो परीक्षण गराइसकेकी थिएँ । ढुक्क थिएँ कि म सन्तान उत्पादन कार्यमा पूर्णत सक्षम नै छु । अब शंका तिमीमा थियो । त्यसैले त मैले “एकचोटी तिमी आफ्नो परीक्षण गराऊ न है ” भन्दा कस्तरी रिसाएका थियौ मसँग ।
“पुरुषमा कहिल्यै पनि अपूर्णता हुनै सक्दैन” भन्ने परम्परागत रुढीगत मानसिकताबाट तिमी पनि पूर्णत ग्रस्त नै रहेछौ । पुरुष अहम् र इगोले “कतै आफू नै पो असक्षम छु कि” भन्ने शंका मात्र पनि गर्न दिएन आफैँलाई । म स्वास्थ्यको क्षेत्रमा काम गर्ने भएकोले कार्यक्षेत्रकै डाक्टरको सहयोग लिएँ मैले । उनैको निर्देशनमा मैले सुटक्क तिम्रो वीर्य सुरक्षित रुपमा संकलन गरेँ एकदिनको सहवासकालमा । तिम्रो पुरुषत्व परीक्षण गराइसकेकी थिएँ तिमीलाई थाहै नदिइकन ।
अन्ततः मेरो शंका शंका मात्र रहेन । प्रमाणित नै भयो । जब मैले तिम्रो रिपोर्ट हेरेँ । म त झण्डै बेहोस नै पो भएकी थिएँ । एकातिर ढुक्क पनि र अर्कातिर दुःख । ढुक्क यसकारण कि म, आमा बन्न सक्ने क्षमता भएकी पूर्ण नारी थिएँ र दुःख यसकारण कि, मभित्र तिम्रो (हाम्रो) सन्तान जन्माउने र हुर्काउने कत्रो ठूलो रहर थियो तर त्यो सबै चकनाचुर भएको थियो । किनकी तिमी कहिल्यै बाबु बन्न सक्ने थिएनौ । जैवीक रुपमा तिमी सन्तान उत्पादन गर्न असक्षम थियौ ।
जब मैले तिम्रो रिपोर्ट तिमीलाई देखाएथेँ, कस्तरी तिमीले मलाई नै हात उठाएका थियौ । अनि रिपोर्ट हेर्ने बित्तिकै कस्तरी च्यातेर धुजा धुजा पारेका थियौ । आफ्नो कमजोरी स्वीकार्नको डरले । अनि रिपोर्ट झुटो सावित गर्न । अथवा आफू पूर्ण पुरुष हुँ भन्ने साबित गर्न ।
पुरुष अहम् र इगोले तिमीलाई बिछिप्त बनाएको थियो । अहँ, कुनै पनि हालतमा तिमी आपूmलाई नपुंसक मान्न तयार थिएनौ । विज्ञान र प्रविधिले प्रमाणित गराएपनि । घर, परिवार, आफन्त यानेकि सम्पूर्ण पुरुष प्रवृत्तिमा तिमी जितेर देखाउन चाहन्थ्यौ । तिमी प्रमाणित गर्न चाहन्थ्यौ पुरुषत्वको । तर यो संभव थिएन प्राकृतिक रुपमा । तिमी अपूर्ण पुरुष थियौ र यो ध्रुव सत्य थियो ।
पुरुषले आफूलाई जिताउनको लागि पद, पैसा, पावर प्रयोग गरेर जे पनि गर्न सक्दोरहेछ । त्यो तिमीले नै प्रमाणित गरायौ । प्राकृतिक रुपमै अपूर्ण भएको एउटा अशक्त पुरुषले आपूm अपूर्ण भएको थाहा पाएपनि व्यवहारिक रुपमा सबैको सामु आफू पूर्ण छु भनेर देखाउन खोज्यौ ।
सबैका सामु बिजेता बन्न पैसा, पद र पावरको प्रयोग तिमीले पनि गर्याै । त्यसैले त तिमीले तुरुन्तै एउटी केटीसँग बिहे गरेर देखायौ । जुन केटीको पेटमा कसैको नाजायज गर्भ थियो । त्यसका लागि उसलाई कुनै पुरुषको नामको जरुरत थियौ भने तिमीलाई बच्चाको । जस्ले समाजमा बाबु हुनुको प्रमाण दिनसक्छ तिमीलाई । समाजमा तिमी बाबु बन्यौ र बाबु हूँ भन्ने प्रमाणित गराउन सक्यौ पनि ।
सम्झौतामा गरिएको तिम्रो यो विवाह मलाई पूर्ण रुपले हराउन र आपूmलाई पूर्ण रुपमा जिताउन गरेका थियौ । आखिर सत्य त सत्य नै थियो । न त तिमी नै कहिल्यै बाबू बन्न सक्छौ न त त्यो बच्चो नै तिम्रो छोरो वा अंश हो । यो तिमीलाई पनि थाहा छ र मलाई पनि । बाँकी त सबै भ्रममा त छन् नि ...।
तिमी जस्ता कपटि, ढोँगी मानिसको असली चरित्र देखेपछि आफ्नै प्राणभन्दा पनि बढी लाग्ने तिम्रो माया म¥या, तिमीप्रति घृणा उब्ज्यो । स्वर्ग जस्तो हाम्रो घर, राधाकृष्ण जस्तो हाम्रो जोडी ...! उफ...! सबै लथालिंग र भताभुंग । मसानघाट जस्तै लाग्यो माया फल्ने प्यारो हाम्रो त्यो घर... अनि तिमी मसानघाटमा मूर्दा पोल्ने मान्छे जस्तो । निर्दयी.. पाषाण....
एकदिन चुपचाप त्यो मसानघाट त्यागेँ मैले ।
म त नारी थिएँ । पूर्णत नारी । श्रृष्टि गर्न सक्षम । प्रकृतिले सुम्पिदिएको उत्तरदायित्व पूरागर्ने क्षमता भरिपूर्ण थियो म भित्र पनि । म पनि आमा हुन चाहन्थेँ । मातृत्व पोख्न चाहन्थेँ, तर यसकालािग त मेरो कुनै पुरुषसँग सँसर्ग हुनु पर्दथ्यो । सहवास गर्नुपथ्र्यो मैले । तर म चाहन्नथेँ कि कुनै पुरुषसँग बिटुलो होउँ.... । कुनै पुरुषसँगको संसर्गबाट पोखिएको उसको वीर्यले म आफ्नो गर्भ भरुँ । किनकि मलाई तिमी र तिम्रो अहमको कारणले गर्दा सम्पूर्ण पुरुषप्रति नै घृणा उब्जाएको थियो । त्यसकारण कुनै पुरुषसँग संसर्ग त के स्पर्शसम्म पनि घृणा लाग्थ्यो मलाई ।
अर्काेतर्फ कुनै पुरुष अंश वा पुरुषको वीर्य बिना त म आमा बन्न पनि त सक्दिनथेँ । संसारको धु्रवसत्य कुरा हो यो कि, पुरुष रज र स्त्रीको वीर्यबाट मात्र जीवको जन्म हुन्छ ।
थाहा छ, तिमीलाई..? तर मैले जितेँ नि दुवैतर्फबाट । कुनै पुरुषलाई स्पर्श नगरीकन नै, कुनै पुरुष सँगको सहवास बिना नै म आमा बन्न सक्षम भएँ । मान्छेले धोका दिएपनि प्रविधिले साथ दियो मलाई । प्रकृतिले ठगे पनि महिलालाई प्रविधिले साथ दिएको छ आजको समयमा । मैले पनि प्रविधिको उपयोग गरेँ । टेस्ट्युव वेविको प्रकृया मार्फत मैले पनि गर्भधारण गरेँ र आमा बनेँ ।
मलाई आमा बन्ने रहर तीव्र थियो । यसका लागि त मलाई प्रमाणित पुरुष चाहिन्थ्यो । लोग्ने नामको परिचय पत्र झुण्याइएको । मसँग मरो लोग्ने त थियो तर असक्षम । अझ भनौं न अपुरुष । जसले कुनै पनि महिलालाई वीर्यदान गरेर सन्तान उत्पादन गर्न सक्दैन । यस्तो अपुरुष लोग्नेले मलाई नै उल्टै असक्षम स्त्रीको उपाधि दिएर त्यागेको थियो ।
आमा बन्न पाउनु त महिलाको नैसर्गिक अधिकार हो नि । यो अधिकारलाई हाम्रो समाजमा त लोग्ने नामको तगारोले छेकिन्छ । तर म त यो तगारोबाट बाहिरिसकेकी थिएँ । त्यसैले मैले पनि आमा बन्ने रहर पूरा गरेँ ।
सायद तिमीले पनि आफ्नो जन्मजात भएको कमजोरीलाई वा शास्वत सत्यलाई खुरुक्क स्वीकार गरेको भए कति राम्रो हुन्यो होला आज हाम्रो जिन्दगी । आखिर आज भोलि सन्तान जन्माउन असक्षम भएका दम्पतिले टेष्ट्युव बेबीको माध्यमबाट सन्तान जन्माउन सकिहाल्थे ।
यदि कोही पुरुषसँग विर्य उत्पादन क्षमता नभएपनि आजभोली विर्य किन्न पाइन्छ । त्यो विर्य र महिलाको रज निकालेर दुवैलाई टेष्टट्युवमा उमारेर फेरि महिलाको पाठेघरमा नै राखेर सन्तान जन्माउन सकिन्छ । दुवैको राजिखुशीमा हामीले पनि सुटुक्क विर्य किनेर टेष्ट्युबमा उमारेपछि मैले मेरो गर्भाशयमा गर्भधारण गरेर हामी पनि हाम्रो सन्तान जन्माउन सकिहाल्थ्यौँ नि ...। यो कुरा मलाई थाहा थियो र कतिपटक तिमीलाई सम्झाउन पनि खोजेकी थिएँ । अहँ तिमीले कहिल्यै मेरो कुरा सुन्न नै पो कहाँ चाह्यौ र ?
आखिर तिमीले अर्को पुरुषसँग बिटुलिएकी अनि समाजले नरुचाएको नाजायज सम्बन्ध राखेकी स्वास्नी मानिसबाट जन्माएको सन्तानलाई सजिलै आफ्नै स्वीकार्न सक्यौ । यो गर्न सक्नेले बरु अरु कसैको नै विर्यवाट गर्भाधारण गरि मैले नै जन्माएको सन्तान स्वीकारेको भए कति राम्रो हुन्थ्यो ? किनकि त्यो आइमाई भन्दा त म र मेरो गर्भ नै पवित्र हो नि । मलाई त तिमी भन्दा अरुले स्पर्श पनि गर्न सकेको छैन र थिएन पनि । अनि हाम्रो सम्बन्ध पनि समाजले प्रमाणित गरेको नै थियो ।
हाम्रो योजना थियो नि हगि ! पहिलो चोटि छोरीनै जन्माउने । मेरो मन मस्तिष्कमा पनि छोरीकै प्रतिबिम्ब थियो हरघडी । आखिरीमा फूल जस्ती छोरी नै जन्माएँ मैले ।
मलाई छोरा नहोस नै भन्ने थियो । किनकि, मेरो कोखबाट जन्मेको सन्तानले पनि भोलि तिमीले जस्तै कसैलाई धोका नदेओस् ।
एकदिन मेरो काखमा बसेर मेरी छोरी खेलिरहेकी थिई । म विगतका दिन अझ सत्य भनौँ भने ‘तिमीलाई’ नै सम्झेर टोल्हाइरहेकी थिएँ । अकस्मात मेरा आँखाबाट बर्रर आँसु खस्यो । त्यो देखेर मलाई मेरी चार वर्षे छोरीले तोते बोलीमा सोधेकी थिई, “आमा किन लोको ? बाबालाई सम्झेल हो....।”
मैले अनायास नै भनेँ “हो ...।”
हुनत मलाई थाहा छ, न तिमी उसको बाबु हौ न त ऊ नै तिम्रो छोरी । तैपनि अनायाश मुखबाट निस्कि त गो । तर केही खण्डन गरिनँ मैले । किनकि ऊ बुझ्दिन केही । आफ्ना कलिला हातले मरो गालामा झरेका आँसु पुच्छ्दै भनी, “आमा मेलो बाबा खोई त ....?”
मैले आकाशमा उडेको ठूलो हवाईजहाज देखाएर भनेकी थिएँ, “ऊ त्यो ठूलो पिलेनमा हुनुहन्छ नि तिम्रो बाबा त..।
किनकि योभन्दा बढी बुझ्ने क्षमता छैन उसको । ऊ अहिले बुझदिन म एक्लैले उसलाई जन्माएको हो भन्ने कुरा । पछि बुझ्ने भएपछि भनुँला सबै ।
तिमी एक्कासी सामु पर्दा म तिमीलाई हेरेर टोलाएकि थिएँ निकैबेर सम्म । तिमी पनि म जस्तै भएका थियौ । मेरो खाली सिउँदो र रित्तो गला अनि हातको आँैला समातेर टुकु टुकु हिँडेकी मेरी छोरी देखेर के के सोचेर टोलाएको होला तिमी पनि .। कतै आफँैलाइै बिर्सेर मेरै छोरी हो कि भन्ने पनि पो सोच्यौ होला तिमीले ..सायद ।
सत्यबोध भएर होला तुरुन्तै सम्हालिएका थियौ तिमी । लाजले, अहमले हो वा हीनतावोधले के ले हो कुन्नी मसँग बोल्न सकेनौ । लुसुक्क अर्काे पट्टि फर्केर हात समातेर हिँडिरहेको सानो केटो उर्फ तिम्रो छोरोलाई सोधेका थियौ मैले सुन्ने गरेर “छोरा तिमीलाई के किनिदिउँ..?”
मलाई आफू पनि बाबु हँु भनेर सुनाउँदै वा भ्रममा बाबु हुनको गर्व बोकेर नजिकैको पसलतिर लागेपछि किन किन फेरि पनि मेरा आँखाबाट बर्रर आँसु खस्यो । सँधै आँखाबाट आँसु खस्दा बाबाको यादले रोएकी भन्ने बुझेकी मेरी सानी चार वर्षे छोरीले तिमीलाई देखाउँदै उही तोतेबोलीमा सोधेकी थिई “आमा, त्यो को हो ? मेलो बाबा हो ल....?
मैले उसको शीर मुसार्दै भनेँ, “हैन छोरी त्यो त मेरो लोग्ने थियो तर तिम्रो बाबा भने हैन ..।”
उसले मेरो मुख हेरिरही ।
मलाई थाहा छ, छोरीले यो पनि बुझिनँ । पछि बुझ्ने भएपछि कुनै दिन उसैले सोध्ली सायद “आमा ! आमाको लोग्ने नै बाबु हुन्छ हैन र....?
अनि म त्यसबेला सबैकुरा भनँुला “नानु सबै पुरुषहरु लोग्ने त हुनसक्छन् तर सबै लोग्नेहरु बाबु हुन भने सक्दैनन् ..............।”